मलाई लाग्यो, यतिखेर मौसम एकातिर प्रतिकूल भए पनि अर्कोतिर बालीनालीका लागि उपयुक्त छ। देशका विभिन्न भागमा असारमा फल्ने धान रोप्न, पहाडमा जौ, गहुँ पाक्न, मकै र कोदो रोप्न उपयुक्त हुने भएकोले बेलाबेला यस्तो झरी परोस् भन्नेमा खुशी लाग्यो।
हिजो बिहानैदेखि प्यूठान खलंगाको मौसम प्रतिकूल थियो। सधैंको जस्तो स्वच्छ आकाश थिएन, दिनभर हावाहुरी चलिरह्यो। पहाडतिर आफन्तहरूसँग मोबाइलमा सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेको थिएन। साँझ र रातमा पनि वर्षासँगै हावाहुरी चलिरहेको थियो।
मध्य प्यूठान र खलंगा आसपासमा कम वर्षा भए पनि पूर्वी प्यूठान, जुम्लालगायत देशभरका अधिकांश ठाउँमा भारी वर्षा भएको रहेछ। यो खबर आज मोबाइल, एफएम, अनलाइन खबर र प्रत्यक्ष भेटवार्ताबाट थाहा भयो।
बिहानदेखि पानी पर्ला जस्तो भयो, तर वर्षा भने भएको थिएन। संसारभरका मजदुरका लागि हिजोको दिन अत्यन्तै महत्त्वपूर्ण थियो। मजदुर दिवस, श्रमिक, रोजगारदाता मजदुरलाई विश्वव्यापी मान्यताअनुरूप नेपाल सरकारले हिजो वैशाख १८ गते सार्वजनिक बिदा घोषणा गरिसकेको थियो।
यसैले बिदाको दिन प्यूठानको ऐतिहासिक ठाउँ चुँजिठाँटा र चौपारीतिर घुम्न जाने मन लागिरहेको थियो। तर, निश्चित गर्न सकेको थिइनँ। बिदा कसरी मनाउने होला भन्ने कुरा मनमा कौतूहल भइरहेको थियो। अन्ततः कतै नगई कोठामै आराम गर्दै कोहलपुरस्थित महानन्द ढकालद्वारा लिखित बुह्रान उपन्यास केही अध्ययन गर्दै पुरै दिन बिताएँ।
आज बिहान पनि बादल थियो, तर प्रकृति शीतल थियो। हिजोदेखि कोठा नछोडेको र ज्यान पनि भारी भएकोले बिहान हिँड्न निस्किएको थिएँ। सधैंको साथी, अदालतका तहसीलदार अधिकृत बुद्धि बस्नेत मलाई आउँछु भनेर बाटोमा पर्खिरहेका रहेछन्। उनलाई देख्दा म छक्क परेँ, ढुंगो खोज्दा देउता मिलेझैं भयो। उनले “आज पनि मौसम ठीक छैन, कसेरी गाउँतर्फ जाऔं, वकिल साब” भनेपछि हामी दुवैजना उतैतर्फ लाग्यौं।
मौसम प्रतिकूल देखेर हो कि, मानिसहरू उठेका थिएनन्। बिहान करिब ५:४५ बजिसकेको थियो। सधैंजस्तो नेवारी खाजा घरमा चिया पिउन आउने मानिसहरू आज भने भेला भएका थिएनन्। त्यहाँ चिया पिउनेहरू भेला भएर सधैं देशको पछिल्लो राजनीतिक अवस्थाबारे गफगाफ गर्दै चहलपहल बढाउने गर्थे। आज त्यस्तो केही देखिएन।
अन्य साना चिया पसलहरू पनि बन्द थिए। हामी गणेश चोकको मोडबाट उकालो लाग्दै झाँक्रीस्थान मन्दिर हुँदै कृष्ण मन्दिरतर्फ लाग्यौं। त्यहाँ पुग्दा ६:०० बजिसकेको थियो। बाटोमा ट्रक र ट्र्याक्टरले ड्याङड्याङ र डुङडुङको आवाज निकाल्दा एकातिर खलल भएको अनुभव हुन्थ्यो, अर्कोतिर गाउँबस्ती ब्यूँझाउँदै चहलपहल बढाएको आभास हुन्थ्यो।
हामी हिजोदेखि आज बिहानसम्मको प्रतिकूल मौसमबारे कुरा गर्दै बाटोमा हिँडिरहेका थियौं। नभन्दै हिजो रातभरको हावाहुरीले बाटोमा केही रूख ढालेको रहेछ। अदालतका साथीले मलाई देखाउँदै अगाडि बढे।
अरू रूख ढलेर बाटो अवरुद्ध भएको छ कि भन्दै हामी कसेरी गाउँसम्म पुग्यौं। ठूलो हावाहुरीको ताण्डव भने देखिएन। एफएम सुन्दा र अनलाइन खबर पढ्दा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्वतर्फ लुम्बिनी प्रदेशतर्फ वर्षा र हावाहुरी फैलिएको रहेछ।
मलाई लाग्यो, यतिखेर मौसम एकातिर प्रतिकूल भए पनि अर्कोतिर बालीनालीका लागि उपयुक्त छ। देशका विभिन्न भागमा असारमा फल्ने धान रोप्न, पहाडमा जौ, गहुँ पाक्न, मकै र कोदो रोप्न उपयुक्त हुने भएकोले बेलाबेला यस्तो झरी परोस् भन्नेमा खुशी लाग्यो।
जल तथा मौसम विज्ञान विभागले पनि नेपालको पश्चिमी भूभागमा पानी परिरहेको र यो पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली हुँदै पूर्व लुम्बिनी प्रदेशतर्फ सरेको सार्वजनिक गरेको छ। यो समय झरीको मौसम भएको र गर्मीमा झरी पर्दा शीतल भएको अनुभव भएको छ।
यसपटक अचम्मै भएको रहेछ। नेपालमा देशभित्रकै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको प्रभाव भित्रिएको कुरा जलवायु मौसम विभागले बताएको छ। पश्चिमको स्थानीय वायुमा पनि वर्षा गराउने शक्ति देखिनुले मलाई अत्यन्तै खुशी लागेको छ।
देशभित्रकै पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले केही दिनसम्म बादल लाग्ने र पानी पर्ने कुरामा ढुक्क भएको छु।
समग्रमा, आजको भ्रमण र मौसम हेर्दा तीन दिनसम्म प्रतिकूल मौसम हुने देखिएको छ। यतिखेर ठूलो मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। यस्तो हावाहुरी र झरीको समयमा आवश्यक सतर्कता अपनाएर लामा तथा छोटा दूरीका यात्रामा हिँड्न सबैमा आग्रह गर्दछु।
यसैगरी, यातायात व्यवसायी, हवाई साधनका निकाय, सञ्चालक, ड्राइभर र विमानका क्याप्टेनहरूलाई यो समयमा अत्यन्तै होसियारी र सावधानी अपनाएर सेवा सञ्चालन गर्न, सार्वजनिक यातायात र हवाई सेवा उडान गर्न हार्दिक अनुरोध गर्दछु। कसलाई के थाहा, कतिखेर कहाँ के हुन्छ?
(चन्दननाथ १, जुम्ला हाल, खलंगा, प्यूठान।)