मंगलवार, ३ असार, २०८२

चन्दननाथ बहुउद्देश्यीय सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतका अनुसार चन्दननाथले गरेका पृथक कामहरू—जस्तै वस्तु किनेर पैसा बचत गरिदिने योजना, उत्पादन बजारीकरण र वित्तीय साक्षरता अभियान—यसलाई कर्णालीकै उत्कृष्ट बनाउनुको प्रमुख कारण हुन्।

जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था कर्णाली प्रदेशकै लागि एक प्रेरणादायी उदाहरण बनेको छ। राष्ट्रिय सहकारी महासंघले प्रदान गर्ने ‘उत्कृष्ट सहकारी पुरस्कार’ हात पार्दै यो संस्थाले न केवल आफ्नो क्षेत्रमा रहेका सदस्यहरूको जीवनस्तर उकास्न योगदान पुर्‍याएको छ।

चन्दननाथले सहकारिता मार्फत समग्र कर्णालीको आर्थिक समृद्धिको लागि पनि नयाँ आशा जगाएको छ। यो सफलता केवल एक पुरस्कारको मात्रै नभई समुदाय, नेतृत्व र दृष्टिकोणको सशक्त मिसावटको कथा हो।

सहकारीको यात्रा शुरू भएको लामो समयदेखि यसले आफ्ना २७ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय साक्षरता, उत्पादन वृद्धि र बजार पहुँच प्रदान गर्नमा जोड दिएको छ। विशेष गरी महिलाहरूलाई वित्तीय पहुँचमा ल्याउनुमा चन्दननाथको भूमिका निकै उल्लेखनीय छ।

कुल सदस्यमध्ये १९ हजार महिला रहेका छन्, जसले यो संस्थालाई लैंगिक समानताको क्षेत्रमा पनि अग्रणी बनाएको छ। “हामीले महिलालाई केवल उपभोक्ता मात्र होइन, उत्पादक र निर्णयकर्ता बनाउन खोजेका छौं,” सहकारीका व्यवस्थापक रिसिराम पाण्डे भन्छन्, जसले विगत लामो समयदेखि यो संस्थाको नेतृत्व गरिरहेका छन्।

उनका अनुसार चन्दननाथको सफलताको मुख्य आधार भनेको यसले स्थानीय रैथाने उत्पादनहरूलाई प्राथमिकता दिनु र तिनको बजार व्यवस्थापन गर्नु हो। जुम्ला, सुर्खेत र काठमाडौंमा सञ्चालित अर्गानिक मिनि मार्केटहरूले वार्षिक रूपमा ८ देखि १० करोड रूपैयाँभन्दा बढीको कृषि वस्तु विक्री गरिरहेका छन्।

सहकारीको आर्थिक कारोबार मात्र नगरी स्थानीय किसानहरूको मेहनत र परम्परागत ज्ञानलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास हो। “हामीले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर उत्पादनशील क्षेत्रमा लगानी गरेका छौं, र त्यसले समुदायको जीवनमा ठूलो परिवर्तन ल्याएको छ,” पाण्डेले थपे।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतका अनुसार चन्दननाथले गरेका पृथक कामहरू—जस्तै वस्तु किनेर पैसा बचत गरिदिने योजना, उत्पादन बजारीकरण र वित्तीय साक्षरता अभियान—यसलाई कर्णालीकै उत्कृष्ट बनाउनुको प्रमुख कारण हुन्।

“देशमा सहकारी ठगीका घटना बढिरहेका बेला चन्दननाथजस्ता संस्थाले विश्वास र पारदर्शिताको नमूना प्रस्तुत गरेका छन्,” बस्नेतले भने।

सहकारी व्यवस्थापक पाण्डेले थपे, “यो सफलताले चन्दननाथलाई केवल पुरस्कारभन्दा बाहिर पनि एक जिम्मेवारी थपेको छ। हाम्रो कर्मको मूल्यांकन भयो, तर यो पुरस्कारले हामीलाई अझ प्रभावकारी र नवीन काम गर्न प्रेरित गरेको छ।”

६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को मूल समारोहमा यो पुरस्कार घोषणा गरिएको हो, जुन अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिनेछ। चन्दननाथको कथा केवल एक संस्थाको सफलताका साथै कर्णालीको सम्भावनालाई उजागर गर्ने र समुदायलाई सशक्त बनाउने एक प्रेरणादायी नमूना हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार