यो रोगको भाइरस पहिलो पटक सन् १९५८ मा बाँदरहरूमा पत्ता लागेको हुनाले यो रोगलाई मंकीपोक्स भनिएको हो। पहिलोपल्ट मानवमा भने सन् १९७० मा कंगो भन्ने देशमा फेला परेको थियो।
भयावह विश्वव्यापी कोरोनाको प्रकोप पछि अहिले फेरी मंकीपोक्स भन्ने रोगेले स्वास्थ्य क्षेत्रमा आपत र चिन्ताको विषय बनाइदिएको छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले यसलाई विश्वव्यापी संकट निम्त्याउन सक्ने भनेर घोषणा गरिसकेको छ।
वैज्ञानिकहरूले भाइरसको नयाँ रूपले उच्च मृत्यु दर र तीव्र फैलावट भइरहेको हुँदा चिन्ता व्यक्त गरिरहेका छन्। सन् २०२२ मा पनि युरोप, अमेरिका र एसिया लागयत एक सय १२ भन्दा बढी देशहरूमा धेरै पल्ट आउट ब्रेक भइ फैलिएको हालको मंकीपोक्स अत्यन्त संक्रामक र घातक रहेको पाइएको छ।
विशेषज्ञहरूले यो रोग एक भागमा फैलिएको पछि हजारौं किलोमिटर टाढाका देशहरूमा पनि फैलिन सक्छ भन्ने कुरामा सचेत हुन अनुरोध गरेका छन्। डब्लूएचओका अनुसार, यो भाइरस संक्रमित व्यक्तिसँगको सम्पर्कमार्फत व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुन्छ।
पछिल्ला वर्षहरूमा, अफ्रिकी देशहरू कंगो, युगाण्डा र केन्यामा फैलिएको मंकीपोक्स स्वीडेन र पाकिस्तानमा पनि देखा परेको छ। स्वास्थ्य सेवा विभागको महामारी र रोग नियन्त्रण महाशाखाका अनुसार मंकीपोक्स भाइरसको फैलावट रोक्न निगरानी, नमूना परीक्षण र प्रचारमा ध्यान दिनुपर्ने बताएइको छ।
के हो मंकीपोक्स ?
मंकीपोक्स एक भाइरल जुनोटिक रोग हो। जुनोटिक रोग भन्नाले जनावरहरूबाट मानिसहरूमा सर्न सक्ने रोगहरूलाई जनाउँछ। यो रोगको भाइरस पहिलो पटक सन् १९५८ मा बाँदरहरूमा पत्ता लागेको हुनाले यो रोगलाई मंकीपोक्स भनिएको हो। पहिलोपल्ट मानवमा भने सन् १९७० मा कंगो भन्ने देशमा फेला परेको थियो। त्यसबेलादेखि, मंकीपक्स मुख्यतया मध्य र पश्चिम अफ्रिकी देशहरूमा थियो।
तर हाल ती क्षेत्रहरू बाहेक विश्वभर फैलिएर स्वास्थ्य क्षेत्रमा खतरा बन्ने सम्भावनाले विश्वव्यापी चिन्ता बढाएको छ। विशेषज्ञ चिकित्सकहरूसँगको सल्लाहपछि डब्लुएचओले यसलाई “एमपोक्स” नामाकरण गरेकोछ।
मंकीपोक्स केले गर्दा हुन्छ ?
मंकीपोक्स रोग मंकीपोक्स भन्ने भाइरसको कारणले गर्दा हुन्छ। जुन भाइरस स्मालपोक्स भाइरस, काओपोक्स भाइरसहरु जस्तै समूहमा पर्छ। मोन्कीपक्स भाइरसका दुईवटा भिन्न आनुवंशिक क्लेडहरू हुन्छन्। एउटा मध्य अफ्रिकी (कङ्गो बेसिन) क्लेड, जुन बढी भाइरल र ट्रान्समिसिबल हुन्छ। अर्को पश्चिम अफ्रिकी क्लेड, जसले सामान्यतया हल्का रोग मात्र निम्त्याउँछ।
मंकीपोक्स कसरी सर्छ ?
मंकीपोक्स मुख्यतया रगत, शारीरिक तरल पदार्थ, वा संक्रमित जनावरहरू(बाँदर, मुसा, चूहा आदि) र भाइरस भएको बिस्तरा तथा कपडाहरू मार्फत पनि फैलिन्छ। छाला वा घाउहरूसँग प्रत्यक्ष सम्पर्क हुँदा जनावरहरूबाट मानिसमा सर्छ।
मानिसबाट मानिसमा श्वासप्रश्वासका कारण सर्छ। शरीरका तरल पदार्थहरूसँगको प्रत्यक्ष सम्पर्क, ओछ्यान वा कपडा जस्ता दूषित वस्तुहरूबाट सर्न सक्छ। यो भाइरस नजिकको शारीरिक सम्पर्कबाट पनि फैलिन सक्छ।
मंकीपोक्सका लक्षणहरु के के हुन् ?
