बुधबार, ४ असार, २०८२

कविता : बाल विवाह

एक हुल मानिसको जमात
पञ्चे बाजाको तालमा
छमछमी नाँच्दै थिए
म भने भाँडाकुँडा खेलमा व्यस्त
आमा हतारिँदै आउनु भयो
लामो श्वास फर्दै
भन्नु भयो
छिटो घरमा हिँड्

म आमाको पछ्यौरी समाएर नाँच्दै उफ्रिँदै
पुतली झैँ उडेँ ऽऽऽ
अघिसम्म बेहुली बन्दा रिसाउने आमा
अहिले आफैले मलाई सजाउँदै हुनुहुन्छ।

नयाँ कपडा
नयाँ गहना
नयाँ सम्बन्ध
नयाँ घर
पाएर म फुरुङ्ग

जसरी हिजो खेलमा काल्पनिक बिहे हुन्थ्यो
आज वास्तविक हुँदैछ।
हिजो मसँग राम बेहुला हुन्थ्यो
बस आज नचिनेको ठूलो अंकल
अघि आएको एक हुल मानिसको जमातले
मलाइ मेरी आमा देखि टाढा लग्दैछ
म रोएँ बेस्सरी,
म चिच्चाएँ बेस्सरी
अँह! कसैले सुनेन

अन्तिम पटक आमालाई हेरेँ
अह! आमाले नि केही भन्नु भएन
भन्नु भयो; तँ राम्रोसँग घर गरेस

हिजो जस्तै लाग्छ आमा
तर पाचँ दशक भएछ
मैले सपनामा रंग भर्न छाडेको
फुल्दै गरेको फूललाई कोपिलामै निमोठेको
तिम्रो पछेउरीको फुर्का समाउँदै हिँड्न छाडेको
किताबको झोला बोक्ने पिठ्युँमा
दाउराको भारी बोक्न थालेको
अपरिपक्क शरिरमा गर्भको भार सम्हाल्दा
न मसँग मेरो शरिर छ न सन्तान

आमाको काख रितियो
काख मात्रै कहाँ हो र
बुढोलाई दमको रोगले काखमा लग्यो
शिरको सिन्दुर
हातको चुरा
गलाको पोते
रातो पहिरन
फेरी आमा बन्ने सपना सबै विलिन भए

आमा ऽऽऽऽ
त्यो ठूलो आकासको बीचमा
सबै भन्दा ठुलो तारालाई लोग्ने
साना तारालाई छोरा छोरी भन्दै
मध्य राती एकान्तमा बरबराउँदै म
थाहा छ आमा अहिले युग बद्लियो
बाल विवाह गर्नु हुँदैन भनेर।
एक हुल मानिसको जमात
पञ्चे बाजाको तालमा
छमछमी नाँच्दै थिए।

(कवि हिमा गाउँपालिकाकी वास परियोजना संयोजक हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार