विश्व रेडक्रस दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। हरेक वर्ष मे ८ (वैशाख २५) मा ‘मानवताको पक्षमा’ नारासहित विश्व रेडक्रस दिवस मनाइन्छ।
रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको सम्झनामा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै फलफूल वितरण गरिएको रेडक्रसद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले बताइन्।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले ड्युनाको तस्बिरमा माल्यार्पण गरेको थियो। नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाका कार्यवाहक सभापति जगदीश चौलागाईंले माला अर्पण गरेका थिए। प्रतिष्ठानमा उपचाररत ७२ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।