मंगलवार, ३ असार, २०८२

कविता : विभेदको पर्खाल

तिमीलाई छुट छ
मलाई बन्देज छ
तिमी सुरक्षाको पर्खाल भित्र छौं
म असुरक्षाको पर्खाल भित्र छु
पर्खालका स्वरुपहरु पनि,
अनगिन्ती हुने रहेछन्।

कतै सिमा सुरक्षाको पर्खाल
कतै घर सुरक्षाको पर्खाल
कतै बगैंचा सुरक्षाको पर्खाल
कतै कैदी सुरक्षाको पर्खाल

माथिका मध्ये म त्यो पर्खाल भित्र छु
जुन पर्खाल भित्र म कैद छु
उक्त पर्खालले सुरक्षा होइन,
असुरक्षा दिइरहेछ, युग युगबाट

म त्यो दिन सुरक्षित भएको,
आभास गर्नेछु
जुनदिन म कैद भएको,
पर्खाल तोड्न सफल हुनेछु
मलाई त्यो दिन अनुभूत हुनेछ
एक भयानक युद्ध जिते झैं
म त्यो दिन यसरी स्वतन्त्र हुनेछु
जसरी पिजडामा कैद भएको सुगाले
छुटकारा पाउँछ।

मलाई यो पर्खाल तोड्न समय लाग्ला
म विचारको युद्ध लड्ने छु
मान्छेका कुसोचहरुमा पड्काउने छु
चेतनाका भयानक बन्दुक
म विस्फोटन गर्नेछु
वर्षौंदेखि मलाई विभेदको घेराबन्दीमा पार्ने
अथक मस्तिष्कहरुमा समताको बम।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार