कार्यक्रम आयोजक ‘हामी ग्लोबल नेपाली’ को तर्फबाट सामाजिक योगदानलाई मूल्यांकन गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ।
‘हामी ग्लोबल नेपाली’ नामक संस्था द्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
यो सम्मानसँगै शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूप्रति आभार व्यक्त गर्दै उक्त अवार्डलाई जनताको विश्वासप्रतिको समर्पणको रूपमा प्रस्तुत गर्नुभयो।
सामाजिक अभियान, सुशासनको पक्षमा उठेका आवाज र भ्रष्टाचारविरुद्धको दृढताले नेपाली जनमानसमा विशेष स्थान बनाएका शाहीले अवार्ड ग्रहणपछि भने, “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु।”
उनको बोलीमा आत्मीयता मात्र थिएन, कृतज्ञता पनि मिसिएको थियो। आफूमार्फत जनताको आवाज विश्वमञ्चमा सुनिएको महसुस गर्दै शाहीले यो पुरस्कारलाई व्यक्तिगत सफलताभन्दा पनि सामूहिक एकताको प्रतिकको रूपमा लिएका छन्।
उनले भने, “यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिन्छ र एकताको भावनालाई बलियो बनाउँछ।”
कार्यक्रम अत्यन्तै व्यवस्थित र भव्य रहेको थियो। न्युयोर्कको चम्किलो रोशनीबीच आयोजित कार्यक्रममा विश्वभरबाट प्रतिनिधित्व गर्दै आएका नेपाली अभियन्ता, कलाकार, व्यवसायी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रमा सक्रिय नेपालीहरूको उपस्थिति थियो।
शाहीको सम्मानमा गरिएको तालीको गडगडाहटले विश्वभर रहेका नेपालीहरूको गर्व प्रकट गरिरहेको थियो।
कार्यक्रम आयोजक ‘हामी ग्लोबल नेपाली’ को तर्फबाट सामाजिक योगदानलाई मूल्यांकन गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ। आयोजक संस्थाले देशभित्र र बाहिर नेपाली समुदायमा सकारात्मक प्रेरणा फैलाउने उद्देश्यले विभिन्न श्रेणीका अवार्डहरू प्रदान गर्दै आएको छ।
शाहीले आयोजक टोलीको कार्यशैलीको पनि खुलेर प्रशंसा गर्नुभयो। उनले भने, “कार्यक्रम सफल बनाउनका लागि आयोजक समितिले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो।”
कार्यक्रमले न केवल शाहीको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा विस्तार गरेको छ, तर सामाजिक परिवर्तन र उत्तरदायी नेतृत्वप्रतिको अपेक्षा पनि सशक्त रूपमा प्रस्तुत गरेको छ।
यो पुरस्कार शाहीका लागि मात्र होइन, सामाजिक सेवामा संलग्न हरेक नेपालीका लागि प्रेरणादायी भएको छ।
सामाजिक सशक्तिकरण, सुशासन र पारदर्शिताको पक्षमा निरन्तर क्रियाशील रहँदै आएका शाहीले यो अवार्डबाट थप ऊर्जा पाएको बताउँदै आफूलाई अझ बढी प्रतिबद्ध र जिम्मेवार महसुस भएको बताउनुभयो।
“यो सम्मानले मलाई अझ बढी निष्ठा, साहस र इमानदारिताका साथ जनताको पक्षमा बोलिरहने प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो।
यस अवार्ड कार्यक्रमले सामाजिक उत्तरदायित्वलाई सम्मान गर्ने संस्कृतिलाई प्रवर्द्धन मात्र गरेको छैन, विश्वभर छरिएका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न पनि उल्लेखनीय भूमिका खेलेको छ।
यसले अझ धेरै नेपाली युवालाई सामाजिक परिवर्तनतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।














