शुक्रबार, २९ फाल्गुन, २०८२

सशक्त विचार बोकेको युग सुहाउँदो पुस्तक

आज हामीले जतिनै देश सफल भएको दाबी गरे पनि, जति नै समृद्धिको नारा फलाके पनि जति नै सेमिनार गोष्ठीबाट सम्पन्नताको डाटाहरु निकाले पनि यथार्थता केहो? भन्ने कुरामा पनि यस पुस्तकले जबर्जस्त खोतल्न खोजेको छ।

अमेरिकाको कार्लिफोनिया लस एन्जल्स आगोको राप र तापमा दनदनी जलिरहेको बेला हावाको झुक्काले सकेसम्म खरानी पनि उडाइरहेको छ। मानव जातिले फड्को मारेको पहिलो आविष्कार आगोले कार्लिफोनिया जलिरहेको दिनमा म प्रकाश विकल्पले लेखेको पुस्तक आर्टिफिसियल इन्टेलिजेन्सबारे केही कुरा लेख्न गइरहेको छु।

पुस्तक बजारमा आएको समय भन्दा धेरै ढिला हातमा पर्‍यो। पढ्दा एक छिन् नछोडी पाढिरहुँ जस्तो लागे पनि केही साता लगाएर पढेँ। मैले पढेर मात्रै हुँदैन यस बारेमा केही लेख्दै थप अरुले पनि पढ्नु पर्छ भनेर अहिले पुस्तक अन्यत्र पनि साथीहरुको घरदैलो गर्दैछ।

कन्दमूल खाएर गुजारा गर्ने हाम्रो पुर्खा क्रमशः कसरी विकसित हुँदै आज मानव सभ्यता “आर्टिफिसियल इन्टेलिजेन्स” को युगमा दौडिरहेको छ। यो बौद्धिकताको युगसम्म हामी कसरी आइपुग्यौ? यसरी अगाडि बढिरहेको हाम्रो सभ्यता भविष्यमा कता जाँदैछ? १३.८ अर्ब वर्ष पहिलेको बिग ब्याङ (महाविस्फोट) देखि आजसम्मको प्राकृतिक, मानवीय र वैज्ञानिक विकासको इतिहास र प्रक्रिया के हो? भन्ने वैज्ञानिक दृष्टिकोण, मानव विकासक्रमको ऐतिहासिक तथ्य, तर्क सहित विभिन्न प्रमाणहरु पेश गर्दै लेखिएको छ।

तपाईं जति ठूलो प्रश्न गर्न सक्नुहुन्छ त्यति नै ठूलो मान्छे बन्नुहुन्छ भन्ने लेखकको भनाइलाई सापटी लिंदै यो पुस्तक पढ्न शुरू गर्दा तपाईं जे जस्तो अवस्थामा हुनुहुन्छ पढेर सकिँदा आफूलाई पहिलेभन्दा फरक मान्छे पाउनुहुनेछ। त्यसका लागि किताबलाई तपाईं हामी सबैले आजैदेखि खोजीखोजी पढौं। पुस्तक सबैका लागि उपयोगी हुनेमा म एक पाठकको हैसियतले पूर्ण विश्वस्त छु र दिलाउन चाहान्छु।

यस पुस्तकमा हाम्रो आदिम समाज जंगली युग वा ओडारयुग देखि आर्टिफिसियल इन्टेलिजेन्स सम्मका विषयवस्तुहरु समेटिएका छन्। मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस कृतिमा मानव समाजको वैज्ञानिक विकासक्रम सम्मका कुराको सबिस्तार चर्चा गरिएको छ। समाज, राजनीति, मान्छे, मान्छेले विकास गरेका धर्म संस्कार, पर्था, परम्परा, विज्ञान प्रविधि हुँदै अहिलेको विज्ञान प्रधानतासम्म मानव जाती कसरी आइपुग्यो? अझ कहाँ सम्म पुग्ने हो? भनी गरेको शृङ्खलाबद्ध लेखकीय शील्पले जोसुकै पाठकलाई पढ्नमा उत्साह जगाउने छ। म आफै पनि राजनीतिक कार्यकर्ता भएकोले मैले बढी भन्दा बढी राजनीति केन्द्रित अध्यनलाई अलि बढी महत्त्व दिदै त्यही कोणबाट लेख्ने जमर्को गरेको छु। आज भोलि नेपाली समाजमा ठिक र साँचो विश्लेषण हराउँदै गएको छ। हरेक क्षेत्रमा भिडतन्त्र, छाडातन्त्र हाबी भैरहेको छ। राजनीतिक दलहरूमा विचार सिद्धान्तको राजनीति हराउँदै गएको छ। विकास र समृद्धिको नारा फलाके पनि, समाजवादी व्यवस्थामा जाने भने पनि कसरी जाने? न लक्ष्य देखिन्छ न त सोही अनुसारको कर्म देखिन्छ। ठिक यहि समयमा लेखकले केही गज्जबका प्रश्नहरु आम रुपमा उठाएका छन्।

नागरिकहरुमा वैज्ञानिक दृष्टिकोण एवम् चेतना भएन भने के हुन्छ? हाम्रो समाज राजनीति, अर्थनीति, हाम्रो पुस्ता खासगरी युवा पुस्ता कहाँ जान्छ? के गर्छ? अबको राजनीतिक एजेण्डा कस्तो हुनुपर्छ? अबको २० वर्षभित्र नेपालको आफ्नै स्पेस स्टेशन हुन्छ?

१० वर्षभित्र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने वैज्ञानिक उत्पादन गर्नेजस्ता भिजन चाहिन्छ। त्यो जनशक्ति हामीले उत्पादन गर्न सक्छौं? तपाईँ जति ठूलो प्रश्न गर्न सक्नुहुन्छ। त्यति नै ठूलो मान्छे बन्नुहुन्छ’ जस्ता सवालले मलाई थप रुचि जगायो पुस्तक नहेरी बस्न नै दिएन।

आज हामीले जतिनै देश सफल भएको दाबी गरे पनि, जति नै समृद्धिको नारा फलाके पनि जति नै सेमिनार गोष्ठीबाट सम्पन्नताको डाटाहरु निकाले पनि यथार्थता केहो? भन्ने कुरामा पनि यस पुस्तकले जबर्जस्त खोतल्न खोजेको छ। हाम्रो वर्तमान आँखा ओरिपोरी आउने गरि लेखिएको छ।

पुस्तकमा व्यंग्य पनि छ। लेखकले हाम्रो राज्य सत्तालाई सफल कसरी भइन्छ भन्दै थपेका छन्, “जुन देशमा मान्छे बस्न चाहँदैनन्। जुन देशमा मान्छेले आफ्नो सन्तानको भविष्य देख्दैनन्। जुन देशको राजनीति र राज्यप्रति नागरिकमा आशा-भरोसा र विश्वास छैन त्यो असफल देश हो। अब हामी सफल कि असफल? हाम्रो यथार्थता यहि हो।”

लेखकले चेतनाको सन्दर्भमा पनि केही सवाल उठाएका छन्। वैज्ञानिक चेतना भनेको के हो? वैज्ञानिक चेतना निर्माण कसरी गर्ने? धर्म भनेको के हो? धर्मले समाजको गति र उन्नतिलाई कसरी अवरोध गरेको छ? परिवर्तनलाई कसरी बुझ्ने ? परिवर्तनकारी आन्दोलनका योद्धाहरुलाई कसरी बुझ्ने? हाम्रो मस्तिष्कको क्षमता कति छ? त्यसको प्रयोग र उपयोग कसरी गर्ने? मानव समाज ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म कसरी आइपुग्यो? युद्धलाई कसरी बुझ्ने? विश्वमा कति युद्धहरु भए? हाम्रो समाज किन पछाडि पर्‍यो? हाम्रो समाजको उन्नति र गतिलाई के ले, क-कसले अवरोध गरेको छ? अबको बाटो के? यी र यस्ता कयौँ प्रश्नहरुको जवाफ वैज्ञानिक तथ्य प्रस्तुत गर्दै दिएका छन्।

विश्वमा बढ्दै गएको वैचारिक संकट, वैचारिक प्रतिष्पर्धा हराउँदै जानुका साथै पढ्ने संस्कार समेत हराउँदै गएको समयमा असाध्यै मेहनत गरेर खोजमुलक, ज्ञानबर्द्धक र वैज्ञानिक तवरले हरेक सवालको बुझ्नेगरी सरल व्याख्या छ पुस्तकमा। जस कारणले पनि यो पुस्तक अहिलेको पुस्ताले पढ्नैपर्ने मैले महशुस गरेको छु।

नेपाली राजनीतिको गति के हो? कहाँसम्म अगाडि बढ्छ? दल र नेताहरुको समझदारी त्यसको कुनै ठेगान छैन। त्यसो हुनुको कारण केहो? त्यस प्रकारका गतिविधिबाट कसरी छुटकारा पाउँछन् आम जनताले? भन्ने सवालको जवाफ पनि सानदार तरिकाले सटिक रुपमा स्पष्ट पारिएको छ।

वर्तमान राजनीतिक प्रणाली र मुलुक यस प्रकारको संरचनाबाट पार लाग्दैन। वैज्ञानिक तवरले पुस्तान्तरण हुँदै जाँदा मात्रै समग्र मुलुकको विकास सम्भव छ। तर यहिँनेर भने स्वयंलेखकले निकासको प्रक्रिया चाहिँ के हुने भनी स्पष्टता पार्न लेखक चुकेको महसुस भयो। आगामी संस्करणमा भने यी कुराहरूको जवाफ आउनेमा आशावादी छु।

तथापि यतिचाहिँ भन्नैपर्छ वैचारिकी, सैद्धान्तिक लगायत समग्र रूपमा विकासका लागि चाहिने न्युनतम कुराहरूमाथि बहस, विश्लेषण र विमर्श नभइरहेको बेला यो पुस्तकले जुन प्रश्नहरु तेर्स्यायो त्यो सानो र सामान्य विषय चाहिँ पक्कै होइन। यो पुस्तकले तेर्स्याएका एक/एक प्रश्नहरु सवालहरु र विषयहरु माथि बहस, विश्लेषण र विमर्श गर्दै सुझबुझ ढंगले अगाडि बढ्ने हो। हामीले भन्ने गरेको देशको विकास सम्भव छ। समृद्धि हाम्रै पालामा आउँछ जस्तो लाग्छ। अत: यो पुस्तक, पुस्तक मात्रै नभई विचार बनेको छ, चेतना छरेको छ।

तसर्थ पुस्तक पढ्नका लागि मात्रै होइन, मनन् गर्नका लागि पनि आवश्यक छ। मनन् गरेर मात्रै पनि पुग्दैन त्यसलाई व्यवहारमा बदल्न जरुरी छ। व्यवहारमा बदल्ने मात्रै होइन रुपान्तरणको अगुवाई पनि आफैले गर्नुपर्छ। लेखकलाई साधुवाद।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार