आईतवार, ८ भाद्र, २०८२

कविता – बा

तिमी साथमै भइदिए खुसी हुँदै
‎कुशे औंसीको शुभकामना दिन्थेँ,
‎घण्टौंसम्म तिम्रो चेहरामा आफ्ना
‎एक जोर आँखा गाडेर हेरिरहन्थेँ,
‎तिमीलाई तिम्रो दीर्घायुको कामना
‎व्यक्त गर्थें

‎मेरो आयु पनि मेरा बालाई थपिदिनु
‎भनेर भगवानसँग प्रार्थना गर्थेँ,
‎तिमीबाट थुप्रै आशीर्वाद लिन्थेँ,
‎मेरा बा सदा खुसी रहुन् भनी
‎कामना गर्थें,

‎आफ्नै हातले आज तिम्रो निधारमा
‎रातो अबिरको टिका लाइदिन्थेँ,
‎तिमीलाई विभिन्न परिकारका
‎मिठाई खुवाएर तिम्रा दुखद
‎परिस्थितिलाई सहज बनाउने प्रयास गर्थें,

‎आज मेरो आफ्नै कमाइको पैसाले किनिदिएका
‎नयाँ लुगा तिमीलाई उपहार दिन्थेँ,
‎चप्पल नपाएर फुटेका तिम्रा पैताला लाई आज
‎जुत्ता मोजा किनिदिन्थेँ,
‎दिनरात नभनी काम गर्ने मेरा बालाई आज
‎एकदिन आनन्दले बसेर आरामको
‎सास फेर है बा,भन्थेँ,
‎तिम्रो छातीमा टाँसिएर मुसुक्क हाँसेर
‎खिचेको तस्वीर फेसबुकमा अपलोड गर्थें!

‎तर म अभागीको भागमा यो सबै कहाँ
‎लेखिएको रहेछ र !
‎मेरो भाग्यमा त अभाव लेखिएको छ,
‎खुसीहरूलाई केरकार पारिएका छन्,
‎तिमीलाई सम्झेर तड्पिनु बाहेक अरु
‎केही लेखिएको छैन।

‎तिमी साथमा नभए पनि एउटा तस्वीर
‎हेरेर मात्र भएपनि मन बुझाउने हुन्थ्यो
‎यदि तिम्रो तस्वीर भइदिए
‎छैन त्यसैले त याद आएको बेला अँगालेर
‎रून पाउँदिन न तिमीलाई न तिम्रो तस्वीरलाई
‎ बा!

‎बस्, म तिमीलाई सम्झिरहन्छु, तड्पिरहन्छु,
‎कहिलेकाँहि लाग्छ तिमी भएकै ठाउँमा गईदिउँ,
‎म पनि तिम्रो संसारको अंश बनिदिउँ!
‎तिमी जहाँ भएपनि सदा खुसी रहनु है बा
‎मलाई अदृश्य रूपमै भएपनि
आशीर्वाद दिईराख्नु है बा!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार