मंगलवार, ३ असार, २०८२

तिमी निर्दोष रहेछौ !

मेरो शरीर चितामाथि छ।।
चिताको आगोले मेरो शरीरलाई जलाउन डगमगाइरहेको छ!

आगोले भनिरहेको छ…
“तिम्रो शरीरलाई मेरो रागले जलाएर मुस्लो बनिइरहँदा मेरो आँसुहरू धुवा बनेर आकाशतिर उडिरहेका छन्।”

“तिम्रो छातीलाई मेरो रागले जलाएर पग्लाइरहँदा मेरा हातहरु खरानी भएर बगरतिर बगिरहेका छन्।”

तर तिमी यो आगोभन्दा पनि निर्दयी रहेछौ।
‘तिम्रो हातले मेरो छातीलाई मुसारेर मुस्लो बनाउँदा तिम्रा आँखाहरू रसाएनन्?

तिम्रो शरीरले मेरो अङ्गलाई निचोरेर निलम्ब बनाउँदा तिम्रा हातहरू डगमगाएनन्?
तिमी यो आगोभन्दा पनि निर्दयी रहेछौ!

तर पनि तिमी निर्दोष रहेछौ,
तिमी निर्दोष रहेछौ!
तिमीले त आँखा अगाडिको फूललाई निमुठेर कच्याक कुचुक मात्र पारेको हौ,
दोषि त म रहेछु!
म फूल बनेर नारीको रूपमा यो संसारमा जन्मिएँ,

तिमी निर्दोष रहेछौ!
तिमीले त हरेक नारीमा आफ्नो आमाको स्वरूप देख्न सकेनौ,
दोषी त मेरी आमा रहेछन् !
मेरी आमाको कोखले मलाई छोरी बनाएर जन्माइदियो,

तिमी निर्दोष रहेछौ!
तिमीले त आफ्नो बाबाको संस्कारलाई सम्हाल्न मात्र सकेनौ,
दोषी त मेरा बाबा रहेछन्!
मेरो बाबाको पसिनाले मलाई डाक्टर बनायो,

तिमी निर्दोष रहेछौ, र त यो समयले तिमीलाई खुलेआम घुम्न दियो।
दोषी त म रहेछु, र त यो समयले मलाई संसारबाट समाप्त बनायो।

अहिले म जलिरहेको छु।
मेरो शरीरको स्वरूप हावाको धुवा र बगरको खरानी भएको छ,
र मेरो आत्माले मलाई भनिरहेछ…
“ए हावामा कपुर बिलाए जसरि बिलाएको मान्छे”
एकपटक म गएर सोध्छु नी
त्यो पुरुषोत्तम बोकेको मान्छेलाई
“आखिर किन तिमीले यस्तो गर्‍यौ?,
आखिर केका लागि तिमीले यस्तो गर्‍यौ?”
भनेर सोच्छु नी!

तर मैले मेरो आत्मालाई रोकिरहेछु…
मलाई डर छ कतै तिमीले मेरो आत्मालाई आफ्नो छेउछाउमा देख्यौ भने, तिमीले यो आत्माको पनि बलात्कार गर्नेछौ!
मलाई मेरो आत्मा जोगाउन मन छ।

साँच्ची, मेरो शरीरबाट चिथोरिएको रगत जुन भुइँमा खस्यो नी!
तिम्रो शरीरबाट उत्तेजित भएको पसिना पनि त्यही भुइँमा खस्यो।
अनि तिम्रो पसिनाको हातहरूले मेरो रगतको आँसुहरूलाई पुछ्यो होला? या
तिम्रो पसिनाको हातहरुले मेरो रगतको छातीलाई मुसारेर त्यही गर्‍यो होला? जुन तिमीले मलाई गर्‍यौ।

साँच्ची, मेरो मुखबाट निस्किएको गुहारको आवाज जुन भित्तामा ठोकियो नि!
तिम्रो मुखबाट निस्किएको चेतावनीको बोली पनि त्यही भित्तामा ठोकियो!
अनि तिम्रो चेतावनीको बोलीले मेरो गुहारको आवाजलाई सुमसुम्यायो होला? या
तिम्रो चेतावनीको खुट्टाले मेरो गुहारको शरीरलाई लात हान्दै त्यही गर्‍यो होला?
जुन तिमीले मलाई गर्‍यौ।

साँच्ची मेरो पैतालाको कुर्कुचा छटपटाएर जुन जमिनमा बजारियो नी,
तिम्रा खुट्टाका नङ्ग्राहरू क्रोधित भएर त्यही जमिनमा बजारियो!
अनि तिम्रा नंग्राका हातहरूले मेरो पैतालाको टाउकोमा सिरानीको अडेस बनायो होला? या
तिम्रा नंग्राका औंलाहरूले मेरो पैतालाको घाँटीलाई थिचेर त्यही गर्यो होला?
जुन तिमीले मलाई गर्‍यौ।

अहिले मेरो शरीरको बाँकी रहेको स्वरूप पनि बिलाइ सक्यो,
अहिले मेरो चिता सेलाइसक्यो।
मेरो लासबाट निस्केको धुवा हावासँगै उडिसक्यो।
मेरो चिताबाट निस्किएको खरानी बगरसँगै बगिसक्यो।
मेरो आत्माले पनि शरीर छोडिसक्यो, अहिले मेरो चिता सेलाइसक्यो ।
अहिले म सेलाइसकेँ!!!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार