मेरी दिदी/भाउजूहरू
छुट्टै सानो घरमा बसेको देख्दा,
म सोच्थेँ
“कति मज्जा हुन्छ है!”
महिनाको पाँच दिनसम्म
घरभित्रको कामलाई
हातै लाउनु पर्दैन,
खाना पकाउने झन्झट हुँदैन,
भान्सामा टेक्नु पर्दैन,
चुलो पोत्नुपर्दैन।
बिहानै उठेर देउरालीको पँधेरीबाट
पानी बोक्नुपर्दैन,
गाईगोठबाट
गोबर सोहोर्नुपर्दैन।
पकाएर दिएको खायो,
आनन्दले सुत्यो,
र सुत्ने बेलामा सुन्नुपर्दैन
यति धेरै मान्छेको
गुनगुन् आवाज
त्यो सानो घरभित्र।
यही सब सोच्ने गर्थेँ
म नौ – दश वर्षकी हुँदा
मेरो बालमनलाई लाग्थ्यो,
त्यो सानो घर
आरामको घर हो, आनन्दको घर हो।
तर,
जब पाइला टेकें मैले
उमेरको तेह्रौँ खुड्किलामा
अनि बल्ल थाहा पाएँ,
त्यो सानो घरको परिचय
अनि मात्रै बुझें,
मेरी दिदी/भाउजूहरूले घरभित्रको
काम नगर्नुको वास्तविकता
किनकि, त्यही समय दोहोरियो
मेरो जीवनमा पनि।
उफ्फ! छुई (महिनावारी) हुँदा
केही छुनै नमिल्ने पो रैछ,
हामीले पकाएको खाना
खानु हुन्न रैछ,
घर आँगन छुन नमिल्ने,
हामीले छोएको पानी –
त्यो त झन् कसैले पिउनु नै
हुँदैन रहेछ!
अनि बोध भयो
मेरी दिदी/ भाउजु त्यहाँ
बस्नु रहर होइन रहेछ,
त्यो घर आरामको घर होइन रहेछ,
चैनको निँद निदाउने घर त
झन् हुँदै होइन रहेछ।















