नेपाली अल्ट्रा धावक राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरेकी छन् । उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को सफलता हात पारेकी हुन् ।
नेपाली महिला ट्रेल रनिङ खेलाडी राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल पावर्ड बाई टिसाइगु अन्तर्गत महिला ६० किमीतर्फ पहिलो स्थान हात पारिन् । उनले निर्धारित दूरी ६ घण्टा ६ मिनेट ५७ सेकेण्डमा पूरा गरेकी हुन् ।
चीनकै टेन ती दोस्रो र लि यिङ तेस्रो भए । राममायाले पहिलो स्थान हात पार्दा खुशी लागेको प्रतिक्रिया दिइन् । ‘मैले जित्दा म एकदमै धेरै खुशी छु ।’ चीनबाट उनले भनिन् । आगामी दिनमा पनि अल्ट्रा रेसमा राम्रो प्रदर्शनलाई निरन्तरता दिने उनको लक्ष्य छ ।
एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता, क्रिस कन्ट्री दौड, रोड रेस हुँदै पछिल्लो समय अल्ट्रा रेसलाई नै निरन्तरता दिएकी राममायाले नयाँ विधामा पनि आफूलाई प्रमाणित गर्दै आएकी हुन् ।
विश्व चर्चित अल्ट्रा धावक दिदी सुनमायाको पदचापलाई पछ्याउँदै अघि बढेकी राममायाले पनि दिदी जस्तै उत्कृष्ट अल्ट्रा धावक बन्ने संकेत देखाइसकेकी छन् ।
गत वर्ष हङकङमा भएको हङकङ १०० अल्ट्रा म्याराथनमा बुढा दिदीबहिनीले दुई फरक विधामा प्रतिस्पर्धा गर्दै उपाधि जितेर कीर्तिमान रचेका थिए ।
















