सोमबार, ८ पुष, २०८१

प्रदेश लिगमा नियम उल्लंघनको आरोप : न्याय माग्दै विनायक एकीकृत क्लब

प्रतियोगिताका दुई खेल सुर्खेतमा मात्र संचालन गरिएको र निर्धारित नियम अनुसार ‘होम एण्ड अवे’ फर्म्याट पालना नगरिएको भन्दै क्लबले आपत्ति जनाएको हो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न कर्णाली प्रदेश लिग फुटबल प्रतियोगिता २०८०/२०८१ मा नियम उल्लंघन भएको भन्दै जुम्लाको विनायक एकीकृत क्लबले कडा आपत्ति जनाएको छ।

क्लबका अध्यक्ष नरेन्द्र ब. मल्लले जारी गरेको विज्ञप्तिमा आयोजक कर्णाली प्रदेश फुटबल संघले प्रतियोगिता नियमावलीको उल्लंघन गरेको दाबी गरिएको हो।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा मंसिर २५ देखि २७ गतेसम्म प्रदेश लिग सम्पन्न भएको थियो। प्रतियोगितामा जुम्लाको प्रतिनिधित्व विनायक एकीकृत क्लबले र सुर्खेतको प्रतिनिधित्व कांक्रेबिहार क्लबले गरेका थिए।

प्रतियोगिताका दुई खेल सुर्खेतमा मात्र संचालन गरिएको र निर्धारित नियम अनुसार ‘होम एण्ड अवे’ फर्म्याट पालना नगरिएको भन्दै क्लबले आपत्ति जनाएको हो।

प्रतियोगिताको पहिलो खेल मंसिर २५ गते भएको थियो। जसमा सुर्खेत टोलीले जुम्लालाई २–१ ले पराजित गर्‍यो। दोस्रो खेल मंसिर २७ गते जुम्ला र सुर्खेत बीच सम्पन्न भयो, जसमा जुम्लाले १–० को जित हात पारेको थियो।

यसरी दुई खेलपछि दुबै टोलीको अंक बराबरी भए पनि आयोजकले ‘टाइब्रेकर’ को माध्यमबाट निर्णय लिएको थियो, जुन नियमावलीमा उल्लेख नभएको प्रक्रिया हो।

विनायक एकीकृत क्लबका अनुसार प्रतियोगिताको नियमावलीको नियम ८ ले स्पष्ट रूपमा ‘होम एण्ड अवे’ को अवधारणा राखेको छ। साथै, नियम ११ को ‘४’ अनुसार दुई टोलीबीच अंक बराबरी भएमा ‘क्वाइन टस’ को आधारमा बिजेता टुंगो लगाउनु पर्ने प्रावधान छ।

तर आयोजकले यसलाई वेवास्ता गर्दै प्रतियोगितालाई अपारदर्शी बनाएको आरोप क्लबले लगाएको छ। विज्ञप्तिमा खेल अवधिभर नियम विपरीत निर्णय लिइएको भन्दै क्लबले प्रतियोगिता दौरानमै विरोध पत्र दर्ता गराएको तर त्यसको कुनै आधिकारिक जवाफ नआएको उल्लेख गरिएको छ।

क्लबका अध्यक्ष मल्लले यस विषयमा छानबिन गरी यथाशक्य लिखित जवाफ उपलब्ध गराउन माग गरेका छन्। साथै, न्याय नपाए न्यायालयको सहारा लिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

विनायक एकीकृत क्लबले आयोजक कर्णाली प्रदेश फुटबल संघसँग निष्पक्षता र नियमको पालना गर्दै फुटबल खेलको गरिमा कायम राख्न आग्रह गरेको छ। यस घटनाले कर्णाली प्रदेशको फुटबल विकास र प्रतियोगिताको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार