धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल पहाड थुम्का बन जंगलको दृश्यावलोकन गर्दै मनोरञ्जन गर्दै गएँ। एकछिनमै प्लेनले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्यो। मैले जमीनलाई ढोग्दै ईश्वर र क्याप्टेनलाई धन्यवाद दिँदै धावन मार्गबाट हामीलाई लिन आएको बुद्ध एयरको बसभित्र पसेँ।
पौष महिनाको पहिलो हप्ताको शुरुमै काठमाडौँबाट ठूली छोरी वशन्तीले २४ जनवरी २०२३ मा आफ्नो दीक्षान्त समारोहमा सहभागी हुन नयाँ दिल्ली जानको लागि आफू मात्र नभई मलाई पनि तयार भएर पौषको ६/७ गतेसम्म काठमाडौंमा पुग्नू होला “बाबा” भनेर फोन गरेपछि आश्चर्यचकित भएँ म।
छोरीको दिल्ली जाने कुराको खबर पाएपछि मैले आफ्नो अफिस, उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जमा बिदा स्वीकृत गराएर म तोकिएकै समयमा काठमाडौ पुग्न तयार भएँ।
नेपालगञ्जबाट काठमाडौं सम्म जान बुद्ध एयरको टिकट काटेँ। शुक्रबार बिहानै होलपुरबाट राँझा एयरपोर्ट बिहान सातै बजे एयरपोर्ट टाईम राँझा पुगेँ। सामान जाँच गराएँ। बोर्डिङ कार्ड र प्रिन्ट टिकट हातमा लिएर यात्रु प्रतीक्षा हलमा बसेँ।
प्लेन उड्ने समयमा यात्रुलाई प्लेनमा चढ्न बोलाए। मैले कर्मचारीलाई बोर्डिङ कार्ड देखाउँदै प्लेनका खुट्किला चढ्दै ढोकाभित्र पस्दै थिएँ। एयरहोस्टेस बहिनीले मुस्कान सहित नमस्कार गर्दै भने, “फलानो साइडमा बस्नुहोला” र भित्र पसाइन्।
धेरैचोटि प्लेन चढेर अभ्यस्त भैसकेकोले सिट पत्ता लगाउन ढिला भएन। उत्तरतर्फको झ्यालसाइडमा सिट थियो। समयमै प्लेन उड्यो, मौसम सफा थियो। मैले चेकजाँच गर्ने भाईलाई उत्तर दिशातर्फको झ्यालतिरको साइड पंखा देखि अघि वा पछि सिट नपार्न भनेको थिएँ, भने बमोजिमकै झ्यालतिरको सिट मिलेको रहेछ।
धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल पहाड थुम्का बन जंगलको दृश्यावलोकन गर्दै मनोरञ्जन गर्दै गएँ। एकछिनमै प्लेनले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्यो। मैले जमीनलाई ढोग्दै ईश्वर र क्याप्टेनलाई धन्यवाद दिँदै धावन मार्गबाट हामीलाई लिन आएको बुद्ध एयरको बसभित्र पसेँ।
२०७९ साल माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिएको प्लेन सेतिको गहिरो खोहमा दुर्घटना भई दुई जना क्याप्टेन, दुई जना एयरहोस्टेस र ६८ जना यात्रु सहित ७२ जनाको ज्यान गएको पीडादायी घटनाले प्लेन चढ्ने कमै मात्रले हिम्मत र साहस गर्दछन्। मैले जहिले आत्मविश्वास लिएर प्लेन चढेको थिएँ र सानैदेखि बसको विकल्प यही प्लेन चल्ने गरेको जिल्ला जुम्लाबाट २०४७ सालदेखि प्लेनमा उड्ने बानी बसेकोले डर भने मलाई लाग्दैनथ्यो।
मैले त्यो बेलामा कुनै परिस्थिति आईलागेको कारण गत साल पोखरामा दुर्घटना भएको हुन सक्ने कुरा सम्झिए, फेरि त्यस्तो नहुने र क्याप्टेनहरुले सुरक्षित आकाशमा प्लेन उडाउँदै आएको कुरामा विश्वास गरी प्लेनको टिकट लिएको थिएँ। हामीलाई सुरक्षित उडाएर आरामसाथ काठमाडौं पुर्याएकोमा चालक दललाई पुनः धन्यवाद दिएँ।
छोरी वशन्ती र मेरो दिल्ली उडान नेपाल एयरलाइन्सको प्लेनबाट २४ जनवरीको १२:४५ बजे उड्ने टिकट थियो। हामी समयमै त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय डिपार्चर भित्र प्रवेश गर्यौँ।
अन्तर्राष्ट्रिय डिपार्चर भित्र टिकट जाँचको लागि प्रवेश गर्दा त्यहाँ भिन्नै परिस्थितिको मलाई अनुभूति भयो। देशका होनहार भरखरका कलकलाउदा युवाहरू रोजगारीका लागि आफ्ना छोराछोरी, बाबुआमा, श्रीमतीका लागि ज्यान नै हातमा राखेर विदेश जान लाइन लागेका दृश्यहरू देखिन्थे।
भर्खर जुँगाका रेखि बसेका देखि अधबैँसे मानिसहरू विदेश जान ठूलो लाइनमा बसेको देख्दा उनका वृद्ध आमाबुवा, भर्खर बिहे गरेर एक्लै घरमा छाडी विदेश जान लागेका श्रीमान, साना छोराछोरी सहित कलिली श्रीमती घरमै छोडेर जान लागेका ती युवाहरूका ओठमा ठूलो बोइङ विमान चढेर विदेश जान लागेको भएपनि हाँसो र खुशी नदेखेर निन्यौरा र मलिन अनुहार देखिन्थे।
अन्तर्राष्ट्रिय डिपार्चर भित्र पुग्न जानेलाई भित्र अनुमति नदिने एयरपोर्टको सुरक्षा नीतिले गर्दा बिदाई गर्न आएका आफन्तहरू आफ्नो प्रियजनलाई बाहिर चोकबाटै सामूहिक र सेल्फी फोटो खिची फूलमाला र खादा लगाइ बिदाई गर्दै बाहिरिँदै गरेको दृश्य देखिरहेको थिएँ।
यति मात्र होइन, बाबुआमाले भनेका थिए – “विदेश पुगेपछि फोन गर्नु, घरको चिन्ता नलिनु र आफ्नो ज्यानको ख्याल गर्नु,” भर्खर विवाह गरेका श्रीमती र ससाना छोराछोरीले बाबा फोन गर्नु भन्ने दृश्यले मेरो मन छियाछिया भएको थियो।
वैदेशिक रोजगारमा जान लागेका युवा र उनीहरूलाई पुर्याउन जाने परिवारका दृश्य हेरेर मात्र भएन, सामान चेक गराइ टिकट चेक गराउन हामी अघि बढ्यौँ। छोरी वशन्तीले पासपोर्ट बनाएकीले समस्या भएन। मेरो नागरिकतामा रहेको फोटो पुरानो भएकोले अलमलमा पार्न थाले काउन्टरमा बसेका भाईले। साँच्चिकै फोटो पुरानो र मधुरो नै थियो।
हामीलाई केही समय तनाव भयो। अध्यागमनका कर्मचारीहरूले मतदाता नामावलीमा छ कि छैन भनेर पनि सोधिरहेका थिए। नागरिकताको प्रमाणपत्र भए पनि मतदाता नामावलीको कार्ड आवश्यक पर्ला भनेर सोचिएन। यहाँबाट पठाए पनि त्यहाँका कर्मचारीहरूले जाँच गर्न सक्छन् भन्ने डर थिए। उता दुःख पाउन पनि सकिन्छ भनेर सम्झाइरहेका थिए।
यहाँबाट जाने अनुमति दिए पनि उता दिल्ली एयरपोर्टबाट फिर्ता गर्न पनि सक्छ भनेर डर देखाइरहेका थिए। छोरी वशन्तीले कन्भिन्स गरेपछि इन्क्रिट (इन्ट्री) दिए। पुनः एकचोटि कुलदेवता र भगवान पशुपतिनाथलाई धन्यवाद दियौँ। त्यसपछि हमी धावन मार्गतर्फ अघि बढ्यौँ।
नेपाल एयरलाइन्सको प्लेनबाट यात्रा गर्ने यात्रुलाई बोलायो। हामीलाई बसले प्लेनतर्फ लग्यो। एकछिनमा यात्रु प्लेनमा खचाखच भरिन थाले। संयोगले उत्तरतर्फका झ्यालसाइडका सिटहरू मिल्यो। मज्जा आयो। हिमाली दृश्य लगायत भारत पुगेसम्म पनि प्लेनको झ्यालबाट दिल्ली एयरपोर्ट नपुगुञ्जेल बाहिरको दृश्य हेर्न पाइने भो भन्नेमा खुशी लाग्यो।
प्लेनको फ्रन्ट लाइनमा रहेका आठै लहरको फर्स्ट प्याज चेज प्लेस भरिएको थियो। पछिल्लो प्याज चेज भागका आठै लहरमा पनि यात्रु धेरै नदेख्नु र केही ठाउँ खाली देख्दा नेपाल एयरलाइन्सले टिकट बिक्रीमा यात्रुप्रति विश्वास जगाउनु पर्ने देखियो।
ठिक १४:०१ बजे प्लेन धावन मार्गबाट उड्यो। प्लेन उड्ने बेलामा मलाई खुशीसँगै थोरै नमजा पनि लाग्यो। दिल्ली जाँदै गर्दा मेरी धर्मपत्नी पूर्णीमालाई पनि उक्त कार्यक्रममा साथमा लिएर गएको भए यात्रा अझ रमाइलो हुन्थ्यो भन्ने सम्झी रहेँ।
काठमाडौंमा सानी छोरी दीपशिखा र ठूलो छोरा गणेशसँग पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्लेनबाट यात्रा गर्नुअघि रमाइलो भेट भयो। घरमा म्याम र सानो छोरालाई त्यहीँ छोडेर काठमाडौं आएको थिएँ। जाने बेला परिवारलाई एक्लै छोडेर यात्रा गर्दा भने नमिठो अनुभूति भयो।
अघिल्लो वर्ष अर्थात् २०७९ सालको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनालाई बिर्सौ भनेपनि त्यो हृदयविदारक अप्रिय घटनाले लखेटिरहेको थियो। यो दिनको हवाई यात्रा फरक अवस्थाको थियो। यसतर्फ सबै नेपाल एयरलाइन्स परिवार, क्याप्टेनहरू र नेपाल सरकार संवेदनशील भई आवश्यक व्यवस्थापन गरिसकेको छ भन्ने कुरामा विश्वास थियो।
यही आत्मविश्वासले हाम्रो यात्रा सफल एवं रमाइलो हुन्छ भन्नेमा विश्वास थियो। यही विश्वाससँगै कुलदेवता बाबिरो मस्टो, शैलेश्वरी, बागेश्वरी माता, गुरु चन्दननाथ, भैरवनाथ, नीलभैरव अनि हाम्रा आराध्यदेव पशुपतिनाथलाई बारम्बार सम्झेर सिटमा बसेँ दुई बाबु छोरी। अलिकति टाढा बसेकी थिइन् – छोरी वशन्तीकी सीए साथी अपेक्षा र उनकी आमा।
प्लेनले नेपालका विभिन्न हिमाल पहाड, तराई, थुम्का, खोला नदी देखाउँदै लग्यो। प्लेनभित्र मानिस केही नबोली बसेका थिए। प्लेनले भनेका थिए “तपाईंहरू प्लेन चढिरहनु भएको छ” भन्ने छँक दिएको थियो, प्लेनको मिठो लामो घ्वाँग गरिरहेको आवाजबाट।
केही बेरमा प्लेनबाट जमिन, हिमाल पहाड सबै देखिन छोडे। प्लेन जमीनभन्दा धेरै माथि आकाशमा उडेको जस्तो लागिरहे थियो। केही समयपछि दूरी छोटियो। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अघि केही बस्ती देखियो। एकछिनपछि विशाल एयरपोर्टमा विमान सुरक्षित रूपमा अवतरण भयो। हामीलाई प्लेनले सुरक्षित अवतरण गराएपछि मैले नेपाल एयरलाइन्सका क्याप्टेन दुवैलाई मनमनै धन्यवाद दिएँ।
प्लेनबाट झरेपछि हाम्रो लगेज लिन ११ नं. काउन्टरमा जान भन्यो एयरलाइन्सका स्टाफले। हामी त्यसतर्फ अघि बढ्यौँ। त्यो लगेज लिनुअघि इन्डियन अध्यागमन अधिकारीसँग आवश्यक विवरण दिई पासपोर्ट, नागरिकता प्रमाणपत्र जस्ता विश्वासलायक प्रमाण देखाएपछि मात्र यात्रुलाई भारतीय भूमिमा प्रवेश अनुमति दिने रहेछ। काठमाडौंमा जस्तै नागरिकता हेरि त्यहाँ पनि समस्या हुने भन्ने सोचिया थियौँ।
अध्यागमनका तीनवटा काउन्टर देखेँ। मैले छोरीलाई एकछिन पर्ख र हेरौं भन्ने नीति सुझाएँ। कुन काउन्टरका अध्यागमन अधिकृत सजिला रहेछन् भनी विचार गरी त्यही काउन्टरमा जाँच गरौँला भने। बीचको काउन्टरको अधिकृत ठीक लाग्यो। उता छोरी गई। उसले टिकट र नागरिकता देखायो। अनि कुनै अवरोध नगरी अर्कोतर्फ पठायो। अधिकृतले हिन्दी भाषामा भने, “अर्कोपटक प्लेनको सट्टा गाडीबाट यात्रा गर्नु होला, कहिलेकाहीँ लफडा पर्न सक्छ।”
हामीले उनलाई धन्यवाद दिएर लगेज लिएर अघि बढ्यौँ। बल्ल खुशी आयो, कुनै लफडा बेहोर्न पर्दा छैन्। बल्ल यात्रा सफल भएकोमा ढुक्क भयौं। यसपछि टोकन अनुसार रुजू गर्दै लगेज बुझ्यौँ।
लगेजबारे सकेपछि मेट्रो रेलको चटारो सुरु भयो। हामी मेट्रो रेल चढेर निर्माण बिहार दिल्लीस्थित लक्ष्मीनगर पुग्यौँ। निर्माण बिहार र लक्ष्मीनगर निकै प्रोपर्ट र लोकप्रिय ठाउँ रहेछन्।
लक्ष्मीनगरस्थित मोना होटेलमा बास बस्न पुगेका थियौँ। खाना खान स्वीट गेष्टहाउसमा गएर खाना खायौँ र करिब रातको १०:०० बजे निद्रा देवीको नजिक पुगेर हाम्रो पहिलो दिनको यात्रा सकियो भन्ने अनुभूति भयो।
भोलिपल्ट २५ जनवरीलाई स्वागत गर्दै बिहानको ब्रेकफास्टपछि छोरी वशन्ती र उनका साथी अपेक्षाको चार्टर एकाउन्टेन्टको दीक्षान्त समारोहको प्रोग्राम स्थल दिल्लीस्थित “The Lila Convention” स्थलतर्फ गयौँ। सम्मानित हुनेहरू सबै भेला भएका रहेछन्।
छोरी वशन्ती र उनका साथीले आवश्यक कागज र फोटो सहित सो समारोहमा सहभागिताको लागि नाम दर्ता गराए।
आयोजक टोलीले उक्त दीक्षान्त कार्यक्रममा सम्मानित हुने छोरी वशन्ती र उनका साथीलाई गाउन, परिचयपत्र, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र दिएर सम्मान गर्यो।
मैले पनि छोरी वशन्ती र उनकी साथीलाई बधाई तथा शुभकामना दिएँ। मेरा आँखामा खुशीले आँसु रसाए। छोरीले चार्टर एकाउन्टेन्ट जस्तो गरिमामय जनशक्तिको मान्यता र सम्मान पाउनुले मेरो मात्र होइन सम्पूर्ण देशले गर्व गर्ने विषय थियो।
हामी केही समय फोटो सत्रमा लाग्यौँ। त्यसपछि ट्याक्सी चढेर खाना खाने होटेल तर्फ लाग्यौँ। ट्याक्सी बाहिर हेर्दा नयाँ दिल्लीमा गणतन्त्र दिवसको उपलक्ष्यमा ठाउँठाउँ भित्ता, पर्खाल, चोक, सरकारी भवन, पार्कमा राष्ट्रिय झण्डा फहराइएका थिए।
रातिको लागि दीपावलीमा झैँ झिलिमिली बत्ति बाल्ने भव्य तयारी भैरहेको थियो।
हामीले खाना खाई दिउँसो अक्षरधाम मन्दिर, दिल्लीमा गएर भगवान स्वामीनारायणको दर्शन गर्यौँ। स्वामी नारायण मन्दिर धार्मिक एवं सांस्कृतिक तीर्थस्थल हो। यस मन्दिरमा पुगेर ज्योतिधर भगवान स्वामीनारायणको दर्शन गर्यौँ। राति ८:०० बजे भएको स्वामीनारायण मन्दिरको जलप्रवाह र आरती मेला समेत हेर्न पायौँ।
संसारभरका मानिसबीच विभिन्न तरिका र रंगमा जलप्रवाह हुने उक्त भव्य समारोहमा उपस्थित भएर दर्शन गर्दा भाग्यमानी ठानेर छोरीलाई धन्यवाद दिएँ।
















