अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कालेकाडा र आसपासका बस्तीहरू १४ महिनादेखि अन्धकारमा छन्। २०७१ सालको जेठमा सञ्चालनमा आएको ५३ किलोवाट क्षमताको भूम खोला लघु जलविद्युत् आयोजना २०८१ भदौ १२ गते अबिरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको हो।
उक्त बाढीले पावर हाउस, एलसी बोर्ड र ट्रान्सफर्मर बगाएर नष्ट गरिदिएको थियो। त्यसयता भानाकोट, ओखलगैरा, ढाडगाउँ, बुढागडा, धुकानमूडा, रातीमाटा, भाटगाउँ, तामकोटलगायतका बस्तीहरू पूर्ण रूपमा अन्धकारमा छन्।
३०० भन्दा बढी घरधुरी अन्धकारमा बस्न बाध्य छन्। रातमा झरोटुकि र मैनबत्तीको सहारामा रात कटाउनुपर्ने अवस्था छ। मोबाइल चार्ज, टेलिभिजन हेर्ने सुविधा, रेडियो सुन्ने पहुँच सबै बन्द छन्।
स्थानीयवासी गजेन्द्र कार्की र खडक साउदका अनुसार समितिले पालिकालाई पटक–पटक लिखितरूपमा निवेदन दिए पनि कुनै सुनुवाइ भएको छैन। वडास्तरमै पहल नहुँदा समस्या झनै जटिल बनेको छ।
यता सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयले २०८१ माघ २४ गते आयोजना पुनर्निर्माणका लागि इच्छापत्र आह्वानसमेत गरेको थियो। सूचनामा प्राविधिक टोली पठाउन तयार रहेको र पुनःनिर्माण लागतको ७५ प्रतिशत मन्त्रालय र २५ प्रतिशत पालिका वा वडा सरकारले व्यहोर्ने उल्लेख छ। तर वडा सरकारले निवेदन नै नगरेको स्थानीयहरूको आरोप छ।
पालिका प्रमुख अम्बिका चलाउनेले भने तत्काल आयोजना मर्मत सम्भव नभएको र अब राष्ट्रिय प्रसारण लाइन विस्तारमार्फत उज्यालो ल्याउने योजना रहेको बताइन्।
“हुम्ला र डोल्पामा बाटो पुगिसक्दा पनि हाम्रो गाउँमा न बाटो छ, न स्कुल, न खानेपानी, न बिजुली”, एक स्थानीयले गुनासो गरे।
परियोजना सञ्चालनमा रहँदा स्थानीयले चौबीसैँ घण्टा विद्युत् प्रयोग गर्न पाउने अवस्था थियो। विद्यालय, बर्थिङ सेन्टर र कार्यालय सञ्चालनमा सहजता थियो। तर अहिले शिक्षा, स्वास्थ्य र संचार सबै क्षेत्रमा प्रतिकूल असर परेको छ।
२१औँ शताब्दीमा समेत विद्युत् बाल्न नपाउनु लज्जास्पद भएको भन्दै स्थानीय सरकारले चासो नदिएकोप्रति बासिन्दा आक्रोशित छन्।
“११ वर्षसम्म एउटा किलासमेत फेरिन नपरेको आयोजना स्थानीय सरकारको नजरअन्दाजले अहिले पूर्ण रूपमा बन्द भएको छ”, – गुनासो गर्दै स्थानीय समितिका अध्यक्षले भने।
स्थानीयले तत्काल आयोजनाको मर्मत गरी उज्यालो फर्काउन माग गरेका छन्। अन्यथा ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।














