सोमबार, १२ माघ, २०८२

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै सुझबुझका साथ स्थापना भएको रहेछ,’ प्रधानमन्त्री कार्की

काठमाडौं र सुविधा सम्पन्न ठाउँमा गरिने खर्चभन्दा कर्णालीमा गरिने खर्चले विशेष महत्त्व राख्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै सुझबुझका साथ स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्। जुम्लामा अवस्थित प्रतिष्ठानले विकट क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा ठूलो राहत दिएको उनको भनाइ छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले काठमाडौं केन्द्रित सोच तोडेर कर्णालीमै उपचार सेवा विस्तार गरिनु गर्वको विषय भएको बताइन्।

उनले भनिन्, ‘कुरा सुन्दा अभावमा गुज्रिरहेको प्रतिष्ठानले पनि उल्लेख्य काम गरेको छ। सानो बिरामी पर्दा पनि बाहिर जानुपर्ने बाध्यता अब धेरै हदसम्म हटेको छ।’ प्रतिष्ठानले स्थानीय नागरिकको भरोसा जित्दै गएको उनको भनाइ छ।

प्रधानमन्त्री कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कुलपति समेत रहेकी उनले प्रतिष्ठानको भविष्य अझ सुदृढ बनाउन सरकार सकारात्मक रहेको संकेत पनि गरिन्।

सभालाई सम्बोधन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले कर्णालीमा स्थापना भएको यस प्रतिष्ठानले विकट क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा उल्लेख्य सुधार ल्याएको बताइन्।

उनले भनिन्, ‘पहिला सामान्य उपचारका लागि पनि कर्णालीका नागरिकले लामो दूरी तय गर्नुपर्थ्यो। अहिले त्यो अवस्था धेरै हदसम्म बद्लिएको छ।’ प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा आशाको केन्द्रको भूमिका खेलेको उनको भनाइ थियो।

सभामा बोल्दै भौतिक पूर्वाधार, वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णालीका लागि फरक नीति अपनाएर स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए। ‘काठमाडौं र सुविधा सम्पन्न ठाउँमा गरिने खर्चभन्दा कर्णालीमा गरिने खर्चले विशेष महत्त्व राख्छ,’ उनले भने।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीर्घकालीन विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा निरन्तर सोचिरहेको उनले स्पष्ट पारे।

सभामा प्रतिष्ठानको आर्थिक तथा शैक्षिक प्रगतिका विषयमा पनि महत्वपूर्ण निर्णयहरू गरिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक वर्ष २०८१/०८२ को आय, व्यय सहितको प्रगति प्रतिवेदन समिक्षा सहित पारित गरिएको छ।

यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखा परीक्षण प्रतिवेदन र वित्तीय विवरण प्रतिवेदन केही संशोधनसहित पारित गरिएको प्रतिष्ठानका रजिस्ट्रार लक्ष्मीचन्द्र महतले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पनि सभाबाट पारित भएको छ।

सभामा निर्माणाधीन शिक्षक, कर्मचारी आवास तथा कक्षाकोठा निर्माणको विषय पनि उठाइएको छ। सभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका नेता नरेश भण्डारीले यी संरचना सम्पन्न गर्न आवश्यक न्यूनतम बजेट सरकारले विशेष रूपमा उपलब्ध गराउनुपर्ने बताए।

उनले भने, ‘भौतिक संरचना बिना गुणस्तरीय शिक्षा र सेवा सम्भव हुँदैन। त्यसका लागि सरकारको विशेष ध्यान आवश्यक छ। सरकारले जेनजी स्पिरिटमा काम गरोस्।’

यसैबीच, औषधिजन्य वनस्पतिको खोजमूलक अनुसन्धान र परम्परागत ज्ञानको डिजिटलाइजेसन (Traditional Knowledge Digitalization–TKD) गर्न तयार पारिएको अवधारणा पत्रलाई सैद्धान्तिक स्वीकृति दिने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।

प्रतिष्ठानका उपकुलपति डा. पुजन कुमार रोकायाका अनुसार यो कार्यक्रम कर्णालीको जैविक विविधता र परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण हुनेछ।

सभाले नयाँ मनोनित सभा सदस्यलाई औपचारिक स्वागत समेत गरेको छ। साथै जुम्लाको चेरेचौरमा निर्माण हुने प्रतिष्ठानको बृहत शैक्षिक परियोजनासम्बन्धी पाँच मिनेटको एनिमेटेड भिडियो प्रदर्शन गरिएको थियो।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार भिडियोमार्फत परियोजनाबारे आवश्यक मार्गदर्शन प्राप्त गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा आफ्नो भूमिका विस्तार गर्दै लगेका बेला सरकारले लगानी गरे थुप्रै काम हुने उपकुलपति रोकायको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार