सीताले जसोतसो बाआमालाई सम्झाएर विदेश जाने नै भई। अर्को दिन बिहानै आँखाभरि आँसुगरि आफ्नो घरलाई कैयौंपटक फर्की फर्की हेर्दै आफ्नो घर, परिवार, देश छोडी र नचिनेको नदेखेको त्यो बिरानो ठाउँ गई।
धेरै वर्ष अगाडिको कुरा हो। पहाडी भेगमा रहेको एउटा सानो बस्ती थियो। त्यही बस्तीमा एउटा गरिब परिवारको सानो झुपडी पनि थियो। त्यहाँ सीता, गीता र उनीहरुका बुबा हरिलाल, आमा सरिता गरि चार जना बस्थे। सीता १४ वर्षकी थिई भने गीता १० वर्षकी थिई। उनीहरुका बा आमा भने वृद्ध भइसकेका थिए। हरिलाल र सरिताका छोरा भने थिएनन्। उनीहरुका छोरा भने नि छोरी भनेनी ती दुईवटी छोरी थिइन्। उनीहरुलाई साँझ बिहान छाक टार्न पनि कठिन हुन्थ्यो। सीता घरकी जेठी छोरी भएका कारण घरको सबै जिम्मेवार सीताको काँधमा आएको थियो।
गाउँमा सीताका थुप्रै साथी थिए। सीताका साथी कापी, कलम, झोला बोकेर स्कुल जाने बेला सीता हँसिया र नाम्लो बोकेर जङ्गलको बाटो जान्थी। सीतालाई पनि पढ्न मन नलागेको कहाँ होर? घरको परिस्थितिका कारण उसले पढ्न भने पाइन। सीताले आफू पढ्न नपाए पनि छिमेकीको काम गरेर आफ्नी बहिनी गीतालाई गाउँकै सरकारी स्कुलमा पढ्न पठाउँथी।
एक दिनको कुरा हो। सीताका बाआमा र बहिनी आँगनमा बसेर भटमास टोक्दै थिए। त्यहिबेला गाउँका मुखिया आए मुखियाले अलि रिसाउदै ठूलो स्वरमा भने, ‘के हो हरिलाल ऋण लिएपछि तिर्नु पर्दैन?’ अनि सीताका बा हरिलालले नम्र स्वरमा भने, ‘नतिर्ने कहाँ होर? मुखिया बा! अब केही समय पर्खनुन अनि तिरिहाल्छु।’
बाले गाउँको मुखियासँग ऋण लिएको कुरा सीतालाई थाहा थिएन। केही वर्ष अगाडि सीताकी आमा बिरामी हुँदा आमाको उपचारका लागि मुखियासँग ऋण लिएका रहेछन्। मुखियाले फेरि भने, ‘केही समय होइन। छिटो तिर्ने। नत्र तिमीहरूको उठिबास गर्छु।’ यति भनिसकेपछि मुखिया आफ्नो घर लागे। आमाले रुँदै भनिन्, ‘ऋण लिएर उपचार गर्नुभन्दा मर्न दिएको भए हुन्थ्यो नि!’ मुखियाले ऋणको कुरा लिएर सीताको घर धाउन छोडेन। एकदिन सीताले मनमनै सोची घरमा बसेर मुखियाको ऋण तिर्नलाई केही गरि सकिदैन। त्यसैले अब विदेश जानुपर्छ।
उनीहरु सबै साँझको खानाको रुपमा मकैको ढिडो खाँदै थिए। सीताले बाआमालाई भनि, ‘अब विदेश जान्छु।’ बाआमा भस्किए। सीताले फेरि भनि, ‘हो बा मलाई विदेश जान रहर त कहाँ थियो? र तर पनि मुखियाको ऋण तिर्नलाई भए पनि म विदेश जानुपर्छ।’ बाले सीताको शिरमा हात राख्दै भने, ‘छोरी विदेश भनेको तिमीलाई थाहा छैन। घरको आँगन नछोडेकी तिमी विदेशमा धेरै दु:ख पाउँछौं। यतै केही गरि ऋण तिरौंला। विदेश नजाउ।’
