सबै कुरा परनिर्भरतामै हुँदाहुँदै म थाकेको छैन। सायद, आशावादी हुनु भनेको यही नै होला। तर यो परनिर्भरताको नायल नदी पनि सुक्ने हो कि भन्ने पीर छ।
जति बेला देखि रोगले छोयो त्यति बेला देखि आजसम्म अस्पताल धाइरहेको छु। के गर्दा होला, कहाँ जादा ठिक हुन्छ? भन्ने लागिरहन्छ, मनमा।
तर मनले आश मानिरहेर मात्रै हुँदैन रहेछ। यो धनको संसारमा मनको केही अर्थ हुँदैन रहेछ। स्वास्थ्य बिनाको संसार बिग्रेको मेसिन जस्तै हुने रहेछ।
जस्तो कि मेसिन पुन: सञ्चालनका निम्ति विज्ञको आवश्यकता पर्दछ र त्यसका लागि स्रोतको पनि सुनिश्चितता हुनुपर्ने हुन्छ। तर मेरा लागि त्यही सम्भव भइदिएन।
भनिन्छ बाबाको कमाई छोरालाई पुग्दैन। फेरि बाबाको मृत्यु मलाई बिमार लाग्नु अघि नै भइसकेको थियो। बाबाको मृत्यु पछिको छ महिना देखि म बिरामी छु।
आफ्नै उपचारका लागि पटक पटक जिल्लामै स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँचका लागि हिँडिरहेँ। अन्ततः एउटा चुहिने भाँडो सावित भयो मेरो शरीर। त्यसो हुनको कारण थियो आवश्यक उपकरण नहुनु। त्यति भन्दैमा उपचार रोक्ने कुरा भएन।
२०७४ बाट पटकपटक विभिन्न सहरका भिन्न भिन्न अस्पताल धाउने क्रम जारी नै छ। यो पैसाको सहरमा पुँजी अनुसारको खुजी बुझि भनेझैँ मेरो क्षमता अनुसारको उपचार पाउने अस्पतालहरूमा धाउने क्रम टुटेको छैन।
मैले आफ्नो घाँटी हेरी हाड निल्नु भने कुरालाई मध्यनजर गर्दै वर्षमा कम्तिमा पनि दुईपटक जिल्ला बाहिर जानै पर्ने बाध्यता भएको छ। खाना खाए पछि नास्ता नखाने, नास्ता खाए पछि खाना नखाने गरेर पनि अवस्था अनुसारको व्यवस्था गरि जिल्लामै स्थापित प्रतिष्ठान देखि जिल्ला बाहिरका केही प्राइभेट र भारतका अस्पतालसम्म पुगेँ।
राज्यको निजीकरणमुखी स्वास्थ्य नीतिका कारण पैसा नभएकाको सुविधा सम्पन्न अस्पतालमा पहुँच हुने कुरै भएन। न म सम्पन्न घर परिवारको सदस्य हुँ न त राज्यमा निःशुल्क स्वास्थ उपचारको बन्दोबस्त नै छ।
म आफै बोटबाट बिरुवासम्म मात्रै भएको छु। रूख बनिनसकेको बेला मेरा लागि सुविधा सम्पन्न अस्पताल भनेका फलामको चिउरा सरि हुने नै भए। अनि कसरी होस काँडो निकाले जस्तै स्वास्थ्यमा फरकपना?
फरक अस्पताल, फरक डाक्टरले लेखेको औषधि खानै पर्ने। अहिले आएर धेरै बिराली मुसा नमारझैँ भइरहेको छ। यता निरन्तर औषधि खाँदा गाँण फाल्न जाँदा फेरि गाँण थपिए जस्तै भएको छ। स्वास्थ्य झनै कमजोर भइरहेको छ।
उता औषधि किन्ने बेला सधेै जसो आर्थिक अवस्थाले पिरोलिरहन्छ। कालो वादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने कुराले होला सायद, मनमा आशा पलाइरहन्छ। मेरो सिकाई नै आशावादी हुनुपर्छ भन्ने विचारबाट भयो।
त्यसैले मलाई सन्चो भएको भए सर्प पनि मर्ने, लौरो पनि न भाँचिने हुने थियो भन्ने लागिरहन्छ। तर त्यहि हुन सकिरहेको छैन। सबै कुरा परनिर्भरतामै हुँदाहुँदै म थाकेको छैन। सायद, आशावादी हुनु भनेको यही नै होला।
सन्चो हुँदैन कि भनेर हार मानेको पनि छैन। झनै दृढ विश्वासका साथ सास रहुनजेल आश भनेर उपचारको बाटोमै निरन्तर हिँडिरहेको छु। तर यो परनिर्भरताको नायल नदी पनि सुक्ने हो कि भन्ने पीर छ।
यो पिरको पिपर अझ अग्लो नभइदेवस भन्ने लाग्छ। समाजमा आशाको दियो बालौंला भनेको मान्छेलाई निराशाको घनघोर जंगलमा फस्नु नपरोस। आशाहरु जिउँदा छन् त म जिउँदो छु।