परिवार भेट्ने चटारोमा उडेको थिएँ
विमानसँगै विकल्पको बिन्दु केलाउँदै
मस्तिष्कको विवादसँगै खस्किए
जमिनतिर लेखान्तको विचारसँगै र,
सकियो सास जीवनरेखाको पूर्ण विरामसँगै
आमाको कल आयो
‘आमा म पुग्छु बीस मिनेटमा’
आँखा थाकेनन् आमाका तर
सकियो पर्खाई बीस मिनेटका
बजारिएको जहाज छेउमै,
जलेको शरीर बीस मिनेट
सायद रोकियो घडी आमा,
अब समय आउँदैन बीस मिनेट त
सबै ठिकै चलेको छ लाग्थ्यो के थाहा ?
उल्टो चलेको रहेछ यो समय
भाग्यले भोगायो कस्तो हुन्छ?
शरीर आगोमा जलाएँ,
धेरै पाप गरे हुँला सायद जीवनको बाटोमा,
मृत्यु दण्ड हो भने स्वीकार्छु यहीँ सजाय
कालो धुवाँको मुस्लो बन्यो,
बहत्तर जना एकै डोरीमा
बोलायो दैवले कठै बहत्तर जना एकै चोटीमा
राज्यको व्यवस्था या
विमानको अवस्था कि लेखाइ नै यस्तै ?
स्वीकार्यो समय र ऊ चढ्यो चिताको डोलीमा
मेरी आमाको ख्याल राख्नु,
बिन्ती भगवान तिम्रै शरणमा छु
रिस, राग, घमण्ड जीवन भन्नु केही होइन,
मृत्युको अन्तिम चरणमा छु
भाग्यमानी हुन्थ्ये होला चितामा जलेको भा,
अभागि नै रहेछु सायद,
एयरपोर्टको जलनमा छु।
आमा