सोमबार, ८ पुष, २०८१

कविता : क्रान्ति गर्न मन लाग्छ

म मान्छे हुँ
भनेर तिमीलाई
कुन युगसम्म भनिरहनु पर्ने हो ?
तिमीले स्वीकार नगरे पनि
स्वीकार गर्न बाध्य पार्न म छ मलाई

तिमीले हेपेको
तिमीले चेपेको
युगौं युग बितिसकेको छ
अब न हेप्न पाउँछौं
अब न चेप्न पाउँछौं
किनकि म क्रान्ति गर्दैछु ।

तिमीले बनाएका मान्छे मान्छेबीचका
सिमानाहरू र ती सिमानाका खम्बाहरू
भत्काउन मन छ ।

जब-जब जातको नाउको विभेद गरिन्छ
सहनै नसक्ने अपहेलना गरिन्छ
तब-तब मलाई क्रान्ति गर्न मन लाग्छ ।

तिमीले बनाएको जात व्यवस्थाको
पर्खालको विरुद्धमा क्रान्ति गर्न मन लाग्छ ।
तिमीले वर्षौंदेखि
म माथि गरेको कुशासनको विरुद्धमा
क्रान्ति गर्न मन लाग्छ ।

मैले अथक प्रयास गरेर बनाइदिएको घरभित्र
छिर्न नपाउँदा छियाछिया हुन्छु म
मेरो सीप मेरो कलाको अपमान हुँदा
मनभित्र विद्रोहको भाव जन्मिन्छ
अनि क्रान्ति गर्न मन लाग्छ

मैले बनाएको मन्दिर
मैले बनाएको मूर्ति
मलाई छाम्न र पुज्न बन्देज लगाइन्छ
लाग्छ यी अन्धा कानूनका दफा र उपदफाहरु
बनाउने सामन्तीहरुलाई सिध्याइ दिउँजस्तो

जब-जब जातको नाउँमा यहाँ प्रेम मारिन्छ
नवराजहरु मारिन्छन्
सेते दमाईहरु मारिन्छन्
अजित मिजारहरु मारिन्छन्
तब-तब मलाई क्रान्ति गर्न मन लाग्छ

यो युगमा आउँदा पनि
मेरो आत्मसम्मान भएको छैन
मलाई स्वीकार्न तयार छैन यो समाज
जबसम्म यो समाजको आँखाले
छुत र अछुत नदेख्ने हुँदैन
तबसम्म म क्रान्ति गरिरहनेछु
म लडिरहनेछु ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार