पाँच हजार मिटरको दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेका उनले आफ्नो रुचिकै क्षेत्रबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वर्ण पदक दिलाए।
बाजुराका लोकमणी बोहरा २० वर्षका भए। बुढीगंगा नगरपालिका -६ नौबिस, सायलका उनी हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ पब्लिक हेल्थ अन्तर्गत बीपीएच दोस्रो वर्षमा अध्ययनरत छन्।
छ जनाको परिवारका सदस्य रहेका उनका दुई दाइ र एक दिदी छन्। घरका कान्छा छोरा उनी अध्ययनका साथसाथै घुमफिर गर्न रुचाउँछन् भने खेल क्षेत्रमा पनि रुचि रहेको बताउँछन्।
उनले भने, ‘म अध्ययनका साथसाथै घुम्न र दौडिन पनि रुचाउँछु। म आफूले सकुन्जेल आफ्नो रुचिको काम गर्नबाट पछि हट्ने छैन।’
भदौ १६ देखि २१ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको अन्तर मेडिकल कलेज स्तरीय खेलकुद प्रतियोगितामा उनले कर्णालीको प्रतिनिधित्व गरेका थिए।
पाँच हजार मिटरको दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेका उनले आफ्नो रुचिकै क्षेत्रबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वर्ण पदक दिलाए।
उनी जस्तै खेलाडीहरुको बलले कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान समग्र खेलकुद प्रतियोगितामा प्रथम हुन पुग्यो।
उनले पाँच हजार मिटरको दूरी २० मिनेटमा पुरा गरेका थिए। आफू अध्ययन गरिरहेको कलेजलाई स्वर्ण पदक दिलाउन पाउँदा खुसीको सिमा नै नरहेको उनको भनाइ छ।
‘पहिलो पटक हाम्रो कलेजले आयोजना गरेको खेलकुद प्रतियोगितामा हामी सबै साथीहरुको लगाव राम्रो भयो। परिणाम हामीले सोचेजस्तो उपलब्धि हाल पार्न सक्यौं,’ उनले भने।
अध्ययनका लागि जुम्ला पुगेका उनले आफ्नो रुचिको क्षेत्र दौडका लागि कुनै तालिम लिएका छैनन्। तर अर्को रुचिकर कामका लागि हिमाली भेगका डाडाकाँडाका दूरी नाप्दै उनलाई तालिम लिएजस्तो भइरहेको छ। त्यसैको फल दिन सकिएको उनी बताउँछन्।
बाजुराको मध्यम वर्गीय परिवारमा जन्मेका लोकमणीका बुबा गोपाल सिंह बोहरा प्राथमिक तहका शिक्षक हुन। घरधन्दामा व्यस्त रहने आमा मनसरा देवी र उनको सिंगो परिवारले उनलाई हौसला दिइरहेको छ।
‘बुबा शिक्षक भएको हुनाले मेरा लागि सानैदेखि राम्रो शैक्षिक वातावरण निर्माण भयो,’ उनले भने, ‘प्लस टु अध्ययन गर्न राजधानी जान पाएँ। आज स्वास्थ्य क्षेत्रको विद्यार्थी भएर कर्णाली आएको छु। यो सबै उहाँहरुको हौसलाले नै हो।’