उनले सोधे, “सर आज सोध्नु भएछ कि सुस्मिताको दिदीले किन जाँड खाएर टुन भएथ्यो?” “सुनिता तीन जना छन सात कक्षामा कसलाई सोध्नु भनेर सोधेन” शिक्षकले सुनाए।
सर, “सुनिता छ नि सात कक्षाको के । हँ ऊ बाटोमा जाँड खाएर टुन भएर हिँडिरहेको थियो । स्कुल आउन मानेन । हामी जाउँ भनेको हो ऊ आउदैन” चित्रले एक सासमा भन्यो । “हो सर । मेरो दिदी के भयो बाबाले भनेको पनि सुन्दैन । हाम्रो घरमा कोहि न कोहि जँड्याहा भइरहने के सर । बाबाको पालो सकियो अनि दिदी सुरु भयो” सुस्मिताले थपि ।
भर्खर सरकारी विद्यालयमा स्थायी भएर आएको ज्योतीका लागि विद्यार्थीहरुको अनियमितता टाउको दुखाई बनेको थियो । हेडमास्टर पनि यो समस्याबाट आजित भएका थिए । उनको आफ्नै समुदाय हो तर पनि अनियमिततालाई न्यूनिकरण गर्न सकेको छैनन् । सबैजना शिक्षकहरु साथमै छन । ज्योतीका लागि भने यो समुदाय, विद्यार्थी र विद्यालय सबै नयाँ भयो ।
अंग्रेजी पढाउनु पर्ने विद्यार्थीहरु केहि सोध्नु पर्यो भने पनि थारु भाषा प्रयोग गर्छन । धेरै शिक्षकहरुले त शिक्षणको माध्याम भाषा नै थारु बनाएको भन्थे । अंग्रेजी भाषा सिकाउनु पर्ने मुस्किलै बनेको छ । केहि त समाधान निस्किएला नि भनेर चित्त बुझाउनुको विकल्प सुझेको थिएन । कक्षा सातको कक्षा शिक्षक भएको कारण पनि सबै विद्यार्थीको राम्रो जानकारी हुन जरुरी थियो । तेत्तिस जना विद्यार्थीहरुमध्ये मुस्किलले पन्ध्र – सोह्र जनामात्र दैनिक उपस्थित हुन्थे । उपस्थित हुने क्रम पनि चक्रिय प्रणाली झैं बनाएका थिए विद्यार्थीहरुले । हेडमास्टरको समुदाय भिजिट पनि काम लागेको थिएन ।
दुई हप्तापछि हाजिर लगाउदा सुनिता नामका तीनै जना विद्यार्थी उपस्थित भएको ज्योतीले थाह पाए । तर जाँड खाएर विद्यालय अनुपस्थित हुने को हो भनेर छुट्याउन मुस्किल पर्यो । कक्षा सकियो । उनी बाहिर निस्किए । अर्को घण्टी कक्षा पाँचमा थियो ।
पाँच कक्षामा पुग्दा चित्र कुनै नयाँ समचारका साथ तयार भएको भान पाए । तर चित्रसँग समचार होइन प्रश्न थियो । उनले सोधे, “सर आज सोध्नु भएछ कि सुस्मिताको दिदीले किन जाँड खाएर टुन भएथ्यो?” “सुनिता तीन जना छन सात कक्षामा कसलाई सोध्नु भनेर सोधेन” शिक्षकले सुनाए । “सर सुस्मिताको दिदी भन्नुस न सोनपुरको । अब भनेछ सधैं स्कुल जान्छ रे ।”
भोलिपल्ट पनि तीनै जना सुनिता कक्षामा उपस्थित थिए । आज जानकारी लिएर हेरौं भन्ने लाग्यो ज्योतीलाई । उनले सोनपुरको सुनिता उठन भने । टाउको निहुराएर पातलो शरिर भएको सुनिता उठी । पक्का गर्नको लागि उनले थप प्रश्न सोधे । “तिम्रो बहिनो को नाम के हो ?” उत्तर सुस्मिता कक्षा पाँचमा पढछ भन्ने पाएपछि ढुक्कका साथ फेरी सोधे, “तिमी जाँड खाएर टुन हुन्छौ रे किन?”
सुनिताले उत्तर दिई, “सर मेरो बाबाले रक्सी छोडिदिनु भो । बाबाले रक्सी छोडेकाले मैले खान थालेको हो । मैले नखाए को ले खान्छ त मेरो घरमा । रक्सी खाए पनि म स्कुल रेगुलर आउँछु सर ।” कक्षा सकियो ज्योती बाहिर निस्किए । सोचे जाँड रक्सी पिउनु यिनीहरुको संस्कार होला, पहिचान होला ।















