राजनीतिक दलका प्रतिनिधिहरूले पनि क्याम्पसको भूमिकालाई महत्त्वपूर्ण रहेको तथ्यलाई थप उजागर गरे।
जुम्ला बहुमुखी क्याम्पसमा संकाय थप तथा शैक्षिक सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पसलाई समयअनुकूल र बजारको माग अनुसार सक्षम बनाउने विषयमा गहिरो छलफल भयो।
विशेष गरी कानुन, सूचना प्रविधि (बीआइटी) र मानविकी संकाय थप गर्ने विषय छलफलको केन्द्रमा रह्यो। कार्यक्रमको समन्वय जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गरेका थिए।
उनले जुम्लाको समग्र विकासको आधार शिक्षा भएको भन्दै उच्च शिक्षामा लगानी नगरी दिगो परिवर्तन सम्भव नहुने बताए। ‘क्याम्पस बलियो भयो भने जुम्ला बलियो हुन्छ,’ उनले भने।
कार्यक्रममा जुम्लाका स्थानीय तहका प्रमुखहरूले उच्च शिक्षामा लगानी गर्न आफूहरू तयार रहेको स्पष्ट सन्देश दिए। हिमा गाउँपालिकाका अध्यक्षले उच्च शिक्षा विकासमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए।
उनले भने, ‘जुम्ला बहुमुखी क्याम्पसलाई जिल्लाको शैक्षिक मेरुदण्डको हो। यसको विकासका लागि हामी कुनै कसुर बाँकी राख्ने छैनौं।’
कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले शिक्षामा गरिने लगानी तत्कालको मात्र नभई पुस्तौँसम्मको उपलब्धि हुने बताए। उनले भने, ‘आज शिक्षामा गरेको लगानी भोलिका पुस्ताले पनि उपयोग गर्नेछन्।’

उनले क्याम्पसको दीर्घकालीन योजनामा स्थानीय तहको साथ रहने प्रतिबद्धता जनाए।
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले शिक्षा जीवनको सबैभन्दा महत्वपूर्ण मार्गदर्शन भएको उल्लेख गरे।
‘क्याम्पसको शैक्षिक स्तर उकास्न कुनै कसुर बाँकी राख्ने छैनौं,’ उनले भने, ‘गुणस्तरीय शिक्षा बिना समृद्ध समाज सम्भव छैन।’
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले अहिलेको समय नयाँ खालको शिक्षा आवश्यक भएको बताए।
बजारको माग अनुसारको शिक्षा नदिए युवाहरू रोजगारीका लागि बाहिरिन बाध्य हुने उनको तर्क थियो।
‘जुम्ला बहुमुखी क्याम्पसले थालेको प्रयास सह्रानीय छ,’ उनले भने।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले जुम्लाको शिक्षा क्षेत्रमा विगतदेखि नै लगानी हुँदै आएको स्मरण गरे।
‘हाम्रा बाबु बाजेले जुम्लाको शिक्षा क्षेत्रमा योगदान गरेका छन्,’ उनले भने, ‘म पदमा रहँदा उच्च शिक्षा सुधारका लागि कुनै कसर बाँकी राख्दिनँ।’
उनले क्याम्पसलाई आधुनिक र प्रतिस्पर्धी बनाउने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागी विश्लेषक रामसिंह रावलले युग परिवर्तनको आधार शिक्षा नै भएको बताए।
उनले प्रविधि, कानुन र मानविकी जस्ता विषय बिना समाजको समग्र रूपान्तरण सम्भव नहुने तर्क प्रस्तुत गरे।
‘शिक्षामा लगानी भनेको भविष्यमा लगानी हो। पुस्तौंपुस्ताको लागि लगानी हो,’ उनले भने।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले क्याम्पसको शैक्षिक सुधार सबैको साझा जिम्मेवारी भएको बताए।
उनले राजनीतिक दल, स्थानीय तह र समुदायको सहकार्यले मात्र गुणस्तर सुधार सम्भव हुने तर्क राखे। ‘हामी सबै मिलेर लाग्यौँ भने जुम्लाको शैक्षिक स्तर माथि उठ्छ,’ उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जुम्लामा उच्च तहको शैक्षिक जनशक्ति उत्पादनमा क्याम्पसको भूमिका अतुलनीय रहेको बताए।
‘प्रशासनका तर्फबाट सम्भव सहयोग रहनेछ,’ उनले भने, ‘जुम्ला बहुमुखी क्याम्पस जिल्लाको गौरव हो।’
राष्ट्रिय मानव अधिकार आयोगकी जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले क्याम्पसले मानव अधिकारसँग सम्बन्धित विषय थप्न खोज्नु गौरवको विषय भएको बताइन्।

‘मानव अधिकारको रक्षा र पैरवी गर्ने शिक्षाले समाजलाई न्यायपूर्ण बनाउँछ,’ उनले भनिन्, ‘उनले मानविकी संकायको विस्तारलाई समयको मागका हो।’
राजनीतिक दलका प्रतिनिधिहरूले पनि क्याम्पसको भूमिकालाई महत्त्वपूर्ण रहेको तथ्यलाई थप उजागर गरे।
नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्म बुढाले बजारको माग अनुसारको जनशक्ति उत्पादनमा क्याम्पस निरन्तर लाग्नुपर्ने बताए। ‘सैद्धान्तिक मात्र होइन, व्यवहारिक शिक्षा आवश्यक छ,’ उनको धारणा थियो।
नेकपा एमाले जुम्लाका नेता आदिप्रसाद न्यौपानेले शैक्षिक गुणस्तर सुधारका लागि अझ बढी सक्रिय हुनुपर्ने बताए। उनले भने, ‘क्याम्पसलाई राजनीतिक विवादभन्दा माथि राखेर सबैले सहयोग गर्नुपर्छ।’
जुम्ला बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष महेश हमालले क्याम्पसको शैक्षिक सुधारका लागि आफू निरन्तर लागिरहने बताए।
‘पदमा भए पनि नभए पनि क्याम्पसको हितका लागि मेरो भूमिका जारी रहन्छ,’ उनले भने।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी नेता, शिक्षाप्रेमी र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो भने स्वागत सहायक क्याम्पस प्रमुख पदम बहादुर शाहीले गरेका थिए।
सहभागीहरूले जुम्ला बहुमुखी क्याम्पसलाई कर्णाली क्षेत्रकै नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने साझा धारणा व्यक्त गरे।
अन्तरक्रिया कार्यक्रमले जुम्लामा उच्च शिक्षाको सम्भावना र चुनौती दुवैलाई उजागर गरेको छ।















