मंगलवार, ९ पुष, २०८१

कविता : परिवर्तन या परिवार तन?

परिवर्तनको आशामा बन्दुक
उठाएको यो हातहरूमा आज नी
बारुद कै गन्ध बसाउँछ!
सायद यही गन्धको असरले होला
मेरो हातले तिम्रो धाराको पानी छुन मिल्दैन।

अधिकारको चाहामा जङ्गल पसेको यो पाइलाहरूमा
आज नी गोलीकै छर्रा बिझाउँछ!
सायद यही छर्राको दुखाइले होला
मेरो पैतालाले तिम्रो आँगनमा पाइला टेक्न मिल्दैन।

तिमीलाई बधाई छ ‘दलितहरूको मसिह’,
१७ हजारको छातीमा टेकेर तिम्रो सिंहासनले
झण्डा फरफराएको छ।

दलित, जनजाति, महिला, धर्मको विषयलाई अढेस बनाएर
राजनीतिको सुरुवात गरेको तिम्रो मन लाई केही कष्ट त छैन नि?

जङ्गलमै बिलाएका शरीर,
रेटिएका टाउका,
निमोठिएका गर्दनहरू सम्झेर
तिम्रो मस्तिष्कलाई केही ऐेेठन त छैन नी?

मुक्तिको लालचमा
विद्रोहको आवाज उठाएको
यो अनुहारमा आज नि खुकुरीको
राप सेकिएको छ!
सायद यही सेकिएको आकारले होला
मैले तिम्रो समाजमा सुन्दरताको ट्याग लिन मिल्दैन।

न्यायको लोभमा प्रहारको पर्खाल बनेको यो छातीमा
आज नि बम विस्फोटको एक टुक्रा दबिएको छ!
सायद यही टुक्राको बल्झाईले होला
मैले तिम्रो मैदानमा बलवानको उपाधि जित्न मिल्दैन।

तिमीलाई बधाई छ ‘गरिबहरूको भगवान’
जनताको रगतले मुख धोएर
तिम्रो सत्ताले अनुहार चम्काएको छ।

चे ग्वेभारा, हो चि मिन्ह र लेलिनको
विचार बोकेको तिम्रो झोलामा
अहिले हात्ती छाप कागजहरू सुरक्षित त छन् नि?

रुकुमका बुढो झुपडीहरूमा
निदाएको तिम्रो आँखामा
अहिले स्वार्थको सपना हरू अटेका त छन् नि?

तिमीलाई बधाई छ ‘भ्रष्टहरुको बिम्बित अनुहार’
यो स्वार्थको सन्तुष्टिमूलक
परिवर्तन र यो सत्ताको
साटफेटमूलक शासनको लागि “तिमीलाई बधाई छ”!!!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार