सोमबार, ८ पुष, २०८१

अध्ययनमा अब्बल सावित भएर स्वर्ण जितेकी सृजना

घरमा छोरी मात्रै भएका कारण सामाजिक भेदभाव र आलोचनाको सामना गर्नु पर्ने परिस्थितिमा उनी हुर्किइन्।

उमेरले भर्खरै २९ वर्ष टेकेकी सृजना न्यौपाने हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीको रूपमा स्वर्ण पदक जित्न सफल भइन्।

यो सफलता सजिलै हासिल नभएर, उनले आफ्नो जीवनमा पार गरेका कठिनाइ र लगनशीलताको प्रतिफल हो।

सृजना, चन्दननाथ नगरपालिका–१०, बोहोरागाँउमा जन्मेकी हुन। समाजसेवी बुबा देवीप्रसाद न्यौपाने र आमा सिनियर अहेब(वरिष्ठ सहायक स्वास्थ्यकर्मी) राधिका कठायत न्यौपानेकी जेठी छोरी उनले समाजमा छोरीको भूमिकालाई नयाँ दृष्टिकोणले परिभाषित गरेकी छिन्।

उनका बुबाले आफ्नो जीवन दुःखी बिरामीको सेवामा समर्पित गरे। जसका कारण उको जीवनमा पनि सेवाको महत्व घनीभूत भएर बस्यो।

उनी र उनकी दुई बहिनीहरु गंगा जमुना आमाको संरक्षण र अभिभावकत्वमा हुर्किए। आमाले जिम्मेवारीलाई निर्भीकताका साथ सम्हालिन्।

पदक प्राप्त गरेपछि तस्बिर खिचाउँदै सृजना

सृजनाले सानैदेखि जिम्मेवारी र संघर्ष जीवनका अभिन्न अंश हुन् भने बुझिन्। आमा सरकारी जागिरे भएको हुनाले छोरीलाई कुनै कुरामा कमी हुन दिइनन्। उनको शिक्षा–दिक्षामा लागेको लगानीको प्रतिफल अहिले देखिएको छ।

सृजनाको प्रारम्भिक शिक्षा गाउँकै रत्नचूडेश्वर माविबाट सुरु भयो। बाल्यकालमा उनलाई निजी विद्यालयमा पढ्ने मौका जुरेन। गाउँको विद्यालयमा १ देखि ३ कक्षा पढेपछि उनले नेपालगञ्जको सरस्वती माविमा कक्षा ४ देखि ७ सम्म अध्ययन गरिन्।

एसएलसीका लागि उनी पुनः आफ्नै गाउँको विद्यालय फर्किइन्। जीवनको यो कालखण्डमा उनको पढाइ औसत स्तरको भए पनि, उनी एसएलसी प्रथम श्रेणीमा पास गर्न सफल भइन्।

यो सफलता पछि थप आत्मविश्वास बढायो र उनले उच्च शिक्षा हासिल गर्ने अठोट गरिन्। समाजका अगाडि आफ्ना प्रतिभा प्रमाणित गर्दै उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पिछडिएको क्षेत्रका विद्यार्थीहरूका लागि प्रदान गरिएको छात्रवृत्तिमा नर्सिङ अध्ययन गर्ने अवसर प्राप्त गरिन्।

२०७१ सालमा नर्सिङ अध्ययन पूरा गरेपछि उनले करिब सात महिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिन्। यस अवधिमा उनले आफ्नो सीपलाई अझै निखार्ने अवसर पाइन्।

२०७२ सालमा लोकसेवा आयोगको परीक्षा पास गरेर उनले सरकारी सेवा क्षेत्रमा प्रवेश गरिन् र हाल उनी भेरी अस्पतालमा अधिकृत छैटौं (अस्पताल निरीक्षक) पदमा कार्यरत छिन्।

आफूले प्राप्त गरेको पदक आमालाई लगाइदिदै सृजना

उनले यस दौरानमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको नर्सिङको छात्रवृत्तिमा नाम निकालिन्। यसले उनको पेशागत दक्षता अझै विकास गर्ने प्रेरणा थपियो।

