सोमबार, ८ पुष, २०८१

जीवनमा साथीको जरुरत

ठाउँ बदलिन्छ, परिवेश बदलिन्छ, घर बदलिन्छ, इच्छा बदलिन्छ, जिन्दगी बदलिन्छ, साथी पनि बदलिन्छन्। तर, मेरो मनभित्रको भाव बदलिन सक्दैन्, साथी खोज्ने मेरो मन बदलिन सक्दैन।

हामी जन्मदा एक्लै जन्मन्छौं। जन्म पश्चात समयसँगै हाम्रो शारीरिक विकास र मानसिक विकास हुँदै जान्छ। हामी जन्मिँदा नै केही सम्बन्धहरु हामीसँगै जन्मिएका हुन्छन्।

तर, हामी हुर्किँदै जाँदा केही सम्बन्धहरु बनाउँदै जान्छौं। मानसिक विकास सँगै हाम्रो सोचको पनि विकास हुँदै जान्छ। जब हाम्रो मानसिक विकास हुँदै जान्छ तब हामी एक्लैभन्दा साथीभाइ खोज्न थाल्छौं। साथीभाइसँग रमाउन चाहन्छौं।

भेडा भेडासँग, बाख्रा बाख्रासँग भने झैं एउटा बालकले अर्को बालक नै साथी खोज्छ। आ-आफ्नो उमेर समूह अनुसार साथी बनाउने मानवको सोच हुन्छ।

मेरी पाँच वर्षको छोरी स्कुल गएर घर फर्किन्छन् अनि कक्षाका सबै कुरा सुनाउन थाल्छिन्। साथीहरूको बयान गर्छिन्। जब छोरीले मेरो एउटा साथी, अर्को साथी, मेरो फलना साथी भन्दै कुरा सुनाउदै जाँदा म सोच्ने गर्छु, मलाई त आज साथीभाइको महत्व छ। तर, यी पाँच वर्षकी छोरीलाई केको साथीभाइ भन्ने लाग्छ।

छोरीले पनि साथी-साथी भनिरहँदा लाग्छ, भोकालाई खाना, नाङ्गालाई नाना बच्चालाई खेलौना खोज्ने उमेरमा तर साथी-साथी भन्छिन्। यसो सोच्छु आखिर साथीको महत्व मेरो उमेरमा मात्र होइन बाल्यकालदेखि नै हुने रहेछ। अनि त पाँच वर्षकी छोरीले साथी–साथी भन्छिन्।

जन्मपछि बनाइएका सम्बन्धहरुले जीवनमा रस भरिदिने गर्छन्। जुन सम्बन्धलाई हामी साथी या मित्रता भन्छौं त्यो हुँदैनथ्यो भने साँच्चै नै जीवन कति उराठ र निरश हुन्थ्यो होला! कल्पना पनि गर्न सकिन्न, साथीसँगको सम्बन्ध कस्तो होला है! अनि किन चाहिन्छ साथी! आज यसै विषयमा चर्चा गर्न मन लाग्यो।

साथी बनाउन कसैले सिकाउनु पर्दैन। बाल्यकालदेखि नै साथी बनाउने सीपको विकास हुने रहेछ। साथीको सम्बन्ध यस्तो सम्बन्ध हो जो नभए पनि चल्छ, तर जो नभई पनि हुन्न। यो सम्बन्ध नै गज्जब हुन्छ।

जीवनमा मैले कति साथी कुन- कुन क्षणमा बनाएँ होला एकपटक सोच्ने गर्छु! अनि मेरा साथी कति छन् सम्झिने गर्छु! वास्तवमा मैले साथी धेरै नै बनाएँ होला, जीवनमा बनाउन सजिलो सम्बन्ध पनि साथी नै हो जस्तो लाग्छ।

मलाई बच्चा बेलामा खेल्ने साथी, गाउँका साथी, स्कुल पढ्दाका साथी, कलेज पढ्दाका साथी, जागिर गर्दाका साथी, ठाउँ पिच्छेका साथी, माहोल पिच्छेका नयाँ ठाउँका साथी, स्कुल बदलिए नयाँ साथी, कलेज बदलिए नयाँ साथी, अफिस फेरियो नयाँ साथी, बसमा सवारी गर्दा साथी, यात्रामा साथी। व्यवसायमा साझेदारीका साथी, देश-विदेश सबैतिर साथी, विचारका साथी, राजनीतिका साथी, कम्युनिष्ट साथी, प्रजातान्त्रिक साथी, साथीको साथी यसरी हामीले जीवनमा हरेक पलमा साथी बनाउने गर्दछौं।

कुनै साथीको सम्बन्ध निरन्तर हुने गर्दछ भने कुनै साथी ठाउँ वस्तु परिवर्तन सँगै परिवर्तन हुने गर्दछ। सबैभन्दा सजिलै बन्ने र सबैभन्दा सजिलै भत्किने साथीको सम्बन्ध नै होला। केही साथी मनका हुन्छन् भने केही साथी धनका हुन्छन्। जो धन सकिएपछि साथीको सम्बन्ध पनि सकिन्छ।

केही साथी नजिकै हुन्छन्। केही साथी दैनिक जसो भेटिन्छन्। केही साथी सम्झनामा मात्र छन्। केही साथीले मलाई सम्झिरहन्छन् होला, मैले केहिलाई बिर्सिसकेँ होला, कतिलाई मैले सम्झिरहन्छु होला, तर, उनीहरुले बिर्सिसके होलान्।

कोही साथी त्यही बेला बने, त्यही बेला हराए होला। केही साथी अझै बनेका छैनन् होला केही बन्न बाँकी नै छन्, होला। अझ आजकाल त सामाजिक सञ्जालले गर्दा दैनिकजसो साथी बनिरहेका हुन्छन्। कति साथीलाई फेसबुकमा चिनिन्छ। साथीभाइको महत्व नभएको भए यसको विकास पनि हुने थिएन होला। त्यसैले पनि साथीको महत्व अत्यन्तै धेरै छ।

दुई तीन वर्षका बालबालिका स्कुल जान्छन् के को आशमा? अवश्य पनि साथीको आशमा र खेल्नको लागि। दुई तीन वर्षका बालबालिकाले के पढ्छन् होला, स्कुलमा? तर साथीसँग खेल्न पाउँदा बा-आमालाई सजिलै भुल्छन्।

म आफै पनि बाल्यकालको सम्झना गर्छु, साथीसँग खेलेका दिन अनि त्यो रमाइलो पल। पेटमा भोक लागेको पनि थाहा हुँदैन थियो। साथीसँग लुकामारी खेल्दा होस् या टोपी खेल कुर्सी खेल, सात ढुङ्गी खेल्दा होस् या ढाल्ला खेल्दा। न तातो घामको पर्वाह न भोकको कुनै चिन्ता, बस् साथीसँगको खेलाई घरबाट बुबाआमाले गाली गर्दा पनि वास्ता हुँदैन थियो।

जीवनको सुनौलो अवसर कुन क्षण होला भनेर धेरै जसोलाई सोध्यो भने अवश्य पनि सबैको मुखार बिन्दुबाट स्कुलले जीवन नै भन्ने आउँछ होला। किनकि त्यो समय साथीभाइसँगको थियो। साथी बिनाको स्कुल जीवन, कलेज जीवन म कल्पना पनि गर्न सक्दैनँ। ठाउँ बदलिन्छ, परिवेश बदलिन्छ, घर बदलिन्छ, इच्छा बदलिन्छ, जिन्दगी बदलिन्छ, साथी पनि बदलिन्छन्। तर, मेरो मनभित्रको भाव बदलिन सक्दैन्, साथी खोज्ने मेरो मन बदलिन सक्दैन।

मानिस जब एक्लो अर्थात कमजोर हुन्छ उसले साथी त्यही बेला खोज्छ। साथीसँगको कुराकानी, हाँसो, ख्याल ठट्टाले मानिसको जीवनमा ऊर्जा ल्याउँछ, आत्मबल बढाउँछ र दुःख-पीडा केही पल भए पनि भुल्ने गर्दछ।

साथी बनाउन न कुनै जातले छेक्छ न कुनै वर्गले। बस् साथी चाहिन्छ। साथी बनाइन्छ। तर पनि मेरो जीवनमा जीवन साथी र सबै शुभेच्छुकहरू मेरालागि पौराणिककालका कृष्ण र कर्ण जस्तै भए। त्यसैको फलस्वरूप आजसम्म म यो अवस्थामा रहेको छु। जस्तो कि कृष्ण जसले युद्ध नलडे पनि जीत सुनिश्चित गर्छन्, जस्तो कि कर्ण जो हार निश्चित भए पनि लड्न छोड्दैनन्।

जीवनमा यस्ता साथी सबैले बनाउन सकियो भने अर्थ रहन्छ र समस्या परेको बेला जुध्नलाई बाटो देखाउँछ। समाधानको निकास निकाल्छ। सुखमा त साथीभाइ सबैले साथ दिन्छन्। तर, दुःखमा साथ कतिले दिन्छन् त्यो थाहा पाउन आफूलाई दुःख आउनुपर्ने रहेछ। आफू नमरि स्वर्ग नै देखिँदैन भनेजस्तै।

अनि त्यतिबेला साथीभाइ चिन्न सकिन्छ। साथी त्यो नहुन सक्छ जो दिनदिनै भेट्छ, कुरा गर्छ, बेलुका भएपछि सँगै खान्छ, पिउँछ, रमाउँछ। साथी त्यो हो जो दिनदिनै नभेटे पनि मेरो सुखी र समृद्ध जीवनको लागि प्रार्थना गर्दछ मेरो दुःखमा सामेल हुन्छ।

भोकलाई खानासँग जोड्छ। समस्यालाई समाधानसँग जोड्छ। दुःखलाई सुखमा परिणत गर्छ। बेचैनीलाई चैनमा परिणत गर्छ। एक्लोपनमा साहारा दिन्छ। रिसलाई शान्तिसँग जोड्छ र परिवारको एक सदस्यसरह रहन्छ। यी साथीमा हुने गुण हुन।

मैले जीवनमा धेरै साथी बनाएँ। तीमध्ये केही साथी मानसपटलमा छन् भने केही साथी मनमा छन्, केही साथी मन र मष्तिस्कबाट हटिसकेका छन्। हरेक मानिसका साथी हुन्छन्। साथी राम्रो नराम्रो भन्ने हुँदैन। विचार सही र गलत भन्ने हुन्छ। सोच र विचारले साथीहरु नजिकिन्छन्, छुट्टीन्छन्, टाढा हुन्छन्।

मानिसले जीवनमा धेरै साथीहरुसँग मित्रता गाँसेको हुन्छ। केही साथी मनमा एक प्रकारले सोच्छन् व्यवहारमा एक प्रकारले सोच्छन्। अनि साथीलाई एक प्रकारले व्यवहार गर्छन्। केही साथीहरुले मुखमा र व्यवहारमा एउटा सम्बन्ध बनाउँछन्। केही साथीको मन, मुख र व्यवहार एकै हुन्छ। साथीको पहिचान आफूले गर्ने हो।

हामीले यसै समाजमा केही साथीहरुले साथीलाई व्यवहारमा धोका दिएका देखेका छौं। कहिल्यै पनि सम्झन नसक्ने खालका मुटु पिरोल्ने साथी पनि देखेका छौं। सधैंका लागि परिवर्तनका बाहक बनी सहयोग गर्ने साथी पनि देखेका छौं। साथीबाट नै धोका पाइन्छ। आफ्नो स्वार्थको लागि साथी बनाएको पाइन्छ।

साथीको सम्बन्ध इतिहासमा अमर भएको पनि पाइन्छ। मलाई लाग्छ वर्षमा ४०-५० जना साथी बनाउनु, ठूलो कुरा भएन तर एउटा साथीसँगको सम्बन्ध ४०-५० वर्षसम्म रहनु जीवनमा ठूलो महत्व रहन्छ। हाम्रो विचार कस्तो छ साथी त्यही प्रकारको हुन्छ।

त्यसैले म भन्छु साथी मनबाट बनाऔं मस्तिष्कबाट होइन। साथी शब्दले आफैमा एउटा अर्थ बोकेको छ। जो हाम्रो नजिक छन्, अर्थात जो हाम्रो साथ छन् तिनै हाम्रा साथी हुन भन्ने बुझिन्छ। साथीको अर्थ जति गहिरो छ त्यति नै उचो साथीको साथको पनि हुन्छ।

मानिसको जीवनका हरेक मोडहरुमा कयौं सम्बन्ध कैयौँ व्यक्तिहरुसँग जोडिएका हुन्छन्। यी सम्बन्धहरु मध्ये पनि साथी एउटा त्यस्तो सम्बन्ध हो जो हामी मन मिले मात्र बनाउँछौ।

साथीको साथित्व र साथ नै एउटा यस्तो निकट सम्बन्ध हो जोसँग खुलेर हामी हरेक कुरा साटासाट गर्न सक्छौं। जसरी दिन र घामको सम्बन्ध हुन्छ, रातसँग जुनको सम्बन्ध हुन्छ त्यसरि नै जीवन र जिन्दगीसँग साथीको सम्बन्ध हुन्छ। जब हामी हाम्रो जीवनका खाली पानामा साथीत्वको रङले पलहरु भर्छौं तब जीवनमा खुसीका बहारहरु उजागर बनाउन सक्छौं।

अर्थात भनौं साथित्वको परिभाषा नै एकदमै विशाल छ। त्यसैले त भन्ने गर्छु उज्यालोमा त सबैले साथ दिन खोज्छन्, तर असल साथी त्यो हो जसले अँध्यारोमा पनि साथ दिन्छ। त्यति मात्रै होइन कसैलाई असहज स्थितिमा साथ देउ, हात दिने, हिम्मत दिने, आशा दिने सबै साथी हुन।

किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ। तर साथीले दिएको साथ र हिम्मत उसको जिन्दगी भर रहिरहन्छ। साथी त्यो हो जसले हाम्रो दु:ख पीडालाई पनि आत्मासाथ गर्न सक्छ।

हाम्रो सफलतामा निस्वार्थ मुस्कान पस्कन सक्छ। जसले अगाडि बढ्ने प्रेरणा बाँड्न सक्छ र जीवनका हरेक पाइलामा साथ दिने निस्वार्थ प्रण गर्न सक्छ। साथी त त्यो हो जसले कठिन परिस्थितिमा पनि सहज तरिकाले त्यो परिस्थिति पार गर्न प्रेरित गर्छ।

प्रगतिमा डाहा गर्ने साथी हुन सक्दैनन्। साथी ती हुन जसले प्रगति पथमा लम्कन उत्प्रेरणा दिन्छन्। विभिन्न परिस्थितिमा निस्कने मनका र जीवनका बोझहरु जब कसैसँग पोखेर भारी मनलाई हल्का बनाउन सकिन्छ तब ती व्यक्तिसँग निकटतम मित्रताको आभास गर्न सकिन्छ।

जब सुख, दु:खका र असफलताका कहानी देखि सफलता तथा सुखका मिठासपूर्ण परिस्थितिसम्म सँगै भैरहेकाले पूर्णमित्रताको महसुस गरिरहेको छु। जीवनका यात्रामा हजारौं व्यक्तिसँग नजिक भइयो तर त्यही मध्ये सयौंसँग छोटो समयमा नै टाढा पनि भइयो र जोसँग भेट पछि निरन्तर वार्तालाप र आफ्ना कुरा आदानप्रदान पनि गरियो त्यहाँ मित्रताको एउटा आभास भएको भेट्छु।

जसले साथित्वको पवित्र सम्बन्धलाई व्यक्तिगत स्वार्थको लागि साथीसँगको भावनात्मक सम्बन्धलाई लात हानेर क्षणिक स्वार्थमा रमाउन खोज्नेहरुले वास्तवमै जीवन बुझेका हुँदैनन् भन्ने लाग्छ मलाई ।

जीवनमा जब मित्रताको प्रेमपूर्ण साथ पाइन्छ तब तपाईंले जीवनका अप्ठ्यारा परिस्थितिमा पनि सहजता महसुस गर्न सकिन्छ। वास्तवमै मैले साथीसँगको साथ निस्वार्थ रुपमा निभाएको पाएको छु।

मेरा वरिपरि असल मित्रहरु भएकाले मलाई जीवनमा अगाडि बढ्न एकदम साथ मिलेको छ। रमाइलो महसुस भएको छ। त्यसैले त म खुशी बन्न सकेको छु। अनि मलाई लाग्छ खुशी भनेकै साथी हुन। त्यसैले त भन्छु प्रकृति मनमोहक हरियालीले, जीवन मनमोहक साथ सहयोगले।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार