नेपाल बाल संगठनको तदर्थ जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा शारदा पछाईं मनोनित भएकी छन्। नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको २०८२ साल असार ४ गतेको निर्णय अनुसार पछाईंलाई विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको हो।
केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “संस्थाको विधानअनुसार जिल्लाभित्र रहेका नेपाल बाल संगठन र वालमन्दिरका नाममा रहेका चल अचल सम्पत्तिको अभिलेख संकलन, संरक्षण र अद्यावधिक गर्नुपर्नेछ। साथै संरक्षकविहीन बालबालिकालाई संरक्षण प्रदान गर्न तथा बालहितका कार्यहरूमा सक्रिय भूमिका खेल्नुपर्नेछ।”
पछाईंले अध्यक्षमा मनोनयन भएपछि आफूले पाएको जिम्मेवारीप्रति गम्भीर भएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्, “नेपाल बाल संगठनजस्तो बालमैत्री संस्थामा जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु मेरो लागि गर्व र जिम्मेवारी दुवै हो। म जुम्लामा संरक्षकविहीन बालबालिकाका लागि सहज वातावरण बनाउन तथा संगठनलाई संस्थागत रुपमा मजबुत बनाउन क्रियाशील रहनेछु।”
उनले पहिलो प्राथमिकतामा सम्पत्तिको अभिलेख, सदस्यता वितरण र संगठन सशक्तिकरणलाई राख्ने स्पष्ट पारेकी छन्। पछाईंका अनुसार आगामी तीन महिनाभित्र जिल्ला अधिवेशन गरी विधिवत कार्यसमिति गठन गरिनेछ।
नेपाल बाल संगठनले पछाईंलाई दिएको कार्यादेशअनुसार उनले केन्द्रको स्वीकृतिमा थप दुई सदस्य मनोनयन गर्नुपर्नेछ। साथै, सदस्यता संकलन, शुल्क दाखिला, कार्यविभाजन, सम्पत्ति व्यवस्थापन लगायत विषयमा केन्द्रीय निर्देशन पालना गर्नुपर्ने उल्लेख गरिएको छ।
बालअधिकार, संरक्षण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय पछाईंको नेतृत्वले जुम्लामा बाल अधिकारको क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको केन्द्रीय अध्यक्ष न्यौपानेले बताइन्।
















