कम्प्युटर नदेखेको, स्टुडियो नचिनेको, गाउँबाट शहर आएको एउटा नानी। तर मैले पछि महसुस गरेँ। इमानदारी र धैर्यले सिकाउँदो रहेछ। दुई महिना स्वयंसेवक भएर काम गरेँ। अनि २०७५ असार १४ गतेबाट रेडियोले नियमित सेवा सुरु गर्दै पारिश्रमिक दिन थाल्यो
२०७५ सालको वैशाख महिनाको त्यो बिहान आज पनि मेरो स्मृतिमा ताजै छ। घाम रङ्गिँदै थियो, म भने गाउँको आँगनमा चिया लिएर बसेकी थिएँ। एक्कासि मोबाइलमा घन्टी बज्यो। मसँग त्यतिबेला साधारण “किबोर्डवाला” मोबाइल थियो। “सरिता बहिनी हो ?” भन्ने आवाज सुनियो।
“अँ म सरिता,” भनेर जवाफ दिएँ। “म महेश नेपाली।” अनि फेरि भन्नुभयो, “बहिनी, हामी जिल्लामा रेडियो स्थापना गर्दैछौं। तिमी त्यस रेडियोमा काम गर।”
गरिब परिवारमा जन्मिएकी, रेडियोभित्र टेक्ने त कल्पनामै थिएन। तर त्यो क्षणमा मेरो मनभित्र यस्तो खुसी पलायो जुन शब्दले बयान गर्नै गाह्रो छ। “हुन्छ दाइ” भनेर फोन राखें। त्यो संवादले मेरो जीवनको अर्को यात्रा सुरु गरिदिएको रहेछ।
त्यतिबेला म भर्खर एसएलसी पास गरेर कक्षा ११ मा अध्ययन गर्दै थिएँ। घरमा आमा, दाइ–भाउजू, म र भाइमात्र थियौं। दुई दिदीको विवाह भइसकेको थियो, बाबा स्वर्गवास भइसक्नु भएको थियो।
त्यो बेलामा बाहुन परिवारकी छोरी भएर विवाह नहुन्जेलसम्म घर छोडेर बाहिर जानु हुँदैन भन्ने सामाजिक दृष्टिकोण अझै गहिरिँदै थियो। जब मैले आमा र दाइलाई “म रेडियोमा काम गर्न जान्छु” भनेँ, उनीहरूले सिधै रोक्नुभयो, “अहिले पढ्ने हो, काम गर्ने बेला होइन।”
आमाको कुरा अझै स्मरणीय छ, “छोरी, सदरमुकाम नजाउ, समाजले राम्रो दृष्टिले हेर्दैन, बाहिर बस्नू हुँदैन।”
तर कताबाट हो, भित्रैबाट हिम्मत जाग्यो। आफैं कमाएर केही गर्ने, समाजले बनाएको डर र भ्रम तोड्ने। अनि म पहिलोपल्ट जुम्ला सदरमुकामतर्फ हिंडें।
महेश दाइले हस्तना न्यौपाने दिदीको घरमा कोठा भाडा लिएर बस्ने व्यवस्था गर्नुभयो। भोलिपल्ट बिहान १० बजे फोन आयो, “बहिनी रेडियोमा आऊ।”
म डराउँदै, तर उत्साहसहित रेडियो खुला आकाशमा पुगेँ। रबि नेपाली दाइ र रतन नेपाली दाइसँग परिचय भयो।
कम्प्युटर नदेखेको, स्टुडियो नचिनेको, गाउँबाट शहर आएको एउटा नानी। तर मैले पछि महसुस गरेँ। इमानदारी र धैर्यले सिकाउँदो रहेछ। दुई महिना स्वयंसेवक भएर काम गरेँ। अनि २०७५ असार १४ गतेबाट रेडियोले नियमित सेवा सुरु गर्दै पारिश्रमिक दिन थाल्यो।
रेडियोमा सबै जना दाइहरू हुनुहुन्थ्यो, म एक्ली महिला थिएँ। तर वातावरण सकारात्मक थियो। काम सिक्ने मौका पाएँ, बोल्न जान्न थालेँ, शहरी परिवेशसँग घुलमिल हुन थालेँ।
समाचार संकलनदेखि प्रसारणसम्म, संवाददातादेखि समाचार प्रमुख बन्ने यात्रासम्म, सबै कुरा मेरो लागि सिकाइ नै भयो। पछि रेडियो नारी आवाज जुम्लामा पनि समाचार प्रमुख भएर एक वर्ष काम गरेँ।
तर शहरमा बस्न थालेपछि चियासम्मका लागि खर्च बढ्न थाल्यो। तलबले कोठा भाडा र व्यक्तिगत खर्च धान्न गाह्रो भयो। अनि राष्ट्रिय अनलाइनमा काम गर्ने सोच बनाएँ।
पत्रकार विजय रावत दाइले “मध्यान्ह राष्ट्रिय दैनिक” मा काम गर्न सुझाउनुभयो। समाचार पठाउन थालेँ। अनलाइनमा प्रकाशित हुन्थे। तर सात–आठ महिनासम्म नियुक्ति नै दिन नसक्ने अवस्था आयो।
आर्थिक, पारिवारिक र व्यक्तिगत समस्याका कारण मैले बिस्तारै रेडियो र अनलाइन दुवै काम छोडेँ।
आज म नेपाल पत्रकार महासंघ जुम्ला शाखाको सहसचिव को रूपमा काम गरिरहेकी छु। तर जब म आफ्नो यात्रा पछाडि फर्केर हेर्छु, म एक्लो थिइनँ। म जस्ता कैयौं जुम्लाकी महिलाहरू पत्रकारिताको संसारमा पाइला त टेके, तर टिक्न सकेनन्।
जुम्लामा ५ वटा एफएम रेडियो, २ वटा पत्रपत्रिका, २ वटा छापा र दर्जनभन्दा बढी अनलाइन पत्रपत्रिका सञ्चालित छन्। तर यिनमा केवल ३ प्रतिशत महिलामात्र हाल पत्रकारितामा सक्रिय छन्।
रेडियो कर्णाली एफएमले स्थापनादेखि अहिले सम्म १६ जना महिला पत्रकार जन्मायो। गीता शाही महतदेखि सपना रावतसम्म। तीमध्ये २ जना (हरिदेवी रोकाया र कृष्णमाया उपाध्याय) बीबीसी नेपाली सेवासम्म पुग्न सफल भए। तर हाल रेडियोमा एक जना मात्र महिला पत्रकार कार्यरत छिन्।
रेडियो नारी आवाज ले २२ जना महिला पत्रकार जन्मायो। तर आज २२ मध्ये केवल ३ जना मात्रै बाँकी छन्। रेडियो गुठिचौर एफएम मा स्थापना कालदेखि हालसम्म दुईजना महिला रहे। आज त एक मात्रै।
रेडियो खुला आकाश ले ८ जना महिला पत्रकार उत्पादन गर्यो, तर अहिले कुनै पनि महिला त्यसभित्र छैनन्। तीमध्ये एउटामात्र राष्ट्रिय मिडियासम्म पुगिन्।
यी सबै उदाहरणहरूले एउटै प्रश्न उठ्छ । किन टिक्दैनन् जुम्लाकी महिलाहरू पत्रकारितामा ? भन्न त सजिलो छ, “आर्थिक अभाव, पारिवारिक अवस्था, समाजको नजर…”
तर त्यो केवल शब्द होइन, ती प्रत्येक पिँजडाले महिलाको आत्मविश्वासलाई साँघुरो बनाइरहेको सत्य हो।
स्थलगत रिपोर्टिङमा गरिने व्यवहार, पहुँच अभाव, क्षमता अभिवृद्धि तालिमको अभाव, श्रमअनुसार पारिश्रमिक नपाउने अवस्था…। यी सबैले महिलाहरूलाई पाइला टेक्दै फेरि पछाडि फर्किन बाध्य बनाइरहेका छन्।
जुम्लामा धेरै महिला पत्रकारितामा अग्रसर भए, तर आफूलाई चिनाउन नपाउँदै मिडिया हाउसबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भयो। अहिले पनि महिला पत्रकारले आफ्ना समस्या उठाउने मञ्चहरू छैनन्।
त्यसैले स्थानीय तह, सरोकारवाला निकाय र नेपाल सरकारले महिला पत्रकारितामाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता अर्को चोटि प्रमाणित भएको छ।
सत्यको पखेटा खोजेर उड्न निस्किएका ती महिलाका सपनाहरू। जब आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र सामाजिक दृष्टिकोण ले बेडामा बाँधिदिन्छ, त्यसपछि उनीहरूले उठाउने कलम चुपचाप ओछ्यानमुनि सुत्न बाध्य हुन्छ।
तर…
फेरि कहिल्यै, कुनै एक बिहान
एउटा साधारण फोन फेरि बज्ला,
“सरिता बहिनी हो ?”
र फेरि अर्को महिला पत्रकारिताको बाटो तिर हिँड्न थाल्ला। अनि सत्य खोज्ने अनन्त यात्रा तर्फ अघि बढ्ला।