स्मरण रहोस्, ९ अर्ब घाटामा डुबेको नेपाल विद्युत् प्राधिकरणलाई डेढ अर्ब नाफामा पुर्याउने कुलमान नै हुन्। २०१५/१६ मा प्राधिकरणको वार्षिक आम्दानी ३५ अर्ब ७२ करोड थियो। गत आर्थिक वर्षमा त्यो बढेर ७४ अर्ब ३० करोड पुग्यो—४ वर्षमा ११५ प्रतिशतले वृद्धि। यो कुनै जादु होइन, कुलमानको नेतृत्व र इच्छाशक्तिको परिणाम हो।
प्रिय भ्रष्टाचारका महारथीहरू, कुलमान घिसिङको नाम सुन्नासाथ तपाईंहरूको जिउ किन सिरिंग हुन्छ? मुटु किन थर्किन्छ? कलेजो कठालोमा किन अड्किन्छ? लोडसेडिङको अन्धकार हटाएर उज्यालो ल्याउँदा तपाईंहरूको छातीमा धड्कन किन बढ्छ? पसिना किन छुट्छ?
कुलमानले त तपाईंहरूको आलिशान महल खोसेनन्, विदेशमा लुकाएको कालोधनमा हात हालेनन्। उनले त केवल तपाईंहरूको लोडसेडिङको धन्दा भत्काइदिए, देशलाई उज्यालो दिए। बस्, यति कुराले तपाईंहरूको सातोपुत्लो किन उड्छ?
प्रधानमन्त्रीज्यूले कुलमानलाई फेरि नियुक्त गर्छन् कि गर्दैनन्, त्यो त भविष्यको गर्भमै छ। तर, “डिभोर्सको कागजमा सही गर्नुअघि श्रीमतीले अर्को प्रेमी भेट्टाइन्” भनेझैं तपाईंहरूको मन थर्किनु स्वाभाविकै हो।
कुलमानको नाम सुन्दा तपाईंहरूको अनुहारमा डरको रेखा किन कोरिन्छ? उनी फर्किए भने फेरि उज्यालोको बाढी आउँछ, अनि तपाईंहरूको अन्धकारको व्यापार चौपट हुन्छ भन्ने डर होला।
प्रधानमन्त्रीज्यू, तपाईंको छाती सगरमाथाजस्तो फराकिलो हुनुपर्ने हो, तर भ्यागुताको फोक्सोजस्तो फुल्छ-सुक्छ। कुलमान चाहिँदैन भन्नुभयो भने देशमा बत्ती निभ्छ र? कुलमान नहुनु देशको दुर्भाग्य होला, तर तपाईंहरूको दुर्भाग्य त उज्यालो नै हो!
कुलमानको ‘अपराध’ के थियो त? उनी झापाली थिएनन्, चाकरी गर्न जान्दैनथे, ‘मिटर ब्याक’ गरेर बिजुलीको बिल घटाउने खेलमा सामेल भएनन्। उनी काम गर्थे—हो, यही नै उनको सबैभन्दा ठूलो गल्ती थियो! यहाँ पद काम हेरेर होइन, नाम र गुट हेरेर बाँडिन्छ।
ओलीको ताली बजाउने, उखान-टुक्कामा ‘गललल’ हाँस्ने र झापाको ठेगाना नभएपछि योग्यताको प्रमाणपत्र आगोमा हालिन्छ। कुलमानले त देशलाई उज्यालो दिएर आफ्नो योग्यता प्रमाणित गरिसके, तर यहाँ योग्यता भन्दा ठूलो कुरा गुटको गोटी बन्नु हो।
प्रधानमन्त्रीज्यूलाई लाग्छ, उनको गुटबाहेक जनता कोही होइनन्। जनता बन्न झापाली हुनुपर्छ, उखान-टुक्का जान्नुपर्छ, जस्तोसुकै भाषणमा पनि ‘गललल’ हाँसेर ताली पिट्नुपर्छ। ओलीको राजमा जनता बन्न यति धेरै प्रक्रिया पूरा गर्नुपर्छ कि जोसुकैले सक्दैन।
तर, कुलमान फेरि चाहिन्छ भन्ने आवाज जनताले नै उठाएका छन्। यो कुनै गुटको माग होइन, सडक र सामाजिक सञ्जालमा गुञ्जिएको जनताको आवाज हो। जनताले कुलमानलाई फर्काउन माग गरेका छन्, किनकि उनी गुटको होइन, कामको मान्छे हुन्।
स्मरण रहोस्, ९ अर्ब घाटामा डुबेको नेपाल विद्युत् प्राधिकरणलाई डेढ अर्ब नाफामा पुर्याउने कुलमान नै हुन्। २०१५/१६ मा प्राधिकरणको वार्षिक आम्दानी ३५ अर्ब ७२ करोड थियो। गत आर्थिक वर्षमा त्यो बढेर ७४ अर्ब ३० करोड पुग्यो—४ वर्षमा ११५ प्रतिशतले वृद्धि। यो कुनै जादु होइन, कुलमानको नेतृत्व र इच्छाशक्तिको परिणाम हो।
२०७३ भदौ २९ मा उनी कार्यकारी निर्देशक बन्दा देश १४ घण्टा अन्धकारमा डुब्थ्यो। घर-घरमा लोडसेडिङको तालिका टाँसिन्थ्यो। बत्ती आउँदा बच्चाहरू ताली बजाउँथे, बूढापाकाहरू आश्चर्य मान्थे। त्यतिबेला जडित क्षमता जम्मा ८०० मेगावाट थियो। अहिले १४०० मेगावाट पुगेको छ र लोडसेडिङ गएको ३ वर्ष भइसक्यो। यो परिवर्तन सामान्य संयोगले भएको हो र?
कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो मात्र दिएनन्, प्राधिकरणको चुहावट नियन्त्रण गरे, बिजुलीको दुरुपयोग रोके र जनतालाई राहत दिए। तर, यो उज्यालो अन्धकारमा रमाउने दलालहरूलाई किन पचेन? किनकि उनीहरूको कमाइको बाटो बन्द भयो।
लोडसेडिङको बहानामा जेनेरेटर बेच्ने, इन्भर्टरको व्यापार चलाउने र बिजुलीको कालोबजारी गर्नेहरूको धन्दा कुलमानले ध्वस्त पारिदिए। यही कारण उनीप्रति यति रिस छ, यति आक्रोश छ। तर, प्रश्न यो हो—कुलमान मन नपरे पनि उज्यालो त मन पर्छ होला, हैन?
आज जनताले कुलमानलाई फेरि मागिरहेका छन्। यो माग कुनै राजनीतिक दलको होइन, न त कुनै गुटको स्वार्थ हो। यो त त्यो जनताको आवाज हो, जसले अन्धकारमा बत्तीको उज्यालो देख्यो, जसले लोडसेडिङको तालिका फालेर राहतको सास फेर्यो।
कुलमानको योगदान तथ्यांकमा मात्र होइन, जनताको मनमा लेखिएको छ। उनले देशलाई उज्यालो दिए, तर उज्यालोको यो यात्रा अधुरो छ। बिजुलीको उत्पादन बढाउन, चुहावट रोक्न र प्राधिकरणलाई थप बलियो बनाउन उनको नेतृत्व फेरि चाहिएको छ।
प्रधानमन्त्रीज्यू, तपाईंको गुटको हिसाबले कुलमान अयोग्य होलान्। तर, देशको हिसाबले उनी अपरिहार्य छन्। तपाईंले कुलमानलाई हटाएर आफ्नो गुटको मान्छे ल्याउनुभयो भने देश फेरि अन्धकारतिर धकेलिन्छ कि भन्ने डर जनतालाई छ।
कुलमानको ठाउँमा अर्को सक्षम नेतृत्व ल्याउन सक्नुहुन्छ भने ल्याउनुहोस्, हामी स्वागत गर्छौं। तर, यदि यो निर्णय गुटको अहंकार र झापाली पहिचानको आधारमा मात्र हुन्छ भने जनताले माफी दिँदैनन्।
अन्तमा, एउटा कुरा स्पष्ट छ, कुलमान घिसिङ व्यक्तिगत रूपमा कोही होइनन्, उनी एउटा प्रतीक हुन्। उज्यालोको प्रतीक, कामको प्रतीक, इमानदारीको प्रतीक।
उनलाई मन नपराउनेहरूले उज्यालोलाई पनि मन नपराउलान् भन्न सकिँदैन। किनकि, अन्धकारमा रमाउनेहरूलाई उज्यालोको महत्व कहाँ थाहा हुन्छ र?
एक व्यंग्यात्मक दमाई