नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका उम्मेदवार नरेश भण्डारीले पुनः खुला बहस गर्न आफू तयार रहेको बताएका छन्। उनले आज पार्टीको जुम्ला निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा भण्डारीले जुम्ली जनता, सहिद परिवार, जनआन्दोलनका घाइते तथा सम्पूर्ण जुम्लावासीलाई साक्षी राखेर खुला बहस गर्न आह्वान गरे। उनले भने, ‘जुम्लाका लागि कसले कति योगदान गरेको छ भन्ने विषयमा सत्य र निष्पक्ष छलफल गरौं। त्यसपछि भावी एजेन्डा र सोच प्रस्तुत गरौं।’
उनका अनुसार मतदान हुन केही दिन मात्र बाँकी छन्, त्यसैले पत्रकारहरूले यस्तो वातावरण सिर्जना गरिदिनुपर्छ।
भण्डारीले आफ्नो विजयपछि कानूनी तथा नीतिगत रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जुम्ला र कर्णालीका विषयहरूलाई कानूनी मान्यतामा स्थापित गराउन पहल गर्ने बताए।
‘सांसदको मुख्य भूमिका कानून र नीति निर्माण हो। त्यसमा मेरो प्रभावकारी भूमिका रहनेछ,’ उनले थपे।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टी जुम्ला निर्वाचन परिचालन समिति संयोजक गोमा गौतम कुँवरले जुम्लामा आफ्नो पार्टी जनताको भरोसाको केन्द्र बनेको दाबी गरिन्।
विगतमा पार्टीका जनप्रतिनिधिहरूको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरू जनतामाझ स्पष्ट रूपमा देखिएको उनको भनाइ छ।
उनले गणतान्त्रिक व्यवस्था र विभिन्न परिवर्तनका आन्दोलनहरूमा जुम्लावासी सधैं अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएको उल्लेख गरिन्। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीले भारी मतका साथ विजय हासिल गर्नेमा आफूहरू विश्वस्त रहेको बताइन्।
‘समृद्ध जुम्ला निर्माणका लागि जनताले हामीलाई नै रोज्नेछन्। विकासका नाममा झुटा आश्वासन बाँड्ने, अराजकता फैलाउने र निर्वाचनपछि संघीय गणतन्त्रमाथि प्रहार गर्ने तत्वहरू सक्रिय रहेकाले यस्ता प्रवृत्तिप्रति जनता सचेत हुन जरुरी छ,’ कुँवरले भनिन्।














