गणतन्त्र आयो!
भन्थे, “जनताले शासन गर्छन्!”
तर आज म हेर्छु
गणतन्त्रको भ्युटावरबाट
काण्डै -काण्डको लाजसरणम्
एक माण्ठ आउँछ हेलिकप्टरमा,
कर्नालीको फाँटमा झर्छ,
भाषण गर्छ,
“गणतन्त्रले कर्णालीलाई भात खुवायो!”
तर त्यो भात?
कालो मार्सी
छुमचौर, ज्यूलोको पसिना!
नामचाहिँ
केपी, प्रचण्ड, दुर्गा प्रसाईंको!
ब्रिटिश म्युजियममा सजिएको छ
मार्सीको बीउ, शताब्दीदेखि
तर ती माण्ठले देखेनन्
नाग्म, लाँछु, चिलखायाका
भकारीमा जनताले राखेका
तीन दशक पुरानो धान!
डोल्पामा
हिमपानीमा च्यापिएर
मरे गर्भवती आमा,
कसैले सुनेनन्!
यार्चा किन्न दलाल आउँछ
हेलिकप्टर चढेर।
कालीकोटमा
खोलाले बगायो तुइनमा हिँड्दा बालकलाई।
तर शासक भन्छन्
देशले प्रगति गर्यो!
मन्दिर जाँदा केवुलकार बनाएर!
कागजमा अस्पताल
पिठ्युँमा बिरामी बोकिन्छ!
शिक्षा “नि:शुल्क”
तर किताब छैन!
शिक्षकहरु?
काठमाडौंमा सभा गरिरहेका छन्!
जनयुद्ध चल्दा
रोल्पा, रुकुम बलिरहे!
हामी लड्यौं,
सपना थियो समाजवाद!
तर गणतन्त्रले के दियो?
आईफोन, बुलेट, बङ्गला
दलालका छोराछोरीलाई!
श्रीमतीलाई सुन र हार
शहीदकी आमा?
चुइन्या आटीमै माटो सिञ्चिरहेकी छन्!
छोरा सम्झिँदै ।
अब हामी
कविता होइन, क्रान्ति लेख्नेछौं!
गीत होइन, शंखघोष गाउनेछौं!
गुनासो होइन,
आन्दोलनको हुंकार बोल्नेछौं!
हामी
नाग्मका खेत हौं,
मार्सीका चामल हौं,
जनयुद्धको इतिहास हौं!
हामी
कर्णालीको चिसो हौं,
मधेसको ताप हौं,
पूर्व लडाकुका सन्तान हौं!
निधारमा कपन बाँधेका विद्रोही हौं!
म कसरी दिउँ गणतन्त्रलाई शुभकामना!
जसले जनतालाई आँशु बाहेक केही दिएन?
अब म बाँच्छु भने
समाजवादी गणतन्त्रकै लागि बाँच्नेछु!
म मरे भने
त्यही समाजवादी गणतन्त्रको लागि
बलिदान हुनेछ मेरो जीवन!
त्यसपछि मात्र
त्यस दिन मात्र
म दिउला शुभकामना!!
समाजवादी गणतन्त्रको!
मिति :२०८२ जेठ १५ गते, सिंहदरबारको वरिपरि