२०७४ सालमा सृजनाको विवाह चन्दननाथ -६ का लोकेन्द्र राज थापासँग भयो। उनका श्रीमान सरकारी कर्मचारी हुन। उनको परिवारमा शिक्षा र संस्कारको गहिरो प्रभाव छ।

सृजनाका सुसुरा राजबहादुर थापा शिक्षक हुन भने सासू लक्ष्मी थापा महिला स्वयंसेविका हुन। यस प्रकार उनको माइती र पोइली दुबै परिवारमा शिक्षाको राम्रो प्रभाव थियोे। यही वातावरणले उनलाई निरन्तर प्रोत्साहन दियो र उनी स्वर्ण पदक प्राप्ति शिखरमा पुग्न सफल भइन्।

सृजना पितृसत्तात्मक समाजमा हुर्किएकी थिइन्, जहाँ छोरीलाई छोराको तुलनामा सधैं दोस्रो दर्जाको मानिन्छ। छोराको कामना गर्ने समाजका बीच उनकी आमा र बाबुले छोराको खोजी नगरी तीन छोरीकै पालनपोषणमा आफूलाई समर्पित गरे।

तर, पितृसत्ताको गहिरो प्रभावले भरिएको समाजमा सृजनाका परिवारले अनेक प्रकारका टिप्पणीसँग जुध्नुपर्यो। घरमा छोरी मात्रै भएका कारण सामाजिक भेदभाव र आलोचनाको सामना गर्नु पर्ने परिस्थितिमा उनी हुर्किइन्।

समाजका प्रतिष्ठित व्यक्तिहरूको टिप्पणीले उनको मनोबललाई कमजोर पार्न खोज्थ्यो। तर उनले यो चुनौती आफूलाई थप निखार्ने अवसरका रूपमा लिइन्।

बुबा र आमाको साथमा

सृजनाका लागि जीवन केवल संघर्ष र कठिनाइले भरिएको यात्रा थिएन। यो त सफलताको परिकल्पना र त्यसलाई वास्तविकता बनाउने क्रम थियो।

उनी यो सफलताको श्रेय आफ्ना आमाबाबुलाई दिन चाहन्छिन्। उनलाई आफ्नो परिवारले साहस र सहयोग दिएर अघि बढ्न प्रेरित गरेको सम्झना छ।

यद्यपि उनलाई समाजको हेपाइको सामना गर्नुपरेको थियो। आमाबाबाको हौसलाले उनलाई आफ्नो लक्ष्यप्रति समर्पित बनायो।

सृजना भन्छिन्, “समाजका अगाडि आमाबुबाले कयौं पटक अनेक प्रकारका भनाइ खाएर पनि मलाई साहस दिनुभयो। त्यसकारण यो सफलताको जस उहाँहरूलाई नै जान्छ।”

श्रीमान, सासूससुरा, र आमाबाबाले सृर्जनाको पढाइका लागि अनुकूल वातावरण प्रदान गरे, जसका कारण निरन्तर उत्कृष्टता हासिल गर्न सहज भयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातक तहको नर्सिङ अध्ययन पश्चात् मिलेको स्वर्ण पदकले उनलाई अझै ठूलो जिम्मेवारीको बोध गराएको छ।

परिवारसँग सामुहिक तस्बिर खिचाउँदै

अब उनको लक्ष्य भनेको समाजमा शिक्षा र स्वास्थ्यको महत्वलाई अझै बढाउन योगदान गर्नु रहेको छ। सृजनाले आफ्नो जीवनमा संघर्ष र सफलता बीचको तारतम्यलाई जीवन्त राख्न खोजेकी छन्।

आफ्नो जीवनलाई समाजसेवा र जनताको स्वास्थ्य सुधारमा समर्पित गर्ने अठोटका साथ अघि बढिरहेकी उनी भविष्यमा समाजमा प्रेरणाको स्रोत बन्ने कुरामा कुनै शंका छैन।

उनको यो यात्रा समाजका धेरैका लागि प्रेरणादायक छ। उनले समाजका अगाडि देखाएको उदाहरण, संघर्ष र सफलता अनि जुझारूपन हरकोहीलाई प्रभावित तुल्याउने खालको छ।

आमा र सासुआमाको बीचमा सृजना
प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार