जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा -७ ले जाडो मौसममा न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको छ।
वडा कार्यालयले ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गभित्र पर्ने अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो।
वडा अध्यक्ष गणेश महतका अनुसार जुम्लाको कठोर हिउँदमा हुने चिसोबाट जेष्ठ नागरिक र अपाङ्गता भएका बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
‘जाडोका कारण स्वास्थ्यमा असर नपरोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरेका हौं,’ अध्यक्ष महतले बताए।
उनका अनुसार कपडा वितरण कार्यक्रम वडा नम्बर ७ कै आर्थिक सहयोगमा सम्पन्न गरिएको हो।
वडाले आफ्नै स्रोत साधन प्रयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको अध्यक्ष महतको भनाइ छ।
स्थानीय बासिन्दाहरूले वडाको यस पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
सामाजिक सुरक्षा र मानविय संवेदनालाई प्राथमिकतामा राख्दै गरिएको यो कार्यक्रम उदाहरणीय रहेको सहभागीहरूको धारणा छ।














