शुक्रबार, २६ पुष, २०८१

आमा: सम्झनाको अमर फूलवारी

आमाको मृत शरीरसँग बिताएका ती क्षणहरू मबाट कहिल्यै मेटिन सक्दैनन्। समाजका आदेश पालना गर्दै, मैले त्यो निर्जीव शरीरलाई नजिकै बसेर हेर्ने साहस जुटाएँ।

आमाको मृत्यु सायद जिन्दगीको सबैभन्दा कठोर सत्य हो, जसले मेरो अस्तित्वलाई नै हल्लाइदियो। जब आमा दुर्घटनामा परेर हामीलाई सधैंका लागि छोडेर जानुभयो, मेरो चेतना हरायो।

मानौं, मेरो आकाश खस्यो, धर्ती चिरा फाट्यो। संसार मेरो लागि एक्कासी सुनसान भयो। मेरो सबैथोक, मेरो आधार—मेरो आमा मबाट गुमिसकेको थियो।

आमाको मृत शरीरसँग बिताएका ती क्षणहरू मबाट कहिल्यै मेटिन सक्दैनन्। समाजका आदेश पालना गर्दै, मैले त्यो निर्जीव शरीरलाई नजिकै बसेर हेर्ने साहस जुटाएँ।

मान्छेहरू भन्थे, “छोरो हुनुको कर्तव्य यही हो।” मैले आमालाई ढोगिदिएँ, पिताम्बर ओढाएँ, पूजा गरेँ, चितामा फेरो लगाएँ। तर, जब आमालाई दागवत्ती दिनुपर्ने समय आयो, त्यो क्षण मेरो लागि पृथ्वीको सबैभन्दा भयंकर र असह्य पीडा थियो।

पहिलो पटक दागवत्ती दिने क्रममा मेरा हात काँपिरहेका थिए। मेरा आँखा धमिला थिए, शरीर अचेतजस्तै भइसकेको थियो। म अन्धकारले भरिएको खाल्डोमा खसेको महसुस गरिरहेको थिएँ।

आफ्नै आमाको अनुहारमा आगो राख्नु जति कष्टकर अरू के हुन सक्छ र? त्यो मबाट पार भएको सबैभन्दा कठिन परीक्षा थियो।

मृत्युसंस्कारका सबै प्रक्रिया पूरा गरेर घर फर्किँदा, घरको सुनसानपनले मलाई झन् एक्लो महसुस गरायो। अब न त आमाको मोबाइलमा बज्ने पुराना गीतहरू सुनिन्थे, न त भान्सामा भोकाएको छोरोका लागि रोटी हाल्ने आमाको आत्मीय आवाज।

आमा नभएको घरमा बस्नुपर्छ भन्ने सोचले नै मनमा बिझाइरहन्थ्यो। आँगनमा बसेर आमाको काखमा निदाउने ती क्षणहरू अब सपना जस्तै भए।

भोक लागेको बेला आमाको “रोपनी खाएर आउँ” भन्ने माया भरेको आवाज मेरो मनभित्र गुञ्जिरहन्थ्यो। तर त्यो आवाज अब केवल यादका टुक्रामा सीमित भयो।

१२ दिनसम्म पाठपूजा र पिण्डदानको विधि पूरा गर्दै आमाको आत्माको शान्तिका लागि प्रयास गरें। तर, अन्त्यमा सबै आफन्त आ-आफ्नो बाटो लागे, म भने एक्लो बनें। संसार आमाबिना साँच्चै नै रित्तो र सुनसान हुँदो रहेछ।

आमाको अनुपस्थितिमा, अब मसँग केवल आँसुको मसी छ, मनको क्यानभास छ, र ती मनभित्र कुँदिएका आमाका अनन्त सम्झनाहरू।

ती सम्झनाहरू कहिल्यै पुराना हुने छैनन्। कुनै दिन म ती सबैलाई एउटा कथा बनाउनेछु, जुन आमाका माया र त्यागका अमूल्य पलहरूको गाथा हुनेछ।

आमा, तिमी मेरो जीवनको उज्यालो थियौ। तिम्रो अभावले मलाई सधैं अधुरो बनायो। तर, तिम्रो प्रेम र यादको सुगन्धले मेरो जीवनलाई अझै बाँच्ने साहस दिएको छ। तिम्रो कथा अमर छ, तिम्रा यादहरू अमूल्य छन्।

आमा, म जान्दछु कि अब तिमी मेरो लागि प्रत्यक्ष रूपमा फर्केर आउने छैनौ। तर म आश्वस्त छु, म तिमीलाई फेरि भेट्न आउनेछु। यो संसारको चक्र पूरा भएपछि, म तिमीसँगै सागरमा विलीन हुने छु।

तिमीले देखाएको प्रेमको यात्रामा म पनि आफ्नो प्रेमको कोशेली लिएर तिम्रो प्रतिक्षामा छु। यो केवल आमाको कथा होइन; यो त आमाको स्मृतिमा सजाइएको एउटा अमर फूलबारी हो।

ती फूलहरूले तिम्रो छोडिएको माया, त्याग र प्रेरणालाई जीवनभर महकाइरहनेछन्। आमा, तिम्रा हरेक शब्दहरू, हरेक स्पर्शहरू मेरा लागि एक धरोहर हुन्। तिम्रा सम्झनाहरू मेरा लागि जिन्दगीको बाटो हुन्, जसले मलाई अघि बढ्न प्रेरित गर्छन्।

आमा, तिमी सधैं मेरो मनमा बाँचिरहनेछौ। तिम्रा यादले मेरा आँखा सँधै रसाइरहनेछन्। तर तिनै आँसुहरूले मलाई तिमीप्रति गर्व गर्न सिकाउनेछन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार