मैले मेरो प्रारब्ध कल्पनाका उज्याला रङहरूले सजाउनुछ। त्यसमा विगतको दुःखको गाढा छायाँ नरहोस्। त्यहाँ केवल मेरो संघर्षले पोतिएको उज्यालो छाओस्।
समयको आफ्नै चाल छ। न त यसले कसैलाई पर्खन्छ, न त कसैको इच्छाअनुसार बग्छ। अघिल्लो क्षण अतीतमा परिणत भइसकेको हुन्छ, अर्को क्षण भविष्यबाट वर्तमान बनेर जन्मिन्छ। समयको यो प्रवाहभित्र उभिएर म सोचिरहेछु— मेरो प्रारब्ध को तय गर्छ?
आकाशको निलो क्यानभासमा बादलहरू आफ्नै आकृति कोरिरहन्छन्, तर ती कहिल्यै स्थायी हुँदैनन्। म पनि समयको क्यानभासमा आफ्नै प्रारब्ध कोर्न खोजिरहेको छु।
मेरो चेतनाका मसिले, मेरा श्रमका रसहरूले, मेरा सपनाका रंगहरूले। तर यो यात्रा सरल छैन। मुठ्ठीभर आकांक्षाहरू बोकेर अघि बढ्ने क्रममा मकैका पातझैँ तीता अनुभवले मेरो आत्मालाई चिथोरेका छन्।
तर म एकछिन सोच्दछु— के प्रारब्ध आफैं लेखिन्छ? कि मैले नै त्यसलाई अक्षर दिनुपर्छ? मेरो मुठ्ठीबाट चिप्लिएका पसिनाका थोपा ती अक्षरहरूका स्याही हुन् कि होइनन्? मेरा पाइला चालेका बाटाहरू प्रारब्धको कथा लेख्ने धागो हुन् कि होइनन्?
म मेरो प्रारब्धको एउटा खाली पानासँग उभिएको छु। त्यो शून्य, श्वेत, मौन छ। कुनै पूर्वनिर्धारित कथा छैन, कुनै तय भइसकेको भाग्य छैन। केवल सम्भावनाहरू छन्, अनगिन्ती।
मलाई त्यो पानालाई आफ्नै संघर्षका चित्रले रंगाउनुछ। मलाई आफ्ना श्रमका चम्किला थोपाले त्यसलाई भिजाउनुछ। त्यहाँ कुनै नियतिको कठपुतली बनेर बस्ने छैन, म स्वयं त्यसका अक्षर बन्नेछु।
तर, कतै कुनै कालो बादल छायाँझैँ ममाथि मडारिन्छ—समयको अनिश्चितता। त्यो मलाई सम्झाउँछ, बितेका क्षणहरू फर्किँदैनन्। भविष्यलाई केवल कल्पनामा मात्र देख्न सकिन्छ।
तर म अडिन्छु, विचार गर्छु। भविष्यको बाटो त वर्तमानमै कोरिन्छ! मलाई लाग्छ, प्रारब्ध कोही अर्कोले लेखिदिने कुनै ग्रन्थ होइन। म आफैं लेख्न सक्छु। मेरो निर्णयले, मेरो परिश्रमले, मेरो चेतनाले।
मैले मेरो प्रारब्ध कल्पनाका उज्याला रङहरूले सजाउनुछ। त्यसमा विगतको दुःखको गाढा छायाँ नरहोस्। त्यहाँ केवल मेरो संघर्षले पोतिएको उज्यालो छाओस्।
आफ्नै जीवनलाई नयाँ आँखाले नियाल्नुछ। आफ्नै अस्तित्वलाई नवीकरण गर्नुछ। त्यो प्रारब्धभित्र म आफैंलाई फेरी जन्मिन चाहन्छु। फेरी नयाँ आकृतिमा, नयाँ ऊर्जासहित।
मेरो प्रारब्ध कुनै बन्द किताब होइन। त्यसका पानाहरू खुला छन्, लेख्न बाँकी छन्। त्यसमा अतीतको कुनै छायाँ छैन, केवल वर्तमानको संघर्ष छ।
भविष्य? त्यो त हरेक दिन नयाँ वर्तमान भएर आउँछ। र म? म पलपल आफ्नै चेतनाका मसिले आफ्नै प्रारब्ध कोरिरहेछु।