एकुमायाका अनुसार, ढँटेलोको तेल केवल खानाको माध्यम मात्र होइन, यो एक जडिबुटी औषधि पनि हो।
जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–४, खल्लाबाडाकी ५५ वर्षीया एकुमाया सार्की आज एउटा प्रेरणादायी उदाहरण बनेकी छन्। परम्परागत सीप र जडिबुटीको प्रयोगबाट उनले आफ्नो परिवारको जीविकोपार्जन मात्र चलाएकी छैनन्, गाउँमा आत्मनिर्भरताको नमुना पनि प्रस्तुत गरेकी छन्।
ढँटेलो (स्थानीय जंगली फल) बाट तेल बनाएर उनले विगत २० वर्षदेखि बजारको तेललाई पूर्ण रूपमा बाइबाइ गरेकी छन्। यो तेलले उनको परिवारको भान्सालाई मात्र होइन, उनको अर्थतन्त्र र स्वास्थ्यलाई समेत बलियो बनाएको छ।
एकुमायाको यो यात्रा सजिलो भने थिएन। सात वर्षअघि श्रीमानको निधनपछि दुई छोरा, दुई बुहारी र नातिनातिनासहितको परिवारको जिम्मेवारी उनको काँधमा आयो। तर, उनले हिम्मत हारिनन्।
२० वर्षअघि सुरु गरेको ढँटेलोको तेलको यात्रा आज उनको जीवनको आधार बनेको छ। “बजारको तेल खान छोडेको पनि २० वर्ष भयो,” खुसीसाथ उनले भनिन्, “ढँटेलो टिप्न पाइयो भने वर्षभरि खान पुग्छ, बेच्न पनि हुन्छ।”
उनको यो सीपले उनलाई आर्थिक रूपमा बलियो बनाएको छ। ५० किलोको एउटा बोरा ढँटेलोबाट ५० माना (करिब २५ लिटर) तेल निस्कन्छ।
यो तेल उनले आफ्नो परिवारका लागि प्रयोग गर्छिन् भने बाँकी बिक्री गर्छिन्। “खासै बेच्ने गरेकी छैन, तर थाहा पाएपछि खोज्दै घर आउँछन्,” उनले हाँस्दै भनिन्।
एक माना तेलको मूल्य उनले १५०० रुपैयाँ तोकेकी छन्। साथै, आफन्त र साथीभाइलाई नासोको रूपमा पनि तेल दिने गर्छिन्। एकुमायाका अनुसार, ढँटेलोको तेल केवल खानाको माध्यम मात्र होइन, यो एक जडिबुटी औषधि पनि हो।
“यो तेल खाँदा विभिन्न रोग हट्छ, मालिस गर्न पनि अति राम्रो हुन्छ,” उनले दाबी गरिन्। उनको यो कुरा सुनेर गाउँले र छिमेकीहरू उनको घरमा तेल माग्न आउने गरेका छन्।
परम्परागत ज्ञान र प्राकृतिक सम्पदाको यो संयोजनले एकुमायालाई गाउँमा सम्मानित व्यक्तित्व बनाएको छ। बजारको तेलमा निर्भर नभई आफ्नै गाउँको जंगलमा पाइने ढँटेलोलाई उपयोग गरेर उनले आत्मनिर्भरताको बाटो रोजेकी छन्।
उनको यो कदमले अन्य गाउँलेहरूलाई पनि परम्परागत सीप र प्राकृतिक स्रोतको महत्व बुझाउन प्रेरित गरेको छ। “जंगलले हामीलाई सबैथोक दिएको छ, केवल बुझेर प्रयोग गर्न जान्नुपर्छ,” उनको भनाई छ।
एकुमायाको यो सानो तर प्रभावशाली प्रयासले गाउँमा आत्मनिर्भर अर्थतन्त्र र स्वस्थ जीवनशैलीको सम्भावना देखाएको छ। उनको कुरा सुन्ने जो कोहीलाई लाग्छ– साँच्चै, प्रकृतिमा सबै समाधान छ, यदि हामीले त्यसलाई सम्मान गर्न र उपयोग गर्न सिक्यौं भने।
उनको मेहनत, धैर्य र प्राकृतिक स्रोतप्रतिको विश्वासले उनलाई आत्मनिर्भर बनाएको छ। ढँटेलोको तेल बनाउने उनको सीप आधुनिक समयमा आत्मनिर्भरताको एउटा बलियो आधार बनेको छ।