हो, म अछुत पात्र हुँ!
यो छुत भनिने समाजको
हो, म थोपा मात्र हुँ!
यो अदभुत भनिने सागरको
म वैचारिक पानामा सिमित छु
तिम्रो मस्तिष्कमा होइन
म इतिहासको शास्त्रमा सामेल छु
तिम्रो शताब्दीमा होइन।
तिम्रो भगवानको मूर्तिमा मेरो हत्केलाकाे खत बसेका छन्।
तर तिम्रो मन्दिरको आँगनमा मेरो पाइलाको छाप कहिले परेन!
तिम्रो भकारीको अन्नमा मेरो हलोको डाप धसिएका छन्।
तर तिम्रो घरको गोरेटोमा मेरो रगतको थोपा कहिल्यै चुहिएन!
हो, म कथित पिछडिएको जात हुँ!
यो विज्ञानवादी समयको हो,
म दण्डितहरूको जमात हुँ!
यो चेतनायुक्त समूहको
म राजनीतिज्ञ विषय मात्र हुँ !
मुक्तिको हकदार होइन
म विरक्तिएको गीत मात्र हुँ!
भाका कोरिएको व्यथा होइन।
तिम्रो पैतालाको जुत्तामा मेरो औंलाका बुट्टाहरू सजिएका छन्।
तर तिम्रो पाठशालाको पुस्तकमा मेरो आँसुका अक्षरहरु कहिल्यै खसेन!
तिम्रो चुलोको कराइमा मेरो पसिनाको गन्ध छरिएको छ।
तर तिम्रो गोठको कुनामा मेरो आरनको बास कहिले बसेन!
हो, म सजाय योग्य कसुर हुँ!
परिवर्तनशील राज्य व्यवस्थाको
हो,
म हावामा बिलाएको कपुर हुँ!
अपहेलित मानव अवस्थाको
म दयाको टुक्रामा गाँसिएको छु,
अधिकारको स्वभावमा होइन।
म मुठ्ठीको सासमा बाँचेको छु,
हावाको स्वाभिमानमा होइन !
तिम्रो घरको धुरीमा मेरो ज्यान जोखिमताको किला गाडिएको छ।
तर तिम्रो विशाल आँखामा मेरो शरीरको चोट कहिले देखिएन!
तिम्रो अमृत बग्ने धारामा मेरो मेहनतको बुँद मिसिएको छ।
तर तिम्रो सफा बस्तीमा मेरो च्यातिएको लुगा कहिले अटेन!
हो, म घिश्रिदै पछारिएको मानव हुँ !
आधुनिक जवानाको हो,
म भोकले रन्थनिएको व्यक्ति हुँ!
अघाएका हुलहरुको,
म जुलुसको सडकमा उपस्थित छु,
तिम्रो मागहरुको दस्तावेजमा होइन
म लुछिएको झुपडीमा अटेको छु।
तिम्रो विकसित सहरमा होइन।
मैले आफ्नो पेटको भोगलाई न्याय दिन सकेको छैन!
म मुक्ति चाहन्छु!
मैले आफ्नो मानव जीवनको अधिकार खोस्न सकेको छैन्
म समानता चाहन्छु !
मैले आफ्नो अस्तित्वको राज्य प्रणाली देखेको छैन।
म परिवर्तन चाहन्छु।
अनि, तिमी के चाहन्छौ?
तिमीले त आफ्नो मानवताको कर्तव्य निभाउन सकेको छैनौं
आखिर तिमी के चाहन्छौ?