मंगलवार, ३ असार, २०८२

कर्णाली राजमार्ग हुँदै कैलाश मानसरोवर यात्रा गर्ने कल्पना

कर्णालीमा भरपर्दो सडक सञ्जालले सिञ्जा, रारा, चंखेली र कैलाश मानसरोवरलाई जोड्यो भने कति सुन्दर हुन्छ होला? यहाँका बासिन्दा र पर्यटकले सडकमार्गबाटै यी ठाउँको अनुभव लिन पाउनेछन्।

खस सभ्यताको उद्गमस्थल, पवित्र कर्णाली क्षेत्र। जहाँको सौन्दर्य, संस्कृति र सम्भावनाले विश्वलाई लोभ्याउँछ। राराको किनारमा बिहानको स्वच्छ हावा खाएर चंखेलीमा कफीको चुस्की, सिञ्जा उपत्यकामा खस संस्कृतिको गौरव, लिमी उपत्यकाको मनोरम दृश्य र नेपालको भूमिबाटै देखिने कैलाश मानसरोवरको दर्शन गर्दाको आनन्द!

यो मिठो कल्पना कर्णाली प्रदेशकी सबैभन्दा कान्छि सांसद विनिता कठायतको हो। तर, यी सम्पदालाई जोड्ने सडक र पूर्वाधारको अभावले कर्णालीबासीको सपना अझै अधुरो छ। यही अधुरो सपना पूरा गर्नुपर्छ भन्दै उनले सरकारलाई बारम्बार घचघच्याइरहेकी छन्।

उनले कुटीरो डट कमसँग फोन संवादमा कर्णालीको यो सम्भावनालाई साकार पार्न सडक र पुल निर्माणको अपरिहार्यतामाथि जोड दिइन्। उनले भनिन्, “कर्णालीमा भरपर्दो सडक सञ्जालले सिञ्जा, रारा, चंखेली र कैलाश मानसरोवरलाई जोड्यो भने कति सुन्दर हुन्छ होला? यहाँका बासिन्दा र पर्यटकले सडकमार्गबाटै यी ठाउँको अनुभव लिन पाउनेछन्।”

कैलाश मानसरोवर, हिन्दु, बौद्ध र जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ। जो कर्णाली क्षेत्रबाट निकै नजिक छ। तर, छिमेकी भारतले आफ्नो भूमिमार्फत हरेक वर्ष २५० जनालाई कैलाश मानसरोवर यात्रा गराइरहँदा नेपालको सडक पूर्वाधार भने साह्रै कमजोर छ। कर्णाली करिडोर र अन्य सडकहरूको स्तरोन्नति नहुँदा स्थानीयबासी र पर्यटकले सास्ती भोग्नुपरेको छ।

“हाम्रो देशको बाटो छ, तर स्तरोन्नति भएको छैन,” सांसद कठायतले भनिन्, “यदि यो सडकलाई ‘कैलाश मानसरोवर राजमार्ग’ नामकरण गरेर स्तरउन्नति गरियो भने कर्णालीको पर्यटन र अर्थतन्त्रमा ठूलो क्रान्ति आउनेछ।”

तर, यो सपना पूरा गर्न चुनौतीहरू पनि उत्तिकै छन्। हरेक वर्ष मनसुनमा पहिरो र बाढीले कर्णालीका सडकहरू अवरुद्ध हुन्छन्। भत्किएका सडकको मर्मत र वैकल्पिक मार्गको अभावले स्थानीयबासीलाई दैनिक जीवनमा कठिनाइ भएको छ। सांसद कठायतले भनिन्, “हरेक वर्ष सडक भत्किन्छ, पहिरो जान्छ। अब हामीले दीर्घकालीन समाधान खोज्नुपर्छ। सडक मर्मत र बलियो पुल निर्माणमा जोड दिनुपर्छ।”

उनले कर्णालीको सडक सञ्जाललाई बलियो बनाउन चारवटा महत्वपूर्ण पुल निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेकी छन्। जसमा गगने खोला पुल, अन्पनी खोला पुल, चौखोला पुल र धर्मे खोला पुल रहेका छन्।

“यी चारवटा पुल कर्णालीको जीवनरेखा हुन्,” सांसद कठायतले थपिन्, “यिनको निर्माणले सडक अवरुद्ध हुने समस्यालाई कम गर्नेछ र कर्णालीबासीलाई बाह्रै महिना सहज आवतजावतको सुविधा दिनेछ।”

उनले नयाँ आर्थिक वर्षको बजेटमा यी योजनालाई समावेश गर्न सरकारसँग माग गरेकी छन्। कर्णालीको सडक सञ्जाल सुधार भएमा यहाँको पर्यटन र संस्कृतिमा ठूलो परिवर्तन आउनेछ।

उनका अनुसार खस सभ्यताको उद्गम स्थल सिंजा उपत्यका विश्व सम्पदा सूचीमा सूचीकृत हुन योग्य छ। राराताल, नेपालको पर्यटकीय गहना र चंखेली लेकको प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउँछ। यदि यी ठाउँहरू सडकमार्गले जोडिए भने कर्णाली नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ।

सांसद कठायतले भनिन्, “हामी कर्णालीबासी सम्मानित सदनका प्रत्येक माननीयज्यूहरूले सडकमार्ग हुँदै कर्णाली र कैलाश मानसरोवरको यात्रा गर्नुहोला भनेर आश गर्छौं। हामी ती पलहरूमा उहाँहरूसँग खुशी साट्न आतुर छौं।”

कर्णालीमा सडक र पुल निर्माणको काम तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता छ। हाल कर्णालीमा सङ्घीय सरकार मातहत सडक विभागमार्फत ७५ वटा साना-ठूला सडकको काम भइरहेको छ। कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार २,२१८.२९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा ७७१.३६ किलोमिटरमा कालोपत्र भएको छ।

तर, कर्णाली करिडोर र कैलाश मानसरोवर राजमार्गजस्ता रणनीतिक सडकको स्तरोन्नति र पुल निर्माणमा थप बजेट र प्राथमिकता आवश्यक छ।

सांसद कठायतले सरकारलाई यी योजनालाई प्राथमिकतामा राख्न र बजेट सुनिश्चित गर्न आग्रह गरेकी छन्। “कर्णालीको सडक र पुलले यहाँका जनताको जीवन मात्र जोड्दैन, यो देशको गौरव र समृद्धिको आधार पनि हो,” उनले भनिन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार