कर्णाली राजमार्ग अन्तर्गत तिलागुफा क्षेत्रमा भइरहेको सडक मर्मत कार्यसम्बन्धी भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सडक डिभिजन कार्यालय जुम्लाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले सार्वजनिक गरिएका सामग्रीप्रति आपत्ति जनाउँदै निर्माण कार्य तोकिएको मापदण्डअनुसार नै भइरहेको स्पष्ट पारेको छ। कार्यालयका अनुसार उक्त क्षेत्रसहित आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन भइरहेका सम्पूर्ण निर्माण कार्यहरू सडक विभागको ‘सडक तथा पुल निर्माणसम्बन्धी मापदण्ड निर्देशिका’ तथा सम्झौतामा उल्लेखित मापदण्डअनुसार गुणस्तरीय रूपमा अगाडि बढिरहेका छन्।
सडक डिभिजनले सधैं पारदर्शिता र जवाफदेहिताका साथ काम गर्दै आएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण तथा गुणस्तरीय निर्माणप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, कर्णालीको दुर्गम तथा जटिल भौगोलिक अवस्थाबीच पनि प्रभावकारी रूपमा सडक निर्माण तथा मर्मत कार्य सञ्चालन गरी यातायात सेवा सहज बनाउन निरन्तर प्रयास भइरहेको बताइएको छ।

कार्यालयका अनुसार भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी उपचारको विकल्प खुला राखिएको समेत जनाएको छ। साथै, आम नागरिकलाई अपुष्ट तथा भ्रामक सामग्रीमा विश्वास नगर्न आग्रह गरिएको छ।
यसैबीच, निर्माण कम्पनी खड्का निर्माण सेवाले पनि सामाजिक सञ्जालमा फैलाइएको सामग्रीप्रति आपत्ति जनाएको छ।
कम्पनीका अनुसार अलकत्रा बिछ्याएको केही समयमै उक्त सतहलाई उप्काएर भिडियो खिची सामाजिक सञ्जालमा राखेर अनावश्यक भ्रम सिर्जना गरिएको हो। ‘अलकत्रा पूर्ण रूपमा बस्न समय लाग्ने प्रक्रिया हो, तर सोही दिन उप्काएर गलत सन्देश दिइएको छ,’ कम्पनीले जनाएको छ।
सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र तोकिएको गुणस्तर मापदण्डअनुसार नै काम भइरहेको दोहोर्याएका छन्।

















