भनिन्छ कालो वादलमा पनि चाँदीको घेरा हुन्छ। शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा पनि आश मार्न भने सकिँदैन। निकाय जो हो उसले एक दिन अवश्य सोच्ला भनेर रोकाया सकारात्मक सोच राखि बसेका छन्।
पातारासी हिमालको काखबाट बग्ने तिला र दानुवा बेल्टलाई चिरेर बगेको जवा गरि दुई नदीको संगम स्थल दानसाँघु धामनेरको नवप्रभात आधारभूत विद्यालय सुधारको दीशामा छ।
कक्षा ५ सम्म अध्यापन हुने विद्यालयमा अघिल्लो वर्षसम्म विद्यार्थीको खडेरी थियोे। बन्द हुने अवस्थामा पुगेको विद्यालयको प्रधानाध्यापकको रुपमा जुम्लाका गणेश रोकायालाई जिम्मेवारी दिइयो।
२७ वर्षदेखि प्राथमिक तहको शिक्षक रुपमा कार्यरत रोकायाले आफूले पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निभाउने कोसिस गरे। त्यसयता विद्यालयले मुहार फेरेको छ।
पक्की भौतिक संरचना बनाउने अभियान निरन्तर चलिरहेको छ। अहिले विद्यालयको प्रशासन पक्की संरचनाबाट सुचारु भइरहेको छ भने यो वर्ष अर्को नयाँ पक्की भवन बन्ने उनको भनाई छ।
‘हामीले अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैलाई सक्रिय गराउँदा विद्यार्थी संख्यामा उल्लेख्य सुधार भएको छ,’ उनले भने, ‘पढाइ पनि सुधार गरेका छौं। विद्यार्थी निजी स्कुल छोडेर भर्ना हुन आइरहेका छन्।’
प्रधानाध्यापक रोकायाका अनुसार यो वर्ष भर्ना भएका र विद्यालयबाट ड्रेस लिएकाहरु ८१ जना पुगेका थिए। नियमित रुपमा ७६ जना अध्ययन गर्न आइरहेका छन्।
केही सरुवा भए भने केही नयाँ भर्ना हुन समेत आएका छन्। पढाइ नियमित हुन थालेपछि सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढेको छ।
हाल नवप्रभात आधारभूत विद्यालयमा सरकारी पाठ्यक्रम अनिवार्य गरिएको छ भने तीनवटा विषय थपेर अंग्रेजी माध्यमको पढाइलाई राम्रो बनाइएको रोकायाले बताए। उनका अनुसार मोरल, जिके, ग्रामर गरि तीन विषय थप्दा विद्यार्थीको सिकाइ उपलब्धि बढेको छ।
‘२०८० फागुन भन्दा अगाडि जम्मा ४२-४५ जना विद्यार्थी थिए। शिक्षक थिएनन्। दरबन्दी काटिएको थियोे,’ उनले भने, ‘विद्यार्थी नियमित नआउने समस्या थियोे। पढाइ लगभग अस्तव्यस्त थियोे।’
विद्यालयमा सिमान्तकृत समुदायका बालबालिका थिए। अभिभावकमा राम्रो चेतना नहुँदा पढाइ नियमित हुन सकेको थिएन। नवप्रभात पनि अन्य सामुदायिक विद्यालय जस्तै अप्रभावकारी थियो।
विद्यालयमा अहिले निजी स्रोतबाट दुई जना शिक्षक राखिएको छ भने एकजना काजमा खटिएका शिक्षकले अध्यापन गराइरहेका छन्। विद्यालयकी इसीडी शिक्षकले पनि सकेको सहयोग गर्दा पढाइ सुधार गर्न सकिएको रोकायाको तर्क छ।
हाल आएर स्रोत जुटाउने काम निकै कठिन भएको उनको अनुभव छ। ‘कहिलेकाहीँ साना योजना संचालन गर्दा काम लिनेले विद्यालयलाई केही पैसा सहयोग स्वरुप दिनुहुन्छ। त्यही आम्दानीले शिक्षकको तलब भत्ता पुगाउने गरेका छौं,’ उनले थपे।
यो पाली विद्यालयको भवन बनाउँदा उपभोक्ता समितिलाई नै खर्च धान्न धौ भएका कारण रकम नजुट्ने सम्भावना भएकाले विद्यालयको कोष रित्तिने सम्भावना बढेको छ। यही अवस्था रहे तलब खुवाउन हम्मेहम्मे पर्नेछ।
‘अहिले वडाले सहयोग गर्ने भनेको छ। वडाले सकारात्मक चसो दिएको हुनाले उत्साहित छौं,’ उनले भने, ‘नगरपालिकाका केही विद्यालमा विद्यार्थी छैनन्। ती शिक्षक खाली छन्। तीनलाई खटाउन सकिए हाम्रो समस्या समाधान हुने थियोे।’
शिक्षा सुधारमा चन्दननाथ नगरपालिका उदासीन देखिन्छ। शिक्षा क्षेत्रका तमाम समस्या सतहमा आउँदा पनि यसको व्यवस्थापनमा तदारुकता देखिएको छैन। शिक्षा शाखाले प्रभावकारी रुपमा काम गर्न सकेको छैन। तथापि गर्नुपर्ने निकाय उहीँ हुँदा आशा भने कायमै छन्।
भनिन्छ कालो वादलमा पनि चाँदीको घेरा हुन्छ। शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा पनि आश मार्न भने सकिँदैन। निकाय जो हो उसले एक दिन अवश्य सोच्ला भनेर रोकाया सकारात्मक सोच राखि बसेका छन्।
‘नगरले शिक्षकको प्रभावकारी परिचालन गर्न नसक्नु समस्या हो। स्थानीय सरकारले शिक्षा र स्वास्थ्य राम्रो बनाउनुपर्ने हुन्छ,’ प्रधानाध्यापक रोकायाले भने, ‘तर सरकारी विद्याययको हालत खराब छ। यसलाई चाँडै ध्यान दिन नसके अवस्था अझ बिग्रन सक्छ।’
दानसाघुँ, तलिचौर, डुँडखोच, बिँगारे लगायत गाउँहरु नवप्रभात आधारभूत विद्यालयका निम्ति विद्यार्थी आउने ठाउँ हुन। ती क्षेत्रको समुदाय अहिले चनाखिएको छ।
चनाखिएको भन्दा पनि नेतृत्वले उनीहरुलाई उत्साहित बनाएको छ। त्यसको परिणाम बोर्डिङमा पठाइएका विद्यार्थीहरु पनि यता आउने क्रम बढ्दो छ। पछिल्लो वर्ष अझ राम्रो हुने प्रधानाध्यापक रोकायाको विश्वास छ।
‘हामी बोर्डिङ जाने बच्चालाई समेत यता ल्याउने अभियानमा छौं,’ उनले भने, ‘आंशिक सफलता हातल लागेको छ भने आउँदो शैक्षिक सत्रमा हामी पूर्ण रुपमा सफल हुनेछौं।’
विद्यालयमा दिवा खाजा लागू भएको धेरै भयो। पहिला घ्यू र लिटो दिइन्थ्यो। पछि १५ रुपैयाँ दिने गरियो। यो क्रम एक दशक जति चल्यो।
प्रधानाध्यापक रोकायाका अनुसार अहिले यो बढेर २० रुपियाँ पुगेको छ। विद्यार्थीलाई खाजामा अण्डा दिँदा १८ रुपैयाँ खर्च हुन्छ । सबै विद्यार्थी आएको खण्डमा २० रुपियाँले नपुग्ने उनको अनुभव छ।
‘हामीले मेनु अनुसार पकाउने गरेका छौं। तर त्यो मेनु अनुसार खर्च पुग्दैन,’ उनले भने, ‘विद्यार्थी अनुपस्थित भएको दिन त पुग्छ। आएको बेला पुग्दैन। सरकारले दिने खाजा रकम निकै कम छ।’
नव प्रभातमा आइतबार हलुवा र तरकारी, सोमबार चना आलू, मंगलबार खिर तरकारी, बुधबार सिमी आलु, बिहिवार चिउरा तरकारीको मेनु छ। तर शुक्रबार पनि तीन बजेसम्म पढाइ हुन्छ। सरकाले ५ दिनका लागि मात्रै खाजाको पैसा दिन्छ। विद्यार्थीले शुक्रबार खाजा खान पाउँदैनन्।
उनी भन्छन्, ‘सरकारले दिवा खाजाबारे सोच्न सकेको छैन। स्थानीय तहले हाम्रो जस्तो विद्यालयमा शुक्रबारका निम्ति पनि खाजा दिएको भए विद्यार्थीलाई अझ उत्साहित बनाउन सकिने थियो। यो पनि सामुदायिक विद्यालय राम्रो बनाउने एक गतिलो उपाय हुन सक्थ्यो।’