सीताले बाका कोमल हात समाउँदै भनि, ‘बा परिस्थितिले दु:खसँग लड्न सिकाउँछ। दु:ख देखेर भाग्ने होइन। हो बा म छोरी हुँ तर छोराले जस्तै काम गर्नेछु। मेरो कारणले हजुरहरूको शिर कहिले पनि झुक्न दिने छैन। मुखियाको ऋण तिरेपछि हाम्रा पनि त सुखका दिन आउलान् नि बा।’ आमाले आँखाभरि आँसु गर्दै भनिन्, ‘हामी डाँडा पारीको घाम जस्तै भई सक्यौं। हाम्रो बुढेसकालको सहारा तिमी हौं। यदि विदेश गएको बेला हामीलाई केही भइहाल्यो भने हाम्रो रेखदेख कसले गर्छ? बहिनी सानै छ यसले केही गर्न सक्दिन। त्यसैले विदेश जाने कुरा नगर’ भनिन्। तर त्यतिबेला सीतालाई आफ्ना बाआमाको कुराले रोकेन। मुखियाको ऋणको कारणले सीतालाई विदेश जान बाध्य बनायो।
सीताले जसोतसो बाआमालाई सम्झाएर विदेश जाने नै भई। अर्को दिन बिहानै आँखाभरि आँसुगरि आफ्नो घरलाई कैयौंपटक फर्की फर्की हेर्दै आफ्नो घर, परिवार, देश छोडी र नचिनेको नदेखेको त्यो बिरानो ठाउँ गई। सीता गएको देश देशको नाम कतार थियो। सीतालाई त्यहाँको बोली, भाषा बोल्न आउँदैन थियो। विदेशमा आएको धेरै भइसकेको थियो। तर सीताले अझै काम पाएकी थिइन्।
एकदिन सीता एउटा चोकमा निराश भएर बसेकी थिई। त्यतिबेला एउटा नेपाली केटाले नजिक गएर भन्यो, ‘को हौं तिमी? किन यसरी निराश भएर बसेको?’ सीताले आफ्नो परिचय दिदै आफूले काम नपाएको कुरा सुनाई। त्यो केटाले यति कुरा सुनिसकेपछि सीताको लागि काम खोजिदियो। सीताले घर सफा गर्ने काम पाई।
घर सफा गर्ने काम गर्दै एकदिन बित्यो, महिना, वर्ष बित्यो। सीता विदेश आएको दुई वर्ष भइसकेको थियो। दुई वर्षमा मुखियाको ऋण तिर्न सफल भएकी सीता एकदिन घर सफा गर्नको लागि हातमा पानीको बाल्टी बोकेर सिढी चढ्दै थिई। एक्कासी सीताको खुट्टा चिप्लिएर लडी। टाउकोमा गम्भीर चोट लाग्यो। सिताको टाउकोबाट धेरै रगत बगिसकेको थियो। त्यहिबेला त्यो घरमा काम गर्ने एउटा अर्को नेपाली मान्छेले हस्पिटल लग्यो। तर त्यतिन्जेल धेरै ढिला भईसकेको थियो। सीताको टाउकोबाट धेरै रगत बगेका कारण उपचारका क्रममा मृत्यु भयो।
यता भने सीताका बाआमा छोरी आउने बाटो हेरेर बसिरहेका थिए। सीताको लासलाई कतारको सरकारले नेपाल पठायो। एकदिन सीताकी आमा आँगन लिप्दै थिइन् र सीताका बा गाईलाई घाँस हाल्दै थिए। एउटा अपरिचित व्यक्तिले ती बुढा बाआमालाई ‘सीताको घर कुन हो?’ भनेर सोध्यो। बा ले मुस्कुराउँदै भने, ‘सीताको घर यही हो।’
किन होला त्यो अपरिचित व्यक्तिले निराश हुँदै सीताको घटनाबारे सुनाउँदै बाकसमा राखिएको सीताको लास आँगनमा राखिदियो। ती बुढा बाआमा आकाशबाट जमिनमा खसेझैं भए र कहिले पनि सोचेका थिएनन् आफ्नो छोरीको लास यसरी बाकसमा आउला भनेर। सीताका बाआमाले सीताको लासलाई आफ्नो छातीमा टाँसेर रून थाले। ती बुढा बाआमाका आँसुले सीतामाथि देखेका सपना खुसी सबै बगाए। तर उनीहरुका दु:ख पिर बगाउन सकेनन्। सीताका सपना अधुरै रहे र सीता आफ्ना बुढा भएका बाआमाको सहारा बन्न सकिन।