पहिलो भेटको त्यो मुस्कानमा,
बसन्तको मधुर सुवास थियो।
तिम्रा आँखामा झल्किन्थ्यो मायाको उज्यालो,
साथै थिए पीडाका गहिरा बादलहरू।
मेरो मनमा रोपिएका थिए अनगिन्ती सपनाहरू,
जसलाई तिमीले सजायौ भरोसा र विश्वासले।
बाल्यकालका ती कथा जब तिमीले सुनाउँथ्यौ ,
अनि मेरो आँखा आँसुले भरिन्थ्यो।
तिम्रो हृदयमा थाकेको जीवन मैले देखेँ,
र मसँग बाँडिएको तिम्रो पीडा महसुस गरेँ।
“कहिले नछोड्नु है,” भन्यौ तिमीले मुस्कानमा,
मायाको त्यो बाचा मेरो जीवनको अमूल्य उपहार भयो।
तर समयले खेल खेल्यो हाम्रो बिचमा,
वसन्तको चिसो हावाले हाम्रो नाता चिसो बनायो।
तिम्रो स्वर मौन भयो, सन्देशहरू टाढा भए,
भेटघाट हरायो, अनि दूरीले कुरा अलग बनायो।
थाहा भयन तिमी अरु फूलसँग रमाउन थाल्यौ,
या अरु फूलको बगैंचामा पानी हाल्न थाल्यौ।
जब तिमीले “अलग” हौ भन्यौ, फूलहरू झरे,
विश्वास टुटे, र म आँसुका नदीमा डुबिरहेँ।
किन यस्तो भयो, म बुझ्न सकिनँ,
तिम्रो स्वार्थले मेरो मनको किनार भाँचिदियो।
तर म भन्छु, प्रेम कहिल्यै स्वार्थी हुँदैन,
मायाले दिएको चोट पनि कहिल्यै भुलिन्न।
तिमीले दिएको आशा झूटो सावित भयो,
तर मेरो मनमा त्यो विश्वास अझै छाँयाजस्तै छ।
विश्वास भाँच्दा मस्तिष्क र मन दुवै भत्किन्छ,
तर म फेरि विश्वास गर्न सिक्छु — त्यही माया सम्झेर।
तिमीले लगाएको त्यो पूर्णविरामले मलाई चोट पुर्यायो,
तर म जान्छु, जीवन यही हो — प्रेम र पीडाको संगम।
तिम्रो दूरीले टुटाए सपनाहरू,
तर मेरो मनमा तिमी अझै अमूल्य फूलझैँ छौ।
धोका, पीडा अनि माया सबै सँगै छन्,
तर म भन्छु, तिमी मेरो जीवनको अनमोल हिस्सा हौ।
जहाँसुकै भए पनि सम्झना रहिरहन्छ,
तिमी बिना मेरो मन अधुरो छ,
अधुरो छ मेरो संसार।
याद गर प्रिय, विश्वास नै सबैभन्दा ठूलो उपहार हो,
त्यसलाई नटुटाई राख्न सक्नुपर्छ
अझै तिमीलाई सम्झेर आँसु झर्छन्,
तर त्यो आँसुमा पनि प्रेमको मिठास छ।
तिम्रो मन पनि एकदिन पक्कै दुख्नेछ,
किनकि कसैको मन दुखाउँदा,
आफ्नो मनले पनि चोट पाउँछ नि।
प्रिय अमूल्य, म तिमीलाई कहिल्यै भुल्दिनँ,
मायाको यो कथा मेरो हृदयमा सधैं बाँचिरहन्छ।
विश्वासको त्यो पुल भत्किए पनि,
माया अझै जिवित छ, जीवनका हर मोडमा।
यसै कारण म भन्छु — तिमी मेरो अमूल्य हौ,
मायाको त्यो उज्यालो कि जसले सदाका लागि मेरो मनलाई छोपेको छ।
