नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तर, अधिवेशनको बन्द सत्रमा अध्यक्षदेखि अन्य पदहरूमा धेरै उम्मेदवारी परेपछि सहमतिमा नेतृत्व चयन गर्ने प्रयासलाई प्राथमिकता दिँदै नेपाली कांग्रेस जुम्लाले तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवाल, कर्णाली प्रदेश सभापति ललिजंग शाही र कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष चन्द्र खड्काको सहभागितामा गठित उक्त समितिले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीको टुंगो लगाउने जिम्मेवारी पाएको हो।
कांग्रेस जुम्ला जिल्ला सभापति कर्ण बहादुर शाहीका अनुसार, “दलभित्रको एकता, समावेशिता र युवाहरूबीचको सहकार्यलाई ध्यानमा राख्दै सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो।”
नेपाल तरुण दलको पाँचौं जिल्ला अधिवेशन साउन ९ गते उद्घाटन भएको थियो भने साउन १० गतेदेखि बन्द सत्र सुरु भइसकेको छ। अध्यक्ष पदका लागि ६ जना, सचिव पदमा ५ जना र अन्य पदहरूमा समेत उल्लेख्य संख्यामा उम्मेदवारी परेपछि निर्वाचनको सम्भावना बलियो देखिएको थियो।
यद्यपि, अहिले सबै उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय देखिए पनि कांग्रेसको प्रयास भने नेतृत्व सहमतिबाट चयन गरेर अधिवेशनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्नेमा केन्द्रित छ।
गठित समितिले निष्पक्षता, समावेशिता र संस्थागत स्थायित्वलाई प्राथमिकता दिँदै युवा नेताहरूलाई अवसर दिने गरी नेतृत्व चयन गर्ने तयारी गरिरहेको विशेष सुत्रले जानकारी दिएको छ। तथापि चुनाव हुने सम्भावना पनि उत्तिकै छ।