मंकीपक्सले बिफरको जस्तै लक्षण देखाउँछ। इन्क्युबेशन अवधि (लक्षण देखिन लाग्ने समय) सामान्यतया ६ देखि २१ दिनसम्म हुन्छ। यो रोग ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने र थकान लाग्ने जस्ता लक्षणहरूबाट सुरु हुन्छ। त्यसपछि छालामा, अनुहारमा, हातका तल्लो भागमा तथा खुट्टामा दानाहरु देखिन थाल्छन् र बिस्तारै शरीरका अन्य भागहरूमा फैलिन्छ।
दाना धेरै चरणहरूमा बढ्दै जान्छन्। जस्तै; म्याक्यूल्स: छालामा रंगको परिवर्तन भएको, पापुल्स: छालामा सानो, उठेको गाँठा वा फुन्सीहरू, भेसिकल्स: छालामा साना पानी भरेका फुक्काहरू र पस्ट्युल्स: छालामा पिप भरिएका फुक्काहरु, साथै लिम्भ नोढ पनि सुनिएका हुन्छन्। जसले बिफरबाट मंकीपोक्स हो भन्ने छुट्याउन सकिन्छ।
मंकीपोक्स कसरी पत्ता लगाउने ?
मंकीपोक्स प्रयोगशाला परीक्षणमार्फत पुष्टि गरिन्छ। जसमा भाइरल डीएनए पत्ता लगाउन पोलिमरेज चेन रियाक्सन पीसीआर परीक्षण, इलेक्ट्रोन माइक्रोस्कोपी परिक्षण र सेल कल्चरबाट भाइरस पत्ता लगाउन सकिन्छ। सेरोलोजिकल परीक्षणबाट भाइरसविरुद्दको एन्टीबोडी पनि पत्ता लगाउन सकिन्छ। जसले चाँडो रोग पत्ता लगाउन मद्दत गर्छ।
मंकीपोक्सको उपचार के छ, कसरी गर्ने ?
अहिलेसम्म मंकीपोक्सको लागि कुनै विशेष उपचार छैन। मुख्यतया लक्षणहरू कम गर्न सपोटीभ उपचार गर्न सकिन्छ। पहिला देखि बिफरको लागि प्रयोग भइरहेका टेकोभिरिमेट, सिडोफोभिर र ब्रिन्सिडोफोभिर जस्ता एन्टिभाइरल औषधिहरु मंकीपोक्समा प्रयोग गर्न सकिन्छ। तर यी औषधिहरुले निको नै पार्छन् भन्ने प्रमाणित गर्न सकिएको छैन।
बिफरको खोपले मंकीपोक्स विरुद्ध पनि सुरक्षा प्रदान गर्न सक्छ र पोस्ट-एक्सपोजर खोपले (रोग लागि सकेपछि दिइनेछ खोप) रोगको गम्भीरता पनि कम गर्न सक्छ।
मंकीपोक्स रोकथाम कसरी गर्ने ?
मंकीपोक्सको रोकथाममा विशेष गरी स्थानीय क्षेत्रहरूमा भाइरसलाई सार्न सक्ने वन्यजन्तुहरूसँगको सम्पर्कबाट टाढा रहनु पर्ने हुन्छ। स्वास्थ्य सेवाहरुमा पीपीईको प्रयोग सहित संक्रमण नियन्त्रण उपायहरू अपनाउन आवश्यक हुन्छ।
उच्च जोखिममा रहेका व्यक्तिहरू जस्तै स्वास्थ्यकर्मी र अर्थोपक्स भाइरसहरू ह्यान्डल गर्ने प्रयोगशालाका कर्मचारीहरूका लागि बिफरको खोप लगाउन सकिन्छ। घाउसँग सिधा सम्पर्कको जोखिम भएमा ग्लोभ्स लगाउने।
नियमित रूपमा साबुनले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, संक्रमित व्यक्तिहरूको कपडा, तौलिया, बिस्तरा र भाँडाहरूलाई तातो पानी, साबुन वा डिटर्जेन्टले धुने र मरेका वा संक्रमित जनावरसँग सम्पर्क नगर्ने गरेमा रोगबाट बच्न सकिन्छ।
अन्तमा मंकीपोक्स एक संक्रामक भाइरल रोग हो जुन संक्रमित जनावरहरू र व्यक्तिहरूसँगको सम्पर्कबाट फैलिन्छ। यसको प्रमुख लक्षणहरू ज्वरो, टाउको दुखाइ र छालामा दाना हुन्। हालको उपचार सिमित छ, तर एन्टिभाइरल औषधिहरूले राहत प्रदान गर्न सक्छ।
(सहप्राध्यापक लेखक धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर हुनुहुन्छ ।)