बिहीबार, १७ बैशाख, २०८३

चन्दननाथका सामुदायिक विद्यालय सुधारका केही उपाय?

सार्वजनिक शिक्षा -१

तालिमको कमीले शिक्षणको प्रभावकारितामा ठूलो असर पार्छ। त्यसैले, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिमको व्यवस्था अनिवार्य छ।

देशमा शिक्षालाई परिवर्तनको आधार मानिन्छ। शिक्षा भनेको केवल ज्ञान आर्जनको माध्यम मात्र होइन, समाजको प्रगतिलाई अगाडि बढाउने सशक्त औजार पनि हो।

यसै सन्दर्भमा सामुदायिक विद्यालयहरूले धेरै लामो समयदेखि हाम्रो शिक्षाको मेरुदण्डको काम गरेका छन्। तर, वर्तमान समयमा सामुदायिक विद्यालयहरू अपेक्षित नतिजा दिन नसकेको गुनासो आम छ।

चन्दननाथ नगरपालिकाको शिक्षा समितिले विद्यालयहरूको अवस्था बुझ्न अनुगमन गरेपछि केही सुधारका उपायहरूका विषयमा गहिरो छलफल र विश्लेषण गर्न जरुरी भएको छ। सबैभन्दा पहिलो सुधार विद्यालयहरूको भौगोलिक र प्रासंगिक पुनर्संरचनाबाट सुरु हुनुपर्छ।

हाम्रो नगरमा कतिपय स्थानमा विद्यालयको संख्या आवश्यकता भन्दा धेरै छ भने कतिपय ठाउँमा पायक पर्ने विद्यालयसमेत छैनन्। अनावश्यक रूपमा रहेका विद्यालयहरूलाई मर्ज गर्ने नीति अपनाउनुपर्छ।

यसले सीमित स्रोतसाधनको सही उपयोग मात्र गर्दैन, विद्यार्थी र शिक्षक दुबैका लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्छ। हरेक स्थानमा विद्यालय हुनुपर्छ भन्ने सोचाइलाई विद्यार्थीको आवश्यकता र नगरको सामर्थ्यका आधारमा पुनःमूल्याङ्कन गरिनुपर्छ।

शिक्षकहरूको दक्षता र ज्ञान अद्यावधिक गर्नु अर्को महत्त्वपूर्ण कदम हो। धेरैजसो शिक्षकहरूले आफ्नो विषयसँग सम्बन्धित नयाँ प्रविधि, शिक्षण विधि र पाठ्यक्रमबारे पर्याप्त ज्ञान लिएका छैनन्।

तालिमको कमीले शिक्षणको प्रभावकारितामा ठूलो असर पार्छ। त्यसैले, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिमको व्यवस्था अनिवार्य छ।

विषयगत र शैक्षिक सुधारका लागि आधुनिक शिक्षण प्रविधिहरूको ज्ञान दिँदा शिक्षकको आत्मविश्वास बढ्नेछ, जसले विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउनेछ।

नगरपालिकाको शिक्षा शाखा शिक्षाको व्यवस्थापन र सुधारमा केन्द्रित प्रमुख निकाय हो। तर, यहाँ दक्ष जनशक्तिको अभावले गर्दा धेरै काम प्रभावकारी रूपमा सम्पन्न हुन सकेका छैनन्।

नगरपालिकामा थप दक्ष र जिम्मेवार कर्मचारी नियुक्त गरेर यसलाई चुस्त, दुरुस्त र दिगो बनाउनुपर्छ। समयमै योजना बनाउन र कार्यान्वयन गर्न सक्ने गतिशील शिक्षा शाखा नगरको समग्र शैक्षिक प्रगतिको लागि अपरिहार्य छ।

सामुदायिक विद्यालयका भौतिक संरचनाहरूको अवस्था पनि गम्भीर चिन्ताको विषय हो। धेरै विद्यालयहरू जिर्ण अवस्थामा छन्।

यस्ता संरचनाहरूले विद्यार्थी र शिक्षकहरूलाई दैनिक रूपमा जोखिमपूर्ण अवस्थामा राखेको छ। सुरक्षित र शिक्षण अनुकूल वातावरणको लागि जिर्ण संरचनाको पुनर्निर्माण गर्नुपर्छ।

कतिपय अवस्थामा रेट्रोफिटिङ (पुराना संरचनाको मजबुतिकरण) पनि पर्याप्त हुन्छ। यो काम तत्काल सुरु गरेर शिक्षण–सिकाइमा सहजता ल्याउन सकिन्छ।

शिक्षकहरूको व्यवस्थापन पनि सुधारको अर्को प्रमुख पक्ष हो। एउटै विद्यालयमा शिक्षकहरूलाई लामो समयसम्म राख्दा व्यवस्थापनमा चुनौती उत्पन्न हुन्छ र शिक्षकहरूको कार्यक्षमतामा कमी आउन सक्छ।

यस समस्यालाई समाधान गर्न शिक्षकहरूलाई पाँच वर्ष पुगेपछि स्थानान्तरण गर्ने नीति लागू गर्नुपर्छ। स्थानान्तरणले शिक्षकहरूलाई नयाँ वातावरणमा आफूलाई प्रमाणित गर्ने अवसर दिन्छ, जसले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा योगदान पुर्‍याउँछ।

सामुदायिक विद्यालय सुधारका लागि अर्को महत्वपूर्ण कदम भनेको शिक्षकहरूको मूल्याङ्कन र व्यवस्थापन हो। निजी विद्यालयहरूले देखाउने प्रतिस्पर्धात्मक गुणस्तरलाई सामुदायिक विद्यालयहरूले पनि आत्मसात् गर्नुपर्छ।

यसका लागि शिक्षकहरूलाई पुरस्कार र दण्डको नीति अपनाउनु आवश्यक छ। उत्कृष्ट प्रदर्शन गर्ने शिक्षकहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरिनुपर्छ भने शिक्षण कार्यमा लापरवाही गर्नेहरूलाई सुधारका उपायहरूसँगै आवश्यक चेतावनी दिनुपर्छ।

यसले शिक्षकहरूको उत्तरदायित्व बढाउनुका साथै विद्यार्थीहरूको सिकाइ नतिजामा पनि सकारात्मक प्रभाव पार्छ।

यी सुधारात्मक उपायहरू लागू गर्दा विद्यार्थीको आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने प्रणाली तयार हुन्छ। सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्ने मात्र होइन, समाजमा शिक्षाको पहुँच बढाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छन्।

सामुदायिक विद्यालय सुधार गर्न, शिक्षामा सरोकारवालाहरूको एकमत, नगरपालिकाको सक्रियता र शिक्षकहरूको इच्छाशक्ति एकसाथ काम गर्न जरुरी छ।

सारमा, सामुदायिक विद्यालय सुधार कुनै असम्भव कार्य होइन। योजनाबद्ध प्रयास, स्रोतसाधनको सही व्यवस्थापन र जिम्मेवारीपूर्वक कार्यान्वयनले सामुदायिक विद्यालयहरूलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ।

हाम्रो नगरपालिकाले यस दिशामा गम्भीर प्रयास गर्ने हो भने हाम्रा विद्यालयहरू निजी विद्यालयहरूसँग मात्र होइन, अन्तर्राष्ट्रिय मापदण्डका शिक्षासँग पनि प्रतिस्पर्धा गर्न सक्षम हुनेछन्। यसले हाम्रो नगर र समाजको समग्र विकासलाई गति दिनेछ।

(लेखक रोकाया जुम्लाको चन्दननाथ नगरपालिका अन्तर्गतको शिक्षा समितिका सदस्य हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार