मंगलवार, ३ असार, २०८२

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

(हागेनको खुला वायु सङ्ग्रहालयको प्रेरणामा आधारित एक दृष्टिकोण)

शिक्षालयलाई बहुआयामिक सङ्ग्रहालयको रूपमा सञ्चालन गर्नुपर्छ, जहाँ विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षण लिनेछन्, पर्यटक र बाह्य समूहलाई अवलोकन, सिकाइ र उत्पादित सामग्रीको बिक्री पनि हुनेछ। यससँगै पर्यटक भ्रमण, सांस्कृतिक प्रदर्शन, मेला, कार्यशालाहरू लगायत विभिन्न प्याकेजमा कार्यक्रमहरू हुनेछन्।

हिजो छन्चरबार, सधैझैँ कतै न कतै घुमघाम वा केही नौलो सिक्ने प्रयासअनुसार जर्मनीको हागेन शहरमा अवस्थित ‘खुला वायु सङ्ग्रहालय’ घुम्ने योजना बन्यो। समयको सीमितताले बनेको योजना भएकाले घुम्ने स्थानको बारेमा त्यति गहिरो चासो राखेर खोजबिन गरिएको थिएन। तर कहिलेकाहीँ नयाँ अनुभूति लिन यत्तिकै सट्याकसुटुक हिँड्नुको पनि बेग्लै मजा हुन्छ भनेर, बिना पूर्वतयारी हागेनतिर लागियो।

हागेनको ‘खुला वायु सङ्ग्रहालय’ पुगेपछि भने मलाई ‘कर्णाली प्राविधिक शिक्षालय (KTS)’ को स्मृति ताजा भयो र सँगै यसले एक प्रश्न जन्मायो: “नेपालको हिमाली क्षेत्रको प्राविधिक शिक्षाको इतिहास बोकेको यो ऐतिहासिक शिक्षालय किन हागेनको जस्तै खुला सङ्ग्रहालय बन्न सक्दैन?” यो अनुभूतिमूलक आलेख यसै अवधारणावरपर रहेर लेखिएको छ।

सन् १९६० बाट निर्माण शुरू भएर सन् १९७१ मा सञ्चालनमा आएको ‘हागेन खुला वायु सङ्ग्रहालय (LWL-Freilichtmuseum Hagen)’ जर्मनीको रुर क्षेत्रको दक्षिणी सीमामा अवस्थित एक अद्वितीय सांस्कृतिक परिसर हो। यो ४२ हेक्टरमा फैलिएको हरियाली घाँसे उपत्यकामा (Mäckingerbach उपत्यका) रहेको छ, जहाँको ठाडो ढलान (१०० मिटरभन्दा बढी उचाइ फरक) र प्राकृतिक जलस्रोतहरूले ऐतिहासिक शिल्पकलालाई जीवन्त राख्ने वातावरण सिर्जना गरेको छ। सङ्ग्रहालय क्षेत्रको निर्माण उपत्यकाको प्राकृतिक बनोटलाई पूर्ण सम्मान गर्दै गरिएको छ। यसरी सम्झँदा ठ्याक्कै KTS जस्तै।

यस सङ्ग्रहालय परिसरमा रहेका ६० भन्दा बढी ऐतिहासिक कारखाना र कार्यशालाहरू यस्तरी व्यवस्थित छन् कि Mäckingerbach खोलाको सानो पानीको शक्तिको प्रयोग गरेर धातु पिट्ने हथौडा र कागज कुट्ने मिल स्वचालित गरिएको छ। सङ्ग्रहालयको केही क्षेत्र ठाडो/भिरालो भएकाले विद्युतीय बस/गाडीको व्यवस्था गरेर अपाङ्गता भएका, ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्त पर्यटकहरूलाई सहज यातायात सेवा प्रदान गरिएको छ। त्यहाँ रहेका भवनहरू कालक्रमअनुसार (२०० वर्षको विकासक्रम) र शिल्प प्रकारअनुसार (धातुकाम, कागज निर्माण, कपडा बुनाइ) क्षेत्रमा विभाजन गरी राखिएका छन्, जसले इतिहासको यात्रालाई सहज बनाउँछ। खोलाको छेउमा, जङ्गलको बीचमा पूर्ण प्राकृतिक वातावरण भएकाले शहरको भिडभाड र कोलाहलबाट शान्ति पाउन र नयाँ पुस्तालाई आफ्नो इतिहास, प्रविधिको विकासक्रम र संस्कृति सिकाउन पनि यहाँ विभिन्न ठाउँबाट पर्यटकहरू आउने रहेछन्, भिडभाड पनि हुने रहेछ।

लहरै बनेका काठ, ढुङ्गा र माटोले बनेका पुराना घरहरू, धातुको काम गर्ने आरन, धागो र कपडा बुन्ने मेसिनहरू, कुटानी-पिसानी गरिने मिलहरू, त्यसबेलाका कपाल काट्ने हजाम र तिनले प्रयोग गर्ने औजारहरू, त्यसबेलाका भान्साकोठा, चुलो, जर्मनीमा रक्सी (वाइन) बनाउने र पिउने संस्कृति भएकाले त्यसबेलाका खाद्य तथा पेयपदार्थ बनाउने साधन र प्रविधि, मिल चलाउन लगायत अन्य कामका लागि बनाइएका वायुपङ्खाहरू सबै हेर्न मिल्ने बनाइएको रहेछ। नजिकै गाईवस्तु पनि पालिएकाले गोबरको बास्नाले साउन-भदौ महिनामा लेकतिर गएजस्तो अनुभूति हुने रहेछ। मेरा लागि यो नयाँ नभए पनि अहिलेको नयाँ पुस्ता र भावी पुस्ताका लागि भने अवश्य नयाँ हुनेछ। मेरी छोरीका लागि त पूर्ण रूपमा नयाँ नै हो।

हागेनले २०० वर्ष पुराना संरचनाहरूलाई केवल संरक्षण गरेर मात्र रोकेको छैन, तर तिनलाई सांस्कृतिक ऊर्जाको जीवन्त स्रोतमा रूपान्तरण गरेको छ – जहाँ प्रत्येक ढुङ्गाले कथाको रूप लिएर बोल्छ, प्रत्येक कार्यशालाले अतीतको सांस्कृतिक DNA लाई वर्तमानसँग जोड्छ। यही दृष्टिकोणले KTS को सुन्दर भविष्यका लागि एक फरक अवधारणा बनाउन मलाई प्रेरित गरेको हो।

२०३७ सालमा युनाइटेड मिसन टु नेपाल (UMN) र स्विस सहयोगबाट स्थापित यो संस्था नेपाली प्राविधिक शिक्षाको जग हो, जसले CTEVT को जन्मलाई सहयोग पुर्‍यायो। स्विस वास्तुविद्हरूले जुम्लाको कठोर हावापानीमा टिक्ने विशिष्ट “ढुङ्गा-काठ-माटो” को प्रयोग गरी परम्परागत खस र स्विस वास्तुकला र प्रविधिको संयोजनबाट नयाँ डिजाइन सिर्जना गरे, जसले प्राकृतिक ऊर्जा अनुकूलन, भूकम्प प्रतिरोध र स्थानीय सामग्रीको शतप्रतिशत उपयोग गरेर जुम्लाको भवनहरूको डिजाइन र वास्तुकलामा नयाँ अवधारणा ल्यायो। यस शिक्षालयबाट ज्ञान र सीप सिकेका हजारौँ कर्णालीका स्थानीय युवाहरूले स्वास्थ्य, कृषि, निर्माण, प्रविधि, पशुपालन जस्ता क्षेत्रमा समुदायलाई प्राविधिक सहयोग गरेर रोजगारी र समुदायको रूपान्तरणमा अतुलनीय भूमिका खेलेका छन्।

तर आज यो ऐतिहासिक धरोहरले कताकता आफ्नो पहिचान र सामर्थ्य गुमाउँदै गएको अनुभूति हुन्छ। लगभग ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो शिक्षालय परिसरभित्रका विभिन्न भवनहरू र अन्य संरचनाहरूमध्ये आधाजसो अस्तव्यस्त छन् – केही भवनहरूका छानामा भ्वाङ परेका छन्, केही भवनका भित्ताहरू चर्केर ढल्ने अवस्थामा छन्, पुस्तकालयभित्र अस्तव्यस्त पुस्तकका खातहरू छन्, विद्यार्थीहरूलाई सिकाउन प्रयोग गरिने क्षेत्र पनि अस्तव्यस्त बनेको छ। अर्को उदेकलाग्दो विडम्बना के छ भने हालै निर्माण भएको नयाँ भवनले ऐतिहासिक परम्परालाई अवहेलना गरेर “हाँसको फौजमा बकुल्ला” जस्तो विद्रूपता सिर्जना गरेको छ – ठूलो कङ्क्रिट संरचनाले स्विस-नेपाली (खस) मिश्रित वास्तुकलाको सुन्दरतालाई निल्न खोजेको छ।

पोहोर साल उक्त शिक्षालयमा भेटघाट र अवलोकनका बेला शिक्षालय प्रमुख टेकेन्द्र थापाको आवाजमा पीडा छल्किएको देखेको थिएँ। उनको गुनासो थियो, “सङ्घीय सरकारले हाम्रो आवाज सुनेन, स्थानीय र प्रदेश सरकारले पनि हाम्रा योजना र आवाज बुझ्ने कोसिस गरेनन्। मर्मत-सम्भारका लागि छुट्याइने वार्षिक बजेटले सोचेका र हुनुपर्ने कुनै योजना पूरा हुँदैनन्। यस्तो बजेटले यी जीर्ण भवनहरू र अन्य संरचनाको जुन हविगत भएको छ, त्यो पुनर्निर्माण गर्न असमर्थ बनाएको छ। भौतिक पूर्वाधारको अस्तव्यस्तताले शैक्षिक अवस्था पनि पहिलेभन्दा फरक भएको छ – व्यावहारिक ‘सीप विकास’ को सट्टा शैक्षिक सैद्धान्तिकरण बढ्दै गएकाले KTS बेरोजगारी उत्पादन गर्ने कारखानामा परिणत हुने सम्भावना पनि छ।”

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला

यही नमिठो र पीडादायी परिदृश्यलाई हागेन खुला वायु सङ्ग्रहालयले प्रभावकारी समाधान प्रस्ताव गरेको छ भन्ने मेरो ठहर छ। जर्मनीको रुर क्षेत्रमा अवस्थित यो संस्थाले ४२ हेक्टर क्षेत्रमा २०० वर्षको इतिहासलाई सांस्कृतिक उद्यमको रूपमा रूपान्तरण गरेको छ। यस सङ्ग्रहालयको आम्दानी यहाँ भ्रमण गर्ने पर्यटकको प्रवेश शुल्क मात्र होइन, विभिन्न सङ्घ, संस्था, समुदाय र व्यक्तिहरूको दान पनि मुख्य हो। साथै, यस सङ्ग्रहालयले विभिन्न समयमा मेलाहरू आयोजना गरेर पर्यटकहरू, विद्यार्थीहरू र बालबालिकाहरूलाई आकर्षित गर्ने गरेको छ।

यसै अवधारणालाई KTS मा अझ सिर्जनशील रूपमा लागू गर्न सकिन्छ। KTS का विभिन्न क्षेत्रलाई विभाजन गरेर कर्णालीलगायत नेपालको हिमाली क्षेत्रमा अपनाइएका परम्परागत निर्माण प्रविधि, सीप र शिक्षालयले प्रवर्द्धन गरेका प्रविधिहरू समेटेर जीवन्त सङ्ग्रहालयको रूपमा रूपान्तरण गर्न असम्भव छैन। यसले पर्यटकहरूलाई तीन प्रमुख क्षेत्रमा यात्रा गर्ने अवसर दिनेछ। वास्तुकला क्षेत्रमा स्विस-नेपाली निर्माण प्रविधिको प्रत्यक्ष प्रदर्शन हुनेछ, जहाँ विद्यार्थीहरूले ढुङ्गा काट्ने, माटो ढाल्ने परम्परागत तरिका देखाउनेछन्। शैक्षिक इतिहास क्षेत्रमा २०३७ सालदेखिका पाठ्यक्रम, औजारहरू र CTEVT को जन्मकथा प्रदर्शनी हुनेछ। कर्णाली हिमाली खस जीवनशैली क्षेत्रमा देउसी-भैलोको प्रत्यक्ष प्रदर्शन, जडीबुटी बगैँचा र स्थानीय खाना चख्ने केन्द्रहरू मार्फत कर्णालीको सांस्कृतिक DNA जीवन्त राखिनेछ।

