शुक्रबार, १५ फाल्गुन, २०८२

महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस, भावी सम्भावना, चुनौती र समाधानका उपायहरू

जेनजी आन्दोलनका क्रममा दूषित एवं खराब भावना लिई जानी जानी आगजनी, ध्वंसात्मक गतिविधि र विनाशकारी कार्य गर्ने उपर के कसरी, के कस्तो अनुसन्धान, कारबाही एवं अभियोजन गर्ने भन्ने जस्ता विभिन्न चुनौतीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि यो स्थापना दिवस कोशेढुङ्गाको रूपमा स्थापित भएको छ ।

बिगतका वर्षहरू झैँ यस वर्ष पनि मनमा एक किसिमको खुल्दुली बढिरहेको थियो, मनमा बर्गेल्ती कुराहरू खेलिरहेका थिए । कुरा यी पनि खेलिरहेका थिए कि यस वर्षको महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस कसरी मनाउने होला ?

जहिले स्थापना दिवसमा सरकारी वकीलहरूको राष्ट्रिय सम्मेलन आउँछ, सरकारी वकीलको सेवा शर्त, सुविधा एवं पारिश्रमिक सम्बन्धी ऐन निर्माणका कुरा उठ्छन् । यसैगरी न्यायाधीश नियुक्तिमा सरकारी वकील समूहबाट पनि सम्मानजनक ढंगको नियुक्ति हुनुपर्ने भन्ने कुरा उठ्ने गर्दछन् । यसैगरी वस्तुनिष्ठ वैज्ञानिक प्रमाणमा आधारित अनुसन्धान र अभियोजनका कुरा उठ्ने गर्छन् ।

यसैबीच २०८२ भदौ २३ र २४ गते अकल्पनीय जेनजी आन्दोलन हुन पुग्यो । सरकारले बन्द गरेका सामाजिक सञ्जाल खुलाउनका लागि गरिएको जेनजी आन्दोलनमा धेरै जेनजी विद्यार्थी भाइबहिनीहरूले ज्यान गुमाए । धेरै अङ्गभङ्ग र अपाङ्गता भए, धेरै घाइते भए । कैयौँ नेपाली बाबुआमाले आफ्ना प्राणभन्दा प्रिय सन्तान गुमाए ।

देश नै शोकाकुल बन्यो । यी सबै देशको परिवर्तन र सुधारका लागि गरिएका थिए । यो रोजगारी र स्वच्छ न्यायको लागि गरिएको लडाइँ थियो । निष्पक्ष, मितव्ययी एवं छरितो न्यायका लागि थियो । सामाजिक, सांस्कृतिक तथा भौतिक विकासका लागि थियो । सुशासनको स्थायित्व र भ्रष्टाचारको अन्त्यका लागि थियो । जनतामा प्रभावकारी सेवा प्रवाहका लागि थियो ।

अर्कोतिर बेरोजगारी बढेर मुलुकमा युवाशक्तिमा व्यापक असन्तुष्टि थियो, जुन जेनजी आन्दोलन हुनुको एक महत्वपूर्ण कारण बनेको थियो । सो आन्दोलनपछि सरकारका तीनै अङ्ग कार्यपालिका (सिंहदरबार), न्यायपालिका (सर्वोच्च अदालत लगायत मातहतका केही उच्च अदालत र जिल्ला अदालतहरू) तथा व्यवस्थापिका (संसद) भवन जले । सरकारको प्रमुख सल्लाहकार निकाय भनेको महान्यायाधिवक्ताको कार्यालय पनि आंशिक रूपमा जलेर प्रभावित हुन पुग्यो । मातहतका उच्च सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालयहरू जले ।

यसैगरी कैयौँ सरकारी निकाय जले । यस किसिमको आगलागीले भौतिक संरचना मात्र ध्वस्त भएनन्, मुद्दाका फाइलहरू जले, महत्वपूर्ण दस्तावेज जले । देशभरका विभिन्न निकाय र कार्यालयहरू लगायत व्यक्तिका घर, होटल तथा व्यावसायिक प्रतिष्ठान, पसलहरू जल्न पुगे । सरकारले राजीनामा दिनुपर्‍यो । संसद विघटन भयो । नयाँ चुनावी सरकार बन्यो र २०८२ साल फागुन २१ गते निर्वाचन हुने दिन घोषणा भयो ।

यी विभिन्न अनुकूल र प्रतिकूल परिस्थिति, समय र सन्दर्भबीच महान्यायाधिवक्ताको कार्यालयको ७५औँ स्थापना दिवस २०८२ पौष ८ गते के कसरी मनाउने होला भन्ने कुरा पनि सोचनीय बनेको थियो । यसैबीच महान्यायाधिवक्ताको कार्यालयले ७५औँ स्थापना दिवस यही पौष ८ गते मनाउने निर्णय गर्‍यो ।

सोहीअनुसार २००८ साल पौष ८ गते स्थापना भएको महान्यायाधिवक्ताको कार्यालयले २०८२ साल पौष ७ गतेसम्म आइपुग्दा नेपालको फौजदारी न्याय प्रणालीलाई व्यवस्थित गर्दै नेपाली जनताको शान्ति सुरक्षा र अमनचयन कायम राख्न के कस्ता आरोह, अवरोह एवं चुनौती पार गर्‍यो तथा यसबीच के–कस्ता उपलब्धिहरू हासिल भए भन्ने विषयको समीक्षा हुने कुरा आजको समारोहको मूल विषय रहेको थियो ।

यसका साथै आगामी दिनमा नेपालको संविधान, प्रचलित विद्यमान नेपाल ऐन कानुन, कार्यविधि तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरूको कार्यान्वयनमा खेल्नुपर्ने भूमिका र सामना गर्नुपर्ने विषय उत्तिकै महत्वपूर्ण रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि महान्यायाधिवक्ता कार्यालय र मातहतका कार्यालयहरूको व्यवस्थापन, मुद्दाका मिसिलहरूको व्यवस्थापन, कम्प्युटर, वाइफाइ लगायत प्रविधिको व्यवस्थापन गर्नु आवश्यक रहेको छ ।

यी बाहेक जेनजी आन्दोलनका क्रममा दूषित एवं खराब भावना लिई जानी जानी आगजनी, ध्वंसात्मक गतिविधि र विनाशकारी कार्य गर्ने उपर के कसरी, के कस्तो अनुसन्धान, कारबाही एवं अभियोजन गर्ने भन्ने जस्ता विभिन्न चुनौतीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि यो स्थापना दिवस कोशेढुङ्गाको रूपमा स्थापित भएको छ ।

काठमाडौं आएको बेलामा प्रत्यक्ष रूपमा यो दिवस मनाउन पाउने अवसर यस पटक मलाई मिलेको थियो । महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसको अध्यक्षता माननीय महान्यायाधिवक्ता सविता भण्डारीज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, विशेष अतिथिमा कानून मन्त्रालयका माननीय कानूनमन्त्री, सर्वोच्च अदालतकी वरिष्ठतम् माननीय न्यायाधीश सपना प्रधान मल्ल, नेपाल बार एसोसिएसनका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

यसैगरी उच्च अदालत पाटनका माननीय न्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रहरी महानिरीक्षक, पूर्व महान्यायाधिवक्ताज्यू, पूर्व नायब महान्यायाधिवक्ताज्यूहरू अतिथि रहेको सो समारोहमा उपत्यकाभित्रका सम्पूर्ण सहन्यायाधिवक्ताज्यूहरू, उपन्यायाधिवक्ता, सहायक जिल्ला न्यायाधिवक्ता लगायत महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नायब महान्यायाधिवक्ता श्री संजीव राज रेग्मी ज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । मन्तव्यका क्रममा उहाँले स्थापना दिवसको उद्देश्य, औचित्य, गरिमा र महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।

समारोहमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा राम्रो काम गर्ने कर्मचारीहरूलाई सर्वोत्कृष्ट र उत्कृष्ट ठहर गर्दै कार्यालय सहयोगीदेखि सहन्यायाधिवक्ता सम्म १४ जनालाई प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो । सर्वोत्कृष्ट कर्मचारीको रूपमा सहन्यायाधिवक्ता श्री अच्युतमणि न्यौपाने घोषित हुनुभएको थियो । उहाँले शुभकामना मन्तव्यसहित सबै पुरस्कृत कर्मचारीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूले शुभकामना दिँदै महान्यायाधिवक्ता राज्यको प्रमुख सल्लाहकार मात्र नभई महान्यायाधिवक्ताको कार्यालयले पीडितमैत्री अभियोजन, अपराधको वस्तुनिष्ठ अनुसन्धान गराउन भूमिका खेलेको, वैज्ञानिक प्रमाणको आधारमा अभियोजन हुँदै आएको र आगामी दिनमा पनि वस्तुनिष्ठ प्रमाणमा आधारित अभियोजन हुने विश्वास व्यक्त गर्नुभयो । नागरिक अधिकारको रक्षा हुने कुरामा दुईमत नरहेको उहाँको भनाइ थियो ।

कानूनमन्त्री माननीय अनिल सिन्हाज्यूले कानूनी शासनको स्थापना, हिरासतमा रहेका व्यक्तिहरूको मानव अधिकारको रक्षा, पीडित तथा अभियुक्त दुवैको मानव अधिकार संरक्षणमा महान्यायाधिवक्ताको कार्यालयको भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रले शुभकामना व्यक्त गर्दै २००८ सालमा कालीप्रसाद उपाध्याय महान्यायाधिवक्ता नियुक्त भएको स्मरण गराउनुभयो । दोषी पत्ता लगाउन विगतमा अपनाइएका पद्धतिदेखि हालको अनुसन्धान प्रणालीसम्म चर्चा गर्दै नागरिक अधिकारको रक्षा गर्दै अनुसन्धान र अभियोजन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

लोकसेवा आयोगका अध्यक्ष माननीय माधव रेग्मी ज्यूले आजसम्म ३० जना महान्यायाधिवक्ता नियुक्त भइसकेको उल्लेख गर्दै संस्थालाई वर्तमान अवस्थामा ल्याउन सबै पूर्व महान्यायाधिवक्ता तथा नायब महान्यायाधिवक्ताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सर्वोच्च अदालतकी वरिष्ठतम् माननीय न्यायाधीश सपना प्रधान मल्ल ज्यूले ३०औँ महिला महान्यायाधिवक्ताको रूपमा सविता भण्डारीज्यू नियुक्त भएकोमा बधाई दिँदै क्षतिको अनुसन्धान र पीडितको मानसिक क्षतिका विषयमा पनि मागदाबी हुनुपर्नेमा जोड दिनुभयो । साथै डिजिटल अपराध, विशेषगरी साइबर अपराधको अनुसन्धान र अभियोजनमा चुनौती रहेको उल्लेख गर्नुभयो ।

मुख्य अतिथि सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतज्यूले महान्यायाधिवक्ताको कार्यालयले फौजदारी न्याय प्रणालीमा प्रभावकारी सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ छिटो, छरितो र विश्वसनीय सेवा आवश्यक रहेकोमा जोड दिनुभयो । अनुसन्धान र अभियोजन दोषपूर्ण भए सम्पूर्ण न्याय प्रणाली पराजित हुने चेतावनी पनि दिनुभयो ।

स्थापना दिवस समारोहका अध्यक्ष एवं महान्यायाधिवक्ता माननीय सविता भण्डारीज्यूले विगत सात दशकमा महान्यायाधिवक्ताको कार्यालयले फौजदारी न्याय प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै भविष्यमा अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । योग्य र सक्षम सरकारी वकीललाई न्यायाधीशमा नियुक्त गर्दा विभेद गर्न नहुने कुरामा पनि उहाँले जोड दिनुभयो ।

बिहानदेखि सुरु भएको समारोहको क्रममा चियापान तथा कार्यक्रम समापनपछि भोजनको समेत व्यवस्था गरिएको थियो ।

समग्रमा महान्यायाधिवक्ताको कार्यालयले संविधान, प्रचलित कानून तथा अन्तर्राष्ट्रिय सन्धि, सम्झौताअनुसार गरिरहेका कामलाई अझ सुदृढ गर्दै जनतालाई छिटो, छरितो, मितव्ययी र प्रभावकारी सेवा प्रवाह गर्ने, भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्ने, सुशासन तथा विधिको शासन स्थापित गर्ने र जेनजी आन्दोलन तथा पुस्ताको भावनालाई रणनीतिक योजनामा समावेश गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ ।

२०८२/९/९ काठमाडौं

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार