बिहीबार, २८ जेष्ठ, २०८३

कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य पढ्ने विद्यार्थीहरु काउन्सिल परीक्षामा शतप्रतिशत पास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयको स्नातक तहका विद्यार्थीहरूले नेपाल स्वास्थ्य व्यावसायिक परिषद्को परीक्षामा शतप्रतिशत नतिजा ल्याएका छन्।

महाविद्यालयका सहायक डिन प्रा. डा. सेसानन्द सन्जेलले विगत आठ वर्षदेखि जनस्वास्थ्य तथा सामुदायिक स्वास्थ्य विज्ञान विभागको नेतृत्व गर्दै आएका छन्। उनका अनुसार, निरन्तर मेहनत, अनुभवी शिक्षक र अनुशासित अध्ययनका कारण यो सफलता सम्भव भएको हो।

‘हाम्रो लक्ष्य केवल नतिजा राम्रो ल्याउने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ उनेले भने।

हालसम्म तीन ब्याजका विद्यार्थीहरू उत्तीर्ण भइसकेका छन्। अहिले जनस्वास्थ्य स्नातकोत्तरका दुई ब्याज र जनस्वास्थ्य स्नातक तहको सातौँ ब्याज सञ्चालनमा छन्।

महाविद्यालयमा १० जना अनुभवी प्राध्यापकबाट नियमित पढाइ भइरहेको छ। भविष्यमा विद्यावारिधि (डाक्टरेट) कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइएको सहायक डीन सन्जेलले बताए।

जनस्वास्थ्य महाविद्यालय स्नातक तह चौथो वर्षका संयोजक ओमप्रकाश काफ्लेका अनुसार दुर्गम क्षेत्रमा रहे पनि प्रतिष्ठानले शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा राम्रो प्रगति गरेको छ।

‘यहाँ जनस्वास्थ्य, नर्सिङ, औषधि विज्ञान, चिकित्साशास्त्र स्नातक, चिकित्साशास्त्र स्नातकोत्तरजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्,’ उनले भने।

उनका अनुसार महाविद्यालयले विद्यार्थीलाई रोग नियन्त्रण, प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य नीति, व्यवस्थापन र अनुसन्धान सीपमा दक्ष बनाउने उद्देश्य लिएको छ। साथै, तथ्याङ्क विश्लेषण, परियोजना सञ्चालन र समुदायमा आधारित अध्ययनमा विद्यार्थीलाई सक्रिय बनाइँदै आएको छ।

जनस्वास्थ्य तेस्रो वर्षका विद्यार्थी राजेन्द्र बिष्टले प्रतिष्ठानको पढाइ उत्कृष्ट रहेको बताए। उनले भने, ‘शिक्षकहरूले राम्रोसँग पढाउनुहुन्छ, बुझ्न सजिलो हुन्छ।’

काउन्सिल परिक्षामा पास भएकि अर्की छात्रा आशिका पुनले प्रयोगात्मक शिक्षामा धेरै जोड दिइएको अनुभव सुनाइन्। ‘किताबसँगै व्यवहारिक अभ्यासले हामीलाई आत्मविश्वासी बनाएको छ,’ उनले निन्।

अर्की विद्यार्थी सलिना बस्यालले दक्ष शिक्षकबाट पाएको मार्गदर्शनप्रति आभार व्यक्त गरिन्। विद्यार्थी रवि राईका अनुसार समुदायमा गएर प्रत्यक्ष सेवा गर्ने अवसरले आफूहरू अझ सक्षम बनेका छन्।

प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयका सहप्राध्यापक निशान्त लामा ले विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा बढी जोड दिएको हुँदा विद्यार्थीले राम्रो उपलब्धि हासिल गरिरहेको बताए। उनले भने, ‘नेपालका विभिन्न समुदाय र स्वास्थ्य संस्थामा उनीहरूलाई अभ्यासका लागि पठाउँछौँ।’

प्रतिष्ठानले अनुसन्धानलाई विशेष प्राथमिकता दिइने हुँदा हरेक वर्ष प्रतिष्ठानबाट उत्पादन भएका विद्यार्थीले एक पछि अर्को वर्ष उत्कृष्टता हासिल गररहेको प्राध्यापक डा. उमेशराज अर्यालले बताए।

‘यहाँ विद्यार्थीलाई अनुसन्धानमा धेरै काम गराइन्छ, जसले उनीहरूको क्षमता बढाउँछ,’ उनले भने।

प्रतिष्ठानको जनस्वास्थ्य विभागको मुख्य उद्देश्य पिछडिएका क्षेत्रका नागरिकलाई सेवा पुर्‍याउने, दक्ष जनशक्ति उत्पादन गर्ने र सार्वजनिक स्वास्थ्य समस्याको समाधानमा योगदान दिनु हो। यही उद्देश्यअनुसार अघि बढ्दा आज यो उल्लेखनीय सफलता हासिल प्राध्यापक अर्यालको तर्क छ।

यस उपलब्धिमा उपकुलपति डा. पुजन कुमार रोकाया, शिक्षाध्यक्ष डा. डबल बहादुर धामी, डीन डा. प्रेणित पोखरेल लगायत सम्पूर्ण शिक्षक तथा कर्मचारी सबैको साथ सहयोग रहेको सहायक डिन सन्जेलको भनाइ छ।

उनले थपे, ‘काउन्सिल परीक्षामा शतप्रतिशत नतिजा हासिल हुनु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेहनत, गुणस्तरीय शिक्षा र समर्पित जनशक्तिको प्रतिफल हो भन्ने कुरा यस सफलताले प्रमाणित गरेको छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार