आईतवार, ८ भाद्र, २०८२

जो गाउँका मानिस आधाभन्दा बढी कालापहाडमै बस्छन्

कालापहाडले मेरो बस्तीका कैयौं जिन्दगीहरूको अन्त्येष्टि गरेको छ। मैले थाहा पाए अनुसार मेरै ठूला पर्ने पठाने तिरुवा, जो ठूलो रोगले ग्रसित भएर निधन भयो; मेरि ठूली आमा नाता पर्ने (नाम थाहा नभएको) बाजे नाता पर्ने रतन तिरुवा, काम गर्ने सिलसिलामै गाडी दुर्घटना भएर; भाउजू नाता पर्ने रिउली तिरुवा, कामकै सिलसिलामा; आंटी नाता पर्ने राधिका तिरुवा, एकाएक निधन भएको; अन्य थुप्रै छन्। जो कामकै सिलसिलामा निधन भएका सबैको नाम मैले उल्लेख गर्न असमर्थ भएँ।

जुम्लाको तिला गाउँपालिका–३ मा अवस्थित एक गाउँ छ, त्यो गाउँभित्र एक लुकेको दलित बस्ती छ। त्यो गाउँको नाम हो दानीबाडा अनि त्यसैभित्र लुकेको दलित बस्ती छ, जसको नामकरण गरिएको छ तिरुवाबाडा। तिला गाउँपालिकाका अन्य बस्तीभन्दा सुगम, भौगोलिक कठिनाइबाट दूर रहेको बस्ती हो तिरुवाबाडा बस्ती।

भौगोलिक विकटताको हिसाबले दूर भएता पनि यो बस्ती आर्थिक हिसाबले निकै विकट अर्थात् दूर बस्ती हो। यो बस्तीले कर्णाली क्षेत्रको निम्ति आर्थिक चलायमानमा निकै भूमिका खेलेको कर्णाली राजमार्ग केही मिनेटकै आसपासमा छ तर यो बस्ती अर्थात् तिरुवाबाडालाई त्यस्तो कुनै समृद्धिले छुन सकेन। अझ भनौं, कर्णाली राजमार्गले ल्याउने समृद्धिलाई यो बस्तीले टुलुटुलु केवल नियालेर हेरिरह्यो, एक भोकको आँखाले।

हरेक दिन कर्णाली राजमार्गको बाटोमा कैयन सपनाका गाडी गुड्छन्, यात्राको क्रममा गुडिरहेका गाडीहरू गन्तव्यतर्फ निरन्तर हिँडिरहेका छन् तर तिरुवाबाडा बस्तीमा त्यस्तो कुनै गाडी चल्न सकेन, जहाँको स्थिति सुधार होस्। जहाँका मानिस परिवर्तन होस्। जहाँको नफेरिएको जीवन फेरियोस्। जहाँका अँध्यारा अनुहारमा चमक आओस्। जुन बस्तीमा त्यस्तो कुनै चमक आएन। जसको मुहारमा उज्यालोका किरण छरोस् भन्ने अपेक्षा पुरा भएन।

म कुरा गर्दैछु म स्वयं जन्मिएको गाउँको। मैले जिन्दगीको करिब दुई दशक बिताएको ठाउँको। हो, म त्यहीँ भौगोलिक विकटताको हिसाबले दूर तर आर्थिक सम्पन्नताको हिसाबले झन् दूर बस्तीमा जन्मिएको मान्छे हुँ। मैले यो बस्तीमा अर्थात् मेरो बस्तीमा थुप्रै अभावहरू भोगेको छु। थुप्रै अभावमा हुर्किएका कोपिलासँग दुई दशक बिताएको छु। अभावले भक्कानिएको यो बस्तीको प्रत्येक रोदन मेरो कानले सुनेको छु।

यो मैले देखेको बस्तीभन्दा बढी मानिस त कालापहाडमा छन्। कालापहाडको जीवनको दौरानकै दोसाँधमा भयानक सपनाहरू देखेर बाँचिरहेछ मेरो बस्ती, मेरो बस्तीका मानिसहरू। अनि पलपल छटपटिमा भय–भयले बाँच्न विवश छन् मेरा बस्तीका मानिसहरू। मेरो बस्तीले हिमाचलका किन्नौरीबाट कतिपल्ट ‘साला गोर्खाली बहादुरी’ जस्ता निर्मम शब्दको प्रहारको सिकार भयो? त्यसको कुनै लेखाजोखा छैन।

अहिले बस्तीमा गएर घरको संख्या गन्ने हो भने करिब ४५ जति मात्र घर संख्या छ। तर बस्तीका मानिसको संख्या घरभन्दा बढी त्यो कालापहाडमा छ। त्यसमा पनि सबैभन्दा बढी भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लामा छ। किन्नौर जिल्ला मेरो बस्तीको एक रोजीरोटीको थलो हो, जहाँ बिना यो गाउँको कुनै सास चल्दैन। यसरी भनौं, यहाँका मानिस किन्नौर जानु एक ध्रुवसत्य झैँ बनेको छ। अर्थात् किन्नौरलाई दोस्रो घरको रूपमा लिन्छन्, जस बिना हात र मुख जोड्न करिब हम्मेहम्मे नै पर्छ। र कालापहाडको त्यो किन्नौर रोज्न र पुग्न बाध्य हुन्छन् मेरो बस्तीका मानिसहरू।

तिरुवाबाडा बस्ती दलित समुदाय अन्तर्गत पर्ने एक तिरुवा जातिको बाहुल्य भएको बस्ती हो। यहाँको मानिसको जग्गा–जमिनले लगातार तीन महिनासम्म पनि थान्न नसक्ने उब्जनी हुन्छ। त्यसले वर्षदिनसम्म खान–लाउन पुग्दैन। अनि कालापहाडको बाटो रोज्न बाध्य हुन्छन्।

यस दलित बस्तीका मानिसको जग्गा–जमिन पनि निकै थोरै मात्रामा छ, जसले सोचेअनुसारको उब्जाउ हुँदैन। यस बस्तीको विशेषगरी आरन पेशा हो तर त्यो अहिले झण्डै लोप भइसकेको छ। आरन पेशा आधुनिक युगसँगै व्यवसायिक रूपमा रुपान्तरण हुन सकेन। र त्यो पनि आर्थिक रूपमा सशक्त हुन सकेन। यसरी आरन पेशाबाट पनि त्यस्तो कुनै उपलब्धि हुन सकेन, अझ पुस्तान्तरण पनि हुन सकेन। एउटा यो कारण पनि कालापहाड जान बाध्य गराउने हो।

यस बस्तीको शैक्षिक अवस्था निकै कमजोर छ। आर्थिक अवस्था निकै कमजोर भएपछि शैक्षिक अवस्था सुधार हुने कुरै भएन। हालसम्म कक्षा १२ सम्म उत्तीर्ण गर्ने संख्या गणना गर्ने हो भने झण्डै १० जना मात्रको छ। त्यसमा उच्च शिक्षाको दर हेर्ने हो भने करिब शून्य नै छ।

अहिले म स्वयं मात्र उच्च शिक्षा अध्ययन गरिरहेको छु। हाल म स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छु। मसँगै १२ पास गर्ने मेरो बस्तीका दुई जना मात्रै थियौं भने भर्खरै सार्वजनिक २०८१ को १२ को परीक्षामा पनि एक केटा र केटी मात्र छन्। यतिमध्ये कसको पढाइ कहाँ रोकिने पत्तो छैन, अझ निरन्तरताको कुनै टुंगो नै छैन।

यो बस्तीका केही मानिस मात्र पेशामा लागेका छन्, जुन मध्यम स्तरको पेशामा छन्। बाँकी एक–दुई जना अरबको मुलुकमा छन् भने एक जना युवा मात्र जापानमा छन्। उनी गाउँको बारेमा निकै चिन्तन राख्ने व्यक्ति समेत हुन्। बाँकी सबै भारतको हिमाचल अनि भारतका गल्ली–गल्लीमा मजदुरी गर्न विवश छन्, बाध्य छन्। जसले शताब्दीदेखि अपमानको जिन्दगीमा बाँचिरहेका छन्।

म पनि एक वर्ष भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लामा गएको थिएँ। त्यहाँ मैले प्रवासको महसुस गर्न पाइनँ, किनकि त्यहाँ यत्रतत्र मेरो बस्तीका मानिस थिए, आफन्तहरू थिए, अझ नेपालीहरू थिए। करिब डेढ महिनाको बसाइँमा मलाई त्यस्तो अनौठो महसुस त भएन तर मैले त्यहाँ बस्दा प्रत्येक दिन यी आँखाले नियालेर हेरेको थिएँ। मेरो बस्तीका मानिसलाई प्रवासीले गर्ने व्यवहार।

अनि म केही दिन काममा पनि लागेँ, खासै नराम्रो व्यवहार त गरेनन् तर उनीहरूले हामीलाई पूर्ण रूपमा मान्छेको संज्ञा दिदैनन् भन्ने कुरा पत्ता लगाएँ। अनि लाग्यो। यो निर्ममता, यो क्रूरता सहेर कसरी जीवन काटिरहेछन् मेरो बस्तीका मानिस, मेरा नेपाली? म काममा धेरै त गइनँ, त्यो नगएको बेला म बन्द कोठामा भक्कानिन्थेँ। मेरो बस्तीका मानिसको हाल देखेर!

कस्तो जन्जालमा आएर फसेछन् एक मन भन्थ्यो अनि अर्को मन “यहीँ त हो हाम्रो बाँच्ने आधार” भन्थ्यो। यसरी बिताएँ मैले डेढ महिनाको समय। मलाई एक युग लाग्यो तर मेरो बस्तीका मानिसले त कैयौं वर्ष कटाइसके। उनीहरूलाई कति युग लाग्यो होला? यो प्रश्नको जवाफ भेटाइनँ मैले र प्रश्न गर्ने हिम्मत समेत राख्न सकिनँ कसैसँग।

यो कालापहाडले मेरो बस्तीका कैयौं जिन्दगीहरूको अन्त्येष्टि गरेको छ। मैले थाहा पाए अनुसार मेरै ठूला पर्ने पठाने तिरुवा, जो ठूलो रोगले ग्रसित भएर निधन भयो; मेरि ठूली आमा नाता पर्ने (नाम थाहा नभएको) बाजे नाता पर्ने रतन तिरुवा, काम गर्ने सिलसिलामै गाडी दुर्घटना भएर; भाउजू नाता पर्ने रिउली तिरुवा, कामकै सिलसिलामा; आंटी नाता पर्ने राधिका तिरुवा, एकाएक निधन भएको; अन्य थुप्रै छन्। जो कामकै सिलसिलामा निधन भएका सबैको नाम मैले उल्लेख गर्न असमर्थ भएँ।

यी सबै मृत्यु हुनेमा एक परिस्थितिको बन्धनमा परेर, एक अभावको जिन्दगी सुल्झाउन भनेर अनेकन सपनासँगै ढलेका मेरो बस्तीका योद्धाहरू हुन्। म केवल ‘योद्धा’ को नामले परिचित गर्न चाहन्छु। जसले त्यो कालापहाडमा त्यत्तिकै आफ्नो ज्यान आहुति गरेका होइनन्। जसले यो देशलाई पनि सूक्ष्म रूपमा केही न केही योगदान गरेका छन्, भलै त्यसको कुनै मूल्य छैन, महत्त्व छैन यो राज्यको अघि।

वास्तवमा म यस्तो गाउँमा जन्मिएको मान्छे हुँ, जसले जन्मिए यता पुरै शोक देखेको छु अनि मेरो बस्तीका हरेक मान्छेले कालापहाडमा चीत्कारको जिन्दगी जिइरहेको देखेको छु! मेरो बस्तीका हरेक घरधुरीका रोदन यी कानले सुनेको छु, भोगेको छु।

मेरो गाउँ एक असफलताबाट गुज्रिएको र केवल त्यो मुग्लानले थिचिएको देखेको छु! बस, कालापहाडले मेरो गाउँलाई केवल शोक दिएको छ। जहाँ पुगेपछि थोरैले मात्र स्वदेशको माटोमा सास रोक्न पाउँछन्, नत्र त्यो कालापहाडमै थुप्रै जिन्दगीको अन्त्येष्टि हुन्छ! केवल अन्त्येष्टि!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार