मंगलवार, ३ असार, २०८२

गठबन्धनको सरकारमा एमालेमाथि हिलो, काँग्रेस पानीमाथिको ओभानो!

खाने बेला बराबर, अनि गाली खाने एउटैले मात्र किन? महत्वपूर्ण मन्त्रालयमा काँग्रेसकै मन्त्री छन्। तर, ती मन्त्रीहरू सरकारलाई असफल बनाउन लागिपरेको प्रस्टै देखिन्छ। ओलीले अहिले नै कुनै कदम नचाले २०८४ को चुनावमा एमाले शून्य हुनेछ। दिउँसै टुकी बालेर खोज्नुपर्ने स्थिति आउन सक्छ।

अहिले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। तर, सरकारमा दुवै दल हुँदा पनि गाली खानेमा एमाले मात्र परिरहेको छ। सर्वसाधारणले त एमालेलाई गाली गर्छन् नै, काँग्रेसका नेता–कार्यकर्ता पनि एमालेमाथि दोष थुपारिरहेका छन्।

सरकारमा दुवै पार्टीको बराबर हिस्सा छ। काँग्रेसबाट पनि मन्त्रीहरू छन्। यद्यपि, सबैले निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा वर्तमान सरकार असफल बन्न पुगेको हो। काँग्रेसका नेता–कार्यकर्ता एमालेमाथि हिलो छ्यापेर आफू पानीमाथिको ओभानो बन्ने दाउमा छन्। काँग्रेसका मन्त्रीहरू सरकारमा छन् भन्ने कुरा उनीहरूले बिर्सिएका छन्।

अहिलेको सरकार बढी विवादमा पर्नुमा काँग्रेसको ठूलो हात छ। पहिलो कुरा: काँग्रेसका मन्त्रीले सिन्को भाँचेनन्। एकातिर सरकारप्रति वितृष्णा जागिरहँदा काँग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन आगोमा पेट्रोल थप्ने काम गरे।

यो कदमले जनता झन् आक्रोशित बने। प्रधानमन्त्री ओली केही दिनअघि थाइल्याण्ड भ्रमणमा गए। त्यतिबेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी काँग्रेसकै नेता रहेका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको थियो। उनले मन्त्रिपरिषद्को बैठक बोलाएर शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने धारणा राखे।

शिक्षकलाई सडकमा उतार्नेमा काँग्रेस र माओवादीको भूमिका रहेको कुरामा दुई मत छैन। त्यसैले काँग्रेस र माओवादी शिक्षकको पक्षमा जोडतोडले आवाज उठाइरहेका छन्। काँग्रेसले सरकारमा बसेर मह चाटिरहेको छ, तर गालीजति एमालेले मात्र खाइरहेको छ। काँग्रेसले अहिले सरकारमा गएर फाइदा त उठाइरहेको छ नै, २०८४ को निर्वाचनमा आफ्नो अवरोध हटाउने रणनीति पनि बनाइरहेको छ।

त्यसैले सरकारलाई बिनाकारण विवादमा फसाइरहेको छ। कुलमानको अवकाश हुन केही महिना मात्र बाँकी थियो। तर, काँग्रेसको दबाबमा परेर उनलाई हटाइयो। एकाध महिनामा घर जानेलाई हटाएर एमालेले यत्रो गाली खाइरहेको छ। एमालेका कार्यकर्ताहरू भन्छन्: कि ओलीले काँग्रेससँगको गठबन्धन तोड्नुपर्छ, कि संसद् विघटन गर्नुपर्छ, कि साना दलसँग मिलेर सरकार गठन गर्नुपर्छ, कि त सरकार छोड्नुपर्छ।

खाने बेला बराबर, अनि गाली खाने एउटैले मात्र किन? महत्वपूर्ण मन्त्रालयमा काँग्रेसकै मन्त्री छन्। तर, ती मन्त्रीहरू सरकारलाई असफल बनाउन लागिपरेको प्रस्टै देखिन्छ। ओलीले अहिले नै कुनै कदम नचाले २०८४ को चुनावमा एमाले शून्य हुनेछ। दिउँसै टुकी बालेर खोज्नुपर्ने स्थिति आउन सक्छ।

किनभने अहिले एमाले सबैको आँखाको तारो बनिरहेको छ। एमालेमाथि काम गर्न नसकेको आरोप लागिसकेको छ। सबैले एमालेलाई गाली गरिरहँदा काँग्रेस पनि त्यसमा छ भन्ने ख्याल गरिएको छैन। यसले काँग्रेसलाई फाइदा भइरहेको छ। काँग्रेसले नबोली-नबोली भित्रभित्रै खेल खेलिरहेको छ, तर ओलीले बुझेका छैनन्।

माओवादी ‘मौकामा चौका’ हान्ने पार्टी हो। माओवादीले कसरी सत्तामा जान पाइन्छ? कसरी भ्रष्टाचार गर्न पाइन्छ? भन्ने मात्र सोच्छ। कहिले काँग्रेससँग मिलेर सत्तामा जान्छ, कहिले एमालेसँग। २०६४ सालमा १२० सिट प्रत्यक्ष जितेको माओवादी २०७९ मा आइपुग्दा ३२ सिटमा सीमित भएको छ।

अझै पनि माओवादी भन्छ: हामी नेता हौँ, देश र जनताको लागि काम गर्न आएका हौँ। माओवादी सत्ताबिना ‘पानीबिनाको माछा’ जस्तै हुन्छ। यदि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राजनीति र कूटनीतिक क्षमता भएको भए आज माओवादीको हालत यो हुन्थ्यो? जनताको नजरमा माओवादी नाङ्गिएको छ।

तर, प्रचण्डले अहिलेसम्म पनि जनताले हामीलाई किन विश्वास गरेनन्? हाम्रो गल्ती कहाँ भयो? भनी खोतल्दैनन्। उनलाई आफन्तलाई पद बाँडेरै भ्याइ-नभ्याइ छ। नातावाद र कृपावादमा फस्दा माओवादीको अस्तित्व नै मेटिने धरापमा पुगेको छ। ओलीले पछिल्लो समय जुनसुकै कार्यक्रममा एउटा कुरा सुनाउँछन्: ‘मेरो समयावधि यति महिना छ। त्यो सकिनेबित्तिकै म प्रधानमन्त्री छोडिदिन्छु।’

त्यतिबेलासम्म त एमाले नै नरहला जस्तो छ। काँग्रेसले एमालेलाई असफल बनाउन रणनीति बनाएको बनायै छ, ओली तमासा हेरेर बसेका छन्। अहिले व्यापक रूपमा ‘केपी चोर, देश छोड’ जस्ता नारा लागिरहेका छन्। तर, ओलीले हल्कामा लिइरहेका छन्। विसं २०४८ सालदेखि हेर्ने हो भने दुई पार्टीमध्ये एउटा सत्तापक्ष र अर्को प्रतिपक्ष हुन्थ्यो।

दुई पार्टी एक भएको यो पहिलोपटक हो। पहिलोपटकमै काँग्रेसले एमालेमाथि हाबी भएको छ। विगतको बदला काँग्रेसले अहिले आएर लियो। तर, ओलीले बुझ ेनन्। अहिलेसम्म पनि उखानटुक्का भनेर जादु चलाउँछु भन्ने ओलीलाई लागेको छ। यद्यपि, काँग्रेसको खेलअगाडि उनको कुनै जादु चलेन।

ओली प्रधानमन्त्री भएको १० महिना बितिसकेको छ। त्यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी थियो। चुनावताका भने काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए। सबैले पालैपालो प्रधानमन्त्री बनेका छन्। तर, काँग्रेस र माओवादीले देश बिगार्नमा एमाले मात्र जिम्मेवार हो भनेर भ्रम छरिरहेका छन्।

तर, ओलीले यो भ्रम चिर्न सकेनन्। देश बिगार्नमा तीनवटै पार्टीको मुख्य भूमिका छ। तर, दोष किन एउटाले मात्र खेप्ने? काँग्रेस, एमाले, रास्वपा, राप्रपाले एमाले सिध्याउनमै लागेका छन्। रवि लामिछानेलाई आफूमाथि सहकारी ठगीको आरोप लागेको रिस छ। एमालेले उनलाई सहकारीको पैसा खायो भनेको होइन।

आफू गल्ती गर्ने अनि अरूमाथि रिस साधेर हुन्छ? राप्रपाका सांसदहरू सदनमा छन्। लोकतन्त्र मान्छु भनेर आएकाहरूले राजा चाहियो भनेर आवाज उठाइरहेका छन्। सदन के राजा माग्ने थलो हो? एमाले ओलीको मात्र पार्टी होइन। एमाले बन्नका लागि मनमोहन अधिकारी, मदन भण्डारीदेखि जनतासम्मको योगदान छ।

तर, ओलीका कारण सबैको योगदान ‘बालुवामा पानी’ हुने भयो। बूढापाकाले भन्थे: ‘भुक्ने कुकुरले टोक्दैन, नभुक्नेले टोक्छ।’ काँग्रेस नेतृ तथा वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भुटानी शरणार्थीको आरोप लागेको थियो। आफ्नी श्रीमती पर्ने डरले देउवा हतार-हतार बालकोट पुगेका थिए।

अब ओलीले आरजुमाथि छानबिन गर्न लगाउनुपर्छ। बरु गठबन्धन तोडियोस्, गलत गर्नेले सजाय पाउनुपर्छ। यो कदमले एमालेको बिग्रिएको छवि केही हदसम्म सुध्रिने छ। काँग्रेसले चुप लागेर एमालेलाई सिध्याइसकेको छ। देउवाले आफ्नी श्रीमतीलाई पनि जोगाए, सरकारमा गएर मह पनि चाटे, एमालेलाई पनि सिध्याए।

उनले कहाँसम्मको रणनीति बनाएका रहेछन्? बल्ल बुझिँदै छ। ओली र एमालेका नेताहरू अझै पनि टुलुटुलु रमिता हेरेर बस्ने हो भने अब एमाले नै नरहला। एमाले काँग्रेसलाई लगेर बुझाए हुन्छ। माओवादी पत्तासाफ बनाएको प्रचण्डले हो। कहिले काँग्रेस त कहिले एमालेलाई लगेर पार्टीलाई बुझाउँदा माओवादीको यो दुर्दशा भएको होइन?

ओली र एमालेका नेताहरू कि गर कि मरको अवस्थामा छन्। अहिले नै कुनै कदम चालेनन् भने एमाले काँग्रेसमा विलय हुनेछ। ओलीले प्रचण्डलाई सरकारमा बोलाए भने उनी आइहाल्छन्। प्रचण्ड आएपछि माधव नेपाल पनि आउँछन्। त्यसपछि मधेशी दल पनि पाइन्छ। अनि ओलीलाई काँग्रेसको गुलामी गरिरहन आवश्यक नै छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार