मेरा हातका ठेला र पैतालाका फोका भित्र
भरिएको रगत भित्र लुकेको तिम्रो
सपना र मेरो सपना उस्तै रहिछ।
म आफ्नो शरीर भित्र सपना देख्दैछु
तिमी पनि मेरो शरीर भित्रका
सपनाबाट शरिरको हिस्सा र हिसाब खोज्दै छौ।
तर मेरा दु:ख, पीडा र आँसुको हिस्सा कस्ले खोज्छ?
प्रिय मान्छे।
मेरो मुटुको चालभित्र दोडिरहने
तिम्रो जिन्दगीको चाल।
मेरा पसिनाले सिचाइ हुने
तिम्रो जीवनका सुख्खा पाटाहरु
हरियाली गर्दागर्दै ….।।
म मरुभूमि हुनेछु।
तिमी ठुलो मान्छे हुने छौ।
तिमीलाई के वास्ता?
म भुईमान्छे
मेरो मगजलाई चोकमा राखेर
मूल्य उठाउने प्रिय मान्छे
पनि मेरो मालिक हो।
मेरो मगजको कलाबाट
उसले जीवनको फुलबुट्टा भर्नु छ।
मैले त केवल मेरा बचेराका पेटमात्र भर्नु छ।
मेरो सिराबाट
हुने रक्तसञ्चारबाट
उसको जीवन संञ्चार गर्नु छ।
मेरो रगत म भन्दा उसलाई खाँचो छ।
मेरो गास काटेर
उसको गास, बास, विलास र गिलास
बनाउनु छ।
अझै उ म विना बाँच्दैनस् भन्छ।
को को बिना बाँच्दैन।
म अवोध छु।
मेरो समाज अवोध छ।
न्यायलयको तराजु पनि अवोध छ।
यस्तो लाग्छ अरुको शिरिरमा टाँसिएर
रगत खाने किर्ना, जुम्रा र तिमी
एउटै वंशका हुनुपर्छ, प्रिय मान्छे
अनि अरुलाई मारेर आहारा पूरा गर्ने
बाज, ब्वाँसो, बाघ… र.तिम्रो जीनमा
पनि एउटै डिएनए होला।
सधै मर्योकि नाई भनेर
टाढाबाट हेर्ने गिद्द र
तिमीमा के फरक छ?
उ मरेको खान्छ, तिमी मारेर खान्छौ।
उ अन्य वंशको खान्छ ,
तिमी आफ्नै वंशको खान्छौ।
यति फरक छ,
तिमी मेरो आस र म तिम्रो दास।
निरन्तर चलिरहेछ, प्रक्रिया खास।
आज मेरो पसिनाका बाछिट्टाहरु बेपत्ता छन्।
मनका खतहरु पनि बेपत्ता छन्।
कसैले देख्नु भए खबर गर्दिनुहोला ।
जसरी बेपत्ता छन्।
पसिना लुटेर लिने ती मान्छेहरु।
कतै श्रम लुटेर
श्रमिक दिवस मनाउँदै छन्।
लोकलाई लुटेर
लोकतन्त्र मनाउदैछन्।
मेरा प्रिय मान्छेहरु ।