राष्ट्रिय युवा परिषद्को आयोजनामा सञ्चालित संघीय नमुना युवा संसद—२०८२ मा भक्तपुरका विजय खनाल नमुना युवा प्रधानमन्त्री र बाँकेका विवेक शर्मा नमुना युवा सभामुखमा निर्वाचित भएका छन्।
देशभरका स्थानीय तह, प्रदेश हुँदै संघीय तहमा प्रतिस्पर्धा गरेर छनौट भएका ८० जना युवासांसदहरूबाट उनीहरू निर्वाचित भएका हुन्। नमुना प्रधानमन्त्री पदमा ६ जना र सभामुख पदमा ७ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। उम्मेदवारहरूले आ–आफ्ना ३–३ मिनेटका प्रतिबद्धता मन्तव्य सार्वजनिक गरेपछि मतदान प्रक्रिया सुरु भएको थियो।
प्रधानमन्त्री पदमा विजय खनालसँगै दिपक परियार, दीपेन्द्र गौतम, आकाश ओली, उमेश शर्मा सुवेदी र नविना सापकोटा प्रतिस्पर्धामा थिए। यस्तै सभामुख पदमा अंकित घिमिरे, दिपा आचार्य, भरत कठायत, सौगात घिमिरे, शिक्षा प्रसाई र शिवजी प्रसाद कुशवाह उम्मेदवार बनेका थिए।
यसै क्रममा, नमुना राष्ट्रपति पदमा आशु चौधरी र नमुना युवा राष्ट्रिय सभाका अध्यक्षमा सोहम् सोनार सहमतिका आधारमा चयन भएका छन्। प्रमुख प्रतिपक्षी दलका नेतामा रिजवान बधई र उपसभामुखमा रेनुका भट्टराई निर्वाचित भएकी छिन्।
कार्यक्रमका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार परिषद्ले १६–२४ वर्ष उमेर समूहका युवाहरुलाई नेतृत्व, शासन प्रणाली, कानुन निर्माण प्रक्रिया र संसद अभ्यासबारे चार दिन लामो जिवन्त अभ्यास गराएको हो।
अभ्यासका क्रममा सांसद उदय शमसेर राणा, सुनिता बराल, सुदन किराती, मनिष झा, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल र मुख्य प्रशिक्षक प्रकाश उपाध्यायलगायतले युवासांसदहरूलाई सहजीकरण गरेका थिए।
आउँदो शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद अभ्यासको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।