वास्तुकला क्षेत्रमा खस परम्परा-प्रविधि र स्विस-नेपाली निर्माण प्रविधिको प्रत्यक्ष प्रदर्शन हुनेछ, जहाँ विद्यार्थीहरूले ढुङ्गा काट्ने, माटो ढाल्ने, काठका विभिन्न जोर्नीहरूको परम्परागत तरिका देखाउनेछन्। कृषि क्षेत्रमा जडीबुटी, पाल्तु जनावर, औजार-हातहतियार, रूखबिरुवा, अन्नबाली, हलो-जुवा/बिगारो, पानी घट्ट जस्ता नेपालको हिमाली क्षेत्रमा अपनाइएका परम्परागत प्रविधि र शिक्षालयले प्रवर्द्धन गरेका प्रविधि समेटिनेछ। शैक्षिक इतिहाससम्बन्धी क्षेत्रमा कर्णालीको शैक्षिक इतिहासदेखिका पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री र CTEVT को जन्मकथा प्रदर्शनी हुनेछ। कर्णालीको जीवनशैली क्षेत्रमा देउसी-भैलोको प्रत्यक्ष प्रदर्शन, जडीबुटी बगैँचा र स्थानीय खाना चख्ने स-साना रेस्टुरेन्ट/केन्द्रहरू मार्फत अन्य जीवन पद्धतिहरू जहाँ प्रविधि जोडिन्छ, ती सबै एकीकृत गरेर अध्ययन, अनुसन्धान र अवलोकन केन्द्र बनाउन सकिन्छ। यसले कर्णालीको सांस्कृतिक सम्पदा जीवन्त राख्नेछ।

माथि उल्लेखित पुराना प्रविधिहरू जस्तै पानी घट्ट, घर बनाउने खस शैली र वास्तुकला, परम्परागत कृषि, जडीबुटी, पाल्तु जनावर, औजार-हातहतियार, लगायत अन्य जीवन पद्धतिहरू जहाँ प्रविधि जोडिन्छ, ती सबै एकीकृत गरेर अध्ययन, अनुसन्धान र अवलोकन केन्द्र बनाउन सकिन्छ। विभिन्न सङ्घ-संस्था, समुदाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय, सहकार्य र साझेदारीमा यस परिसरभित्र थप परम्परागत प्रविधिहरू जस्तै नाउलो/धारो, मन्दिर/थान, बाटोघाटो, रूखबिरुवा, अन्नबाली, स्वास्थ्यसेवाका परम्पराहरू, ठेटुवा/ऊनी/लिउ/राडीपाखी/दोचा, हलो-जुवा/बिगारो, झुलो-आगपाड्नु, चुलो, फर्निचर, खोटो/झरो स्थापना गर्न सकिन्छ। यसले एकातिर अध्ययनरत विद्यार्थीलाई इतिहास सिकाउन सकिन्छ भने अर्कोतिर बाह्य पर्यटक र विद्यार्थीलाई बेलाबेलामा अवलोकन गर्न मेलाहरू आयोजना गरेर ऐतिहासिक र परम्परागत प्रविधि बुझ्ने अवसर दिन सकिन्छ।

यो परिवर्तन साकार पार्न सामूहिक प्रयास आवश्यक छ। KTS लाई जीवन्त सांस्कृतिक उद्यममा रूपान्तरण गर्न पाँच आयामी रणनीति आवश्यक छ। पहिलो, यसको अवधारणालाई प्रष्ट, धारिलो र कम्तीमा स्थानीय र प्रदेश सरकारहरूले स्वीकार्य बनाउनुपर्छ। यो अवधारणाका लागि आवश्यक नीतिगत परिवर्तनको पहल गर्नुपर्छ। दोस्रो, कार्यान्वयनको आयाम हो, जसमा विभिन्न सङ्घ-संस्थाहरूबाट प्राविधिक र आर्थिक सहयोग लिएर न्यूनतम पूर्वाधार तयार गर्नुपर्छ। यसका लागि दान, अनुदान र ऋणमार्फत लगानी जुटाउनु महत्त्वपूर्ण हुन्छ। लगानी जुटेपछि जोखिमपूर्ण भवनहरूको वैज्ञानिक मर्मत गर्नुपर्छ, जसमा स्थानीय ढुङ्गा र काठको पुनः उपयोग गर्दै आधुनिक भूकम्परोधी प्रविधि समावेश गर्नुपर्छ। तेस्रो, त्रिआयामिक आर्थिक मोडलको विकास र लागू गर्नुपर्छ, जसले सञ्चालनका लागि आवश्यक रकमको जोहो गर्नेछ।

शिक्षालय-सङ्ग्रहालय, समुदाय-सङ्घ-संस्था-निजी क्षेत्र र सरकारमार्फत विभिन्न लगानी र आम्दानीका माध्यमहरूको सशक्तीकरण गर्ने। चौथो, शिक्षालयलाई बहुआयामिक सङ्ग्रहालयको रूपमा सञ्चालन गर्नुपर्छ, जहाँ विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षण लिनेछन्, पर्यटक र बाह्य समूहलाई अवलोकन, सिकाइ र उत्पादित सामग्रीको बिक्री पनि हुनेछ। यससँगै पर्यटक भ्रमण, सांस्कृतिक प्रदर्शन, मेला, कार्यशालाहरू लगायत विभिन्न प्याकेजमा कार्यक्रमहरू हुनेछन्। पाँचौँ, भौतिक, सांस्कृतिक र डिजिटल पहुँचको समिश्रण गरेर सोलार-इलेक्ट्रिक शटलहरू, व्हीलचेयर अनुकूल र्याम्पहरू, इलेक्ट्रिक एस्केलेटर, र VR हेल्मेटमार्फत समग्र क्षेत्रको अवलोकन गर्न सकिने सुविधाहरू, सिजनअनुसारका सांस्कृतिक पर्व र मेलाको समिश्रणले सबै प्रकारका दर्शकहरूलाई समावेश गर्न सकिन्छ।

यो महत्वाकाङ्क्षी योजना साकार पार्न चन्दननाथ नगरपालिकाले स्थानीय भवन निर्माण प्रविधि र डिजाइनहरूको अपनत्व लिएर नगरपालिकाभित्र बन्ने भवनहरूमा यस्ता प्रविधि र वास्तुकला प्रयोग गर्न प्रेरित गर्नुपर्छ। जसले जुम्लाका सडक, सार्वजनिक भवन र आवासीय निर्माणहरूमा स्थानीय अनुकूलित शैली अवलम्बन हुनेछ। कर्णाली प्रदेश सरकारले यसलाई प्रदेशीय पर्यटन मार्गचित्रको केन्द्रबिन्दु बनाएर रारा यात्रा, सिञ्जा यात्रा, डोल्पा यात्रा र समग्र कर्णाली पर्यटनको अभिन्न अङ्ग “कर्णाली हिमाली प्रविधि तथा सांस्कृतिक सङ्ग्रहालय” बनाउनुपर्छ। त्यसैगरी, केन्द्र सरकार र CTEVT ले यो अवधारणा कार्यान्वयन गर्न सहज हुने गरी नीति र अनुमति प्रदान गर्नुपर्छ। यो रूपान्तरणले कर्णालीको सामाजिक-आर्थिक भविष्य पुनः परिभाषित गर्न सक्छ।

यो अवधारणा लागू भएमा सङ्ग्रहालय मात्र होइन, स्थानीय उद्यमहरू स्थापना गर्न पनि सहयोग मिल्नेछ – विशेष गरी महिला सहकारीहरूमार्फत हस्तनिर्मित स्थानीय उत्पादन केन्द्रहरू स्थापना गर्न प्रेरित हुनेछ। धेरै स्थानीय युवाहरूलाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ, जसमा गाइड, सांस्कृतिक प्रदर्शनकर्मी, शटल सञ्चालक र शिल्प प्रशिक्षकहरू समावेश छन्। “कर्णाली टेक्निकल एलुमनाई नेटवर्क” ले पूर्वविद्यार्थीहरूलाई संस्थासँग पुनः जोड्दै उनीहरूको आर्थिक र विशेषज्ञतालाई वर्तमान अवधारणालाई सहयोग गर्ने मार्ग प्रशस्त गर्नेछ।

यस शिक्षालयका प्रमुख टेकेन्द्र थापा ज्यूको हुटहुटी यदि यो अवधारणामा लाग्यो भने यसले साकार रूप लिन बेर लाग्ने छैन भन्ने विश्वास मलाई छ, तर यो अवधारणाले सामूहिक जिम्मेवारी माग्छ। ढुङ्गा-काठका यी मौन साक्षीहरूलाई हामीले भत्कन दिनुहुँदैन, तिनबाट नयाँ इतिहास सिर्जना गर्नुपर्छ। जुम्लाका ढुङ्गाहरूले बोलिरहेको इतिहासको गीतलाई हामीले बुझ्नुपर्छ। कर्णाली प्राविधिक शिक्षालय कर्णाली मात्र होइन, नेपाली प्राविधिक शिक्षाको ऐतिहासिक सम्पदा हो, यसलाई बचाऔँ, विकास गरौँ र जीवन्त सङ्ग्रहालयको रूपमा विस्तार गरौँ।

हागेनको खुला वायु सङ्ग्रहालय, जर्मनी
प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार