अशिक्षित को अर्थमा सुदूर टाँसिन्छ
पाखेको परिभाषामा पश्चिम राखिन्छ
तर म तिम्रो शब्दकोष भन्दा टाढा छु !
यो सुदूर हो,
यहाँ सुमधुरको भाषा बोलिन्छ
यो पश्चिम हो,
यहाँ परिवेशको नाटक देखाइन्छ
तिमी बुझ्दैनौ उपत्यकामा बसेर,
उजारिएका शब्द
तिमी बुझ्दैनौ राजधानीमा बसेर,
रंगमंचका चित्र
गरिबीको गणितमा कर्णाली जोडिन्छ
दुःखीको दन्ते-कथामा दुर्गम लेखिन्छ
तर म तिम्रो पाठ्यक्रम भन्दा पर छु !
यो कर्णाली हो,
यहाँ किसान को पसिना बग्छ
यो दुर्गम हो,
यहाँ दौडिने पैदलको सवारी चल्छ
तिमी बुझ्दैनौ सहरमा बसेर,
शोषण को शरीर
तिमी बुझ्दैनौ साधनमा कुदेर,
सुनिएको को कदम
रोगीको रंगमा पिछडिएको क्षेत्र मिसाइन्छ
जोखिमको जलमा विपतको मार्ग तैराइन्छ
तर म तिम्रो मूल्यांकन भन्दा भिन्न छु !
यो पिछडिएको क्षेत्र हो,
यहाँ पाहुनाको स्वागत गरिन्छ!
यो विपत को मार्ग हो,
यहाँ प्रकृतिको सम्मान गरिन्छ
तिमी बुझ्दैनौं विकसित भेगमा बसेर
बिग्रिएको संस्कृति!
तिमी बुझ्दैनौं सुरक्षित धरातलमा बसेर
सुन्दरताको डकैती!
तिमी भन्छौ तिमी त कर्णाली मै अडिक छौ!
म भन्छु म कर्णाली नै ठिक छु !!